जेठ १९, २०८०
भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज उच्चस्तरीय राजनीतिक भेटवार्ता गरेका छन्।
४ दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच बिहीबार द्विपक्षीय र प्रतिनिधिमण्डलस्तरीय वार्ता भयो ।हिजो बिहान प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भयो। उक्त भेटवार्तालगत्तै प्रधानमन्त्री द्वयको नेतृत्वमा द्विपक्षीय भेटवार्ता सम्पन्न भयो।
प्रचण्ड ४ दिने भ्रमणका लागि बुधबार दिल्ली उडेका थिए। गत पुसमा प्रधानमन्त्री नियुक्त भएपछि उनको यो पहिलो विदेश भ्रमण हो। प्रधानमन्त्रीकालमा भने प्रचण्ड चौथोपटक भारत भ्रमण गरेका हुन।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि नेपालसित सीमासहित सबै मुद्दाको समाधान गर्ने बताएका छन् । उनले दुई मुलुक मिलेर सीमासहित सबै मुद्दाको समाधान गर्ने बताएका हुन् । ‘प्रचण्ड’ले पनि भारत नेपालको नजिकको विकास र समृद्धिको प्रमुख साझेदार भएको बताएका छन । भारतको चारदिने औपचारिक भ्रमणमा रहेका उनले हिजो आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीसँगको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन।
दुई जलविद्युत् आयोजना भारतलाई दिने सहमतिमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणको क्रममा बिहीबार तल्लो अरुण र फुकोट कर्णालीको जिम्मा भारतीय कम्पनीलाई दिन सम्झौता भएको छ । भारतको भूमि हुँदै नेपालको विद्युत् बंगलादेश लैजान भारत सकारात्मक रहेको प्रधानमन्त्री पुष्पकमल दाहालले बताएका छन् । दुवै मुलुकका प्रधानमन्त्रीहरुको संयूक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री दाहालले भने ‘नेपालको विद्युत् बंगलादेश निर्यातका लागि भारतले सुविधा दिन इच्छुक देखिएकोमा म प्रशंसा गर्दछु ।’
नेपाल र भारतबीच अन्तरदेशीय डिजिटल भुक्तानी कारोबारका लागि सम्झौता भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणमा बिहीबार यस्तो सम्झौता भएको हो ।
यस्तै प्रधानमन्त्रीको भारत भ्रमणमा भएको अर्को महत्वपूर्ण सहमति हो गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि भारतीय आकाशको रुट प्रयोगको अनुमति । लामो समयदेखि यो रुट दिन अनुमति दिन आनाकानी गरिरहेको भारतले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा सहमति दिएको हो ।
भारतीय प्रधानमन्त्री मोदीले सम्बोधन गर्दै दुई देशबीचको ऐतिहासिक तथा सांस्कृतिक सम्बन्धलाई ‘सुपरहिट’ बनाउने प्रतिबद्धता व्यक्त गरे। साथै, उनले दुई देशबीच विद्यमान सीमालगायत सम्पूर्ण मुद्दाहरूको समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८