जेठ २३, २०८०
प्रतिनिधि सभाका बैठक केही दिनयता तनावपूर्ण भइरहेका छन् । सोमबार पनि बैठकमा पटकपटक तनावको स्थिति देखियो । प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमण र नागरिकता विधेयक प्रमाणीकरणका विषयमा दिएको जवाफलाई लिएर बैठकमा तनाव उत्पन्न भएको हो । सत्तापक्ष र प्रतिपक्षका सांसदहरु उठेर प्रतिवादमा उत्रिए भने प्रधानमन्त्री पुष्पकमल दाहालले जवाफ दिने क्रममा एमाले सांसदको अवरोध सामना गर्नुपर्यो ।
प्रधानमन्त्रीको भारत भ्रमण, नागरिकता विधेयक प्रमाणीकरण र रेशम चौधरीलाई आममाफीको विषयलाई लिएर प्रतिपक्षी तीन दल एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले आइतबार प्रतिनिधि सभाको बैठक चल्न दिएका थिएनन् । सभामुख देवराज घिमिरेसँग सोमबार बिहान भएको छलफलअनुसार प्रधानमन्त्री दाहालले प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गरे । उनले एक घण्टा लामो सम्बोधनका क्रममा कालापानी, लिपुलेक र लिम्पियाधुरा बंगलादेश जाने बाटोसँग साट्ने प्रस्ताव आफूले भारतसँग नराखेको दाबी गरे । बरु सीमा समस्याको स्थायी र दीर्घकालीन समाधान नगरेसम्म नेपाल(भारत सम्बन्ध सहज हुन सक्दैन भनेर आफूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्तामा भनेको दलील पेस गरे ।
तिनै दाहालले जेठ १९ गते बिहान पत्रकारहरुसँगको भेटमा जग्गा सट्टापट्टाको विषयमा मोदीसँग छलफल भएको भन्दै त्यसलाई ब्रेक थ्रुको संज्ञा दिएका थिए । नेपालमा त्यसको चर्को आलोचना भएपछि दाहालले बोली फेरेका छन् र कुरै नभएको भन्न थालेका छन् । प्रधानमन्त्री दाहालले संसदमा बोली फेरे पनि उनले त्यसअघि दिएका अभिव्यक्ति सार्वजनिक रेकर्डमा छन् । त्यसैले अब उनले जति ढाँटे पनि पत्याउन सकिने छैन ।
बरु उनले भारतमा किन त्यसो भने र नेपालमा आएर किन बोली फेरे भन्ने कुराले विषय झन् शंकास्पद बनाएको छ । एक त उनले दिल्ली गएकै राति विभिन्न चरणमा मोदीलाई एक्लै भेटेको भनेका छन् । परराष्ट्र मन्त्रालयमा कुनै पनि रेकर्ड नरहने गरी उनले जासुसी पृष्ठभूमिका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल र समकक्षी नरेन्द्र मोदीसँगका छुट्टाछुट्टै शृंखलाबद्ध भेट गरेका छन् । मोदीसँगै तीनपटक भेटेको भन्ने उनको अभिव्यक्ति त्यसै पनि शंकास्पद छ । त्यसमाथि उनले सहमति भयो भनेका कतिपय कुरा भारतले स्वीकार गरेको छैन । उता भारतमा उनले बोलेका कुरा आफै संसदमा खण्डन गरिरहेका छन् । यसले उनको भूमिकालाई झन् शंकास्पद र रहस्यमय बनाइरहेको छ ।
प्रधानमन्त्री दाहालले नयाँ नागरिकता ऐनबारे पनि गोलमटोल कुरा गरे । भारत जानुअघि राष्ट्रपति लाई दबाब दिएर प्रमाणीकरण गर्न लगाएको विधेयकको बचाउमा उनले अरुले पनि गरेको काम भएकाले आफूले समेत गरेको तर्क गरेका छन् । जस्तो कि उनले वैवाहिक अंगीकृत नागरिकताका लागि समयसीमाबारे सहमति खोज्नुपर्ने औंल्याउँदै राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको विधेयक र एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा जारी नागरिकता अध्यादेशमा कुनै अन्तर नरहेको भनी अध्यादेश जारी गर्दा किन समयसीमा नराखेको भनी एमालेसँग प्रश्न गरे । उनले नागरिकता विधेयक प्रमाणीकरणको विषय सर्वोच्च अदालतमा पुगेकाले संसद्मा छलफल गर्नुको औचित्य नभएको दाबी गरे ।
