• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

कालापानीमा भारतीय अतिक्रमणलाई वैधता दिने प्रचण्डको प्रस्तावका पछाडि कसको डिजाइन ?

  • खबरदाता

कालापानीमा भारतीय अतिक्रमणलाई वैधता दिने प्रचण्डको प्रस्तावका पछाडि कसको डिजाइन ?

जेठ २० ,२०८०

 

प्रधानमन्त्री पुष्पकमल दाहालले यसपालिको भारत भ्रमणमा त्यहाँका समकक्षी नरेन्द्र मोदीसँग सीमा विवादको विषय पनि उठान गरे । राजनीतिक तहमै यस विषयलाई प्रवेश गराउनुलाई निःसन्देह समस्या सुल्झाउनका लागि न्यूनतम प्रस्थान विन्दु मान्नुपर्छ । अनि सीमा विवादमा हतपत प्रवेश गर्न नचाहने भारतका तर्फबाट त्यहाँका प्रधानमन्त्री मोदीले समेत सम्बन्धलाई उचाइमा पुर्‍याउने भन्दै सीमालगायत सबै समस्याको समाधान गर्न इच्छुक रहेको अभिव्यक्ति दिए ।

पूर्ववर्ती प्रधानमन्त्रीहरु केपी शर्मा ओली र शेरबहादुर देउवाले यही विषय उठाउँदा विषयान्तर गर्ने मोदीले यसपालि समस्या रहेको कुरालाई स्वीकार गरी समाधानको तत्परता देखाउनु पनि सुखद् नै मान्नुपर्छ । तर प्रधानमन्त्री दाहालले मोदीसँग विभिन्न विकल्पमा कुरा भएको भन्दै जुन अभिव्यक्ति सार्वजनिक गरेका छन्, त्यो शंकास्पद र आपत्तिजनक छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले भारतले अतिक्रमण गरेको लिपुलेक(लिम्पियाधुरा क्षेत्र छाडेर पूर्वी नाकाबाट सिधा बंगलादेश जाने बाटो लिन सकिने विकल्प नेपालसँग रहेको बताएका छन् । भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय वार्ता भएको भोलिपल्ट प्रधानमन्त्री दाहालले यो अभिव्यक्ति दिएका हुन् । शुक्रबार नयाँ दिल्लीमै नेपाली पत्रकारहरुसँग कुरा गर्दै उनले सीमा समस्या समाधानका लागि यो विकल्पमा कुरा सुरु भएको बताएका हुन्। दुई देशबीच रहेको सीमा समस्याबारेमा यसपटक अलिक गम्भीर कुरा भएको र त्यस क्रममा विभिन्न विकल्प आएको उनको भनाइ थियो ।

बंगलादेशको जस्तै विकल्प पनि एउटा मोडेल हुन सक्ने दाहालले बताए । भारत र बंगलादेशबीच ४१ वर्ष पुरानो विवाद सुल्झाउँदा २०७२ सालमा एकअर्काको भूमि साटफेर गरेका थिए । दाहालले त्यही दृष्टान्त दिएर भनेका छन् कि यदि भारतले कालापानी क्षेत्र छाड्न नसक्ने हो भने नेपाललाई पूर्वी सीमाबाट सिधा बंगलादेश पुग्ने बाटोबारे पनि सोच्न सकिन्छ ।

यसअघि नेपालको दाबीबारे इन्कार गर्दै आएको भारतले यस पटकदेखि कालापानीबारे सोच्न थालेको दाहालको दाबी छ । कालापानीबारे विकल्पहरू सोच्न सुरू भएकोले यसलाई सीमा विवादमा ब्रेक थ्रु नै मान्नुपर्ने दाहालले भनेका छन् । यस समस्यालाई राखिरह्यो भने नेपाल(भारत सम्बन्ध कहिल्यै पनि सुध्रिने भएन भन्ने मोदीलाई पनि परेको उनको भनाइ थियो । सीमा समस्या हल गर्न सके अरु विषयमा अघि बढ्न सकिने दुवै पक्षको बुझाइ रहेको पनि दाहालले बताए ।

भारतले अनधिकृत रुपमा हैकम जमाएको सुदूरपश्चिमको दार्चुलामा पर्ने लिपुलेखदेखि लिम्पियाधुरासम्मको नेपाली भूमिबारे तथ्य र प्रमाणमा आधारित वार्ताका लागि नेपाली पक्षले बारम्बार पहल र आग्रह गरेकै हो । भारतले वार्ता टार्दै बलमिच्याइँपूर्वक त्यस क्षेत्रको नेपाली भूमिमा भौतिक पूर्वाधार तथा रणनीतिक संरचना बनाइरहेको छ । नेपालका पक्षमा प्रशस्त प्रमाण र अभिलेख भएको तर भारतले बलात् कब्जा जमाएको यो भूमि नेपालकै थियो, छ र रहिरहनेछ । दाहालले यही अडान राखेर निकट भविष्यमा यस विवादको कूटनीतिक हल गर्लान् भन्ने आम नेपालीको आशामा उनले दिएको बंगलादेशसम्मको प्रवेश पहुँच मागेर मिचिएका भूमि भारतलाई उपहार दिने आशयको अभिव्यक्ति दिएका छन् ।

यदि नेपाली भूमिको बदला नेपालले भूपरिवेष्ठित मूलुकको अधिकारकै रुपमा पाउनैपर्ने समुन्द्रसम्मको पहुँचमा साट्न सक्दैन । भारतीय भूमिमा दाहालले दिएको यो गैरजिम्मेवार र राष्ट्रियताविरुद्धको अभिव्यक्तिले आर्थिक मुद्दामा भएका सम्झौता र समझदारीहरु कतै नेपाली भूमिको सट्टा त होइनन् भन्ने गम्भीर प्रश्न उब्जाएको छ ।
प्रचण्डले यो प्रस्ताव गर्नुका पछाडि कसको डिजाइन छ रु उनले आफ्नै विवेकले राष्ट्रहित सोचेर दिएको अभिव्यक्ति हो वा उनीमार्फत् कुनै शक्तिले नयाँ प्रयोग गर्न खोजेको हो रु गम्भीर आशंका र सन्देहको विषय बनेको छ ।

  • प्रकाशित मिति : जेठ २०, २०८०, शनिवार ०७:०८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८