बैशाख २७, २०८०
नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि रन्थनिएको एमालेले यो प्रकरणलाई विषयान्तर गर्न निकै जोडबल गरिरह्यो । रायमाझीका छोरा पक्राउ पर्नुका साथै पूर्वगृहमन्त्री रामबहादुर थापा र उनका छोराको नाम पनि जोडिन थालेपछि एमालेले प्रतिवाद गर्न समेत भ्यायो । खासमा यो प्रकरणमा कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण र माओवादीका नेताहरु पनि जोडिएको खबर सार्वजनिक भएकाले उनीहरुविरुद्ध पनि छानबिन हुनुपर्ने माग राख्नु स्वभाविक नै हो ।
तर, एमालेले भने संसददेखि औपचारिक कार्यक्रममामा विषयान्तर मात्र गरिरह्यो । एमालेका सांसदहरुले संसदमा आवाज उठाउदै पूर्वलडाकु शिविर, वाइडबडी कान्डदेखि पूराना मुद्दालाई पनि यहीसँग जोडेर विषयान्तर गरे भने एमाले अध्यक्ष केपी ओलीले तीन पटक प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’लाई भेटे ।
पूर्वमाओवादीसमेत रहेका रायमाझीको बचाउ गर्न एमाले बाध्यात्मक स्थितिमा रहेको थियो ।परिस्थिति यस्तो आयो कि जनस्तरबाटै एमालेको आलोचना हुन थाल्यो । रास्वपा सांसद ढाकाकुमार श्रेष्ठको २ करोड अडियो प्रकरण सार्वजनिक भएसँगै पार्टीले कारबाही मात्र गरेन सांसद पद पनि खाइदियो । यद्यपि सर्वोच्च अदालतले थमौति गरेको छ ।
तर, पूराना दललाई लाग्दै आएको आरोप ‘पार्टीकोे संरक्षणमै भ्रष्ट्राचार’लाई नक्कली भुटानी शरणार्थी प्रकरणले थप बल पुर्याउनुका साथै एमालेका युवा नेताहरुले प्रतिवाद गरेपछि परिस्थिति फेरिएको हो ।त्यही भएर मंगलबारको केन्द्रीय सचिवालय बैठकले सचिव टोपबहादुर रायमाझीले अनुसन्धान प्रक्रियालाई सघाउनुपर्ने निष्कर्ष निकालेको छ ।
एमाले उपमहासचिव एवम् प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङका अनुसार सचिव रायमाझीको नाम पनि सो प्रकरणमा आएकाले रायमाझीले विधिपूर्वक, कानुनपूर्वक अनुसन्धानको काममा सघाउनुपर्ने निर्णय गरिएको छ । पक्राउ पूर्जी जारी गरिएका एमाले सचिव रायमाझी फरार छन् ।
तर, एमालेले उनीमाथि अनुशासनको कारबाही भने गरेको छैन ।उनी अर्घाखाँचीबाट प्रतिनिधिसभामा सदस्य बनेका हुन् । भविष्यको सम्भावित सत्ता समीकरणमा एक–एक सांसदको महत्त्वपूर्ण भूमिका हुने भएकाले रायमाझी निलम्बनमा नपरून् भन्ने एमाले शीर्ष नेताको चाहना छ । रायमाझीको घरमा प्रहरीले मंगलबार छापा मारेको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८