प्रधानमन्त्री दाहालको जवाफ प्रतिपक्षी दलका सांसदले चित्त बुझाएनन् । दाहालले भारत भ्रमणमा रहँदा संचारकर्मीसँगको कुराकानीमा आफैं लिपुलेक(लिम्पियाधुरा क्षेत्र छाडेर पूर्वी नाकाबाट सिधा बंगलादेश जाने बाटो लिन सकिने विकल्प नेपालसँग रहेको बताएका थिए । त्यहि कारण एमाले सांसदले प्रधानमन्त्रीमाथि संसदलाई ढाँटेको आरोप लगाए । यस्तै नागरिकताको विषयवस्तुमा नभई प्रमाणीकरणको प्रक्रियाबारे जवाफ मागे ।त्यसपछि प्रधानमन्त्री दाहाल जवाफ दिन फेरि रोष्ट्रममा पुगे । उनले संसदका दुवै सदनले यसअघि दुई दुई पटक पारित गरेको नागरिकता विधेयक तत्कालीन राष्ट्रपति विद्या भण्डारीले प्रमाणीकरण नगरेर संविधानको ठाडो उल्लंघन गरेकाले संविधानलाई लिकमा फर्काउन राष्ट्रपति पौडेललाई प्रमाणीकरण गर्न लगाएको जवाफ दिए ।
जवाफ नसकिंदै एमाले सांसद विरोधमा उत्रिए ।एमाले सांसदको अवरोधपछि प्रधानमन्त्रीले जवाफ दिन पाएनन् । एमालेका सांसदसँग माओवादी केन्द्रका सांसद प्रतिवादमा उत्रिए । बैठकमा दोहोरी चल्यो । केहीबेरको तनावपछि सभामुखले नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई बोल्न दिए । उनले प्रधानमन्त्री दाहालको बचाउ गर्दै नागरिकता विधेयकलाई अरु विधेयकजस्तो निष्क्रिय भएको भन्न मिल्दैन भने ।
त्यसपछि एमाले सांसदले चुप लागे । दाहालले जवाफलाई निरन्तरता दिए । उनले संसदका दुई सदनले २ पटक पारित गरेको विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगरे निष्किय हुन्छ भनेर संविधानमा नलेखिएको भन्दै कानुनविदहरुसँगको परामर्शका आधारमा प्रमाणीकरणका लागि राष्ट्रपतिलाई अनुरोध गरेको बताए । साथै, अघिल्लो राष्ट्रपतिको गल्ती नसच्याएको स्थितिमा भोलि संवैधानिक निकायमा नियुक्तिको सिफारिस रोकिने अवस्था आए संविधान र लोकतन्त्र के हुन्छ भनी प्रश्न गरे ।मन्त्रिपरिषदको अनुरोधमा राष्ट्रपति पौडेलले दाहाल जेठ १७ गते भारत जानु केहीबेरअघि विधेयक प्रमाणीकरण गरेका थिए । यो विषय आफूकहाँ आएपछि सर्वोच्च अदालतले संशोधित नागरिकता ऐन कार्यान्वयन नगर्न आइतबार अल्पकालीन अन्तरिम आदेश दिइसकेकाले अब थप चर्चा गर्न आवश्यक नभएको बताए ।
भारत जाँदा त्यहाँका भारतीय प्रधानमन्त्री मोदीसँग त्यहाँको संसद भवनमा टाँगिएको नक्सादेखि ईपीजी प्रतिवेदन कार्यान्वयनका विषयमा कुरा उठाउन सकेनन् । बरु वातावरण धमिलिन सक्ने भएकाले कुरा नउठाएको भनेर उनले खुलमखुला बताए । फेरि यता संसदमा आएर त्यही कुरा उठाएको भनेर फेरि ढाँटे । जेठ १७ देखि २० गतेसम्म भारत भ्रमण गरेका प्रधानमन्त्री दाहालले दिल्लीमा गर्ने कुरा र काठमाडौंमा गर्ने कुरा किन फरक भइरहेको हो रु यस विषयमा एउटा संसदीय छानबिन गरेर पोलिग्राफ परीक्षण गर्ने हो कि रु
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८