चैत १९, २०७९
वैशाख १० गते तनहुँ १, बारा २ र चितवन २ मा उपनिर्वाचन हुँदै छ । तनहुँ १ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति र बारा २ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेकाले उपनिर्वाचन हुन लागेको हो । चितवन २ बाट निर्वाचित रवि लामिछानेले नागरिकता विवादमा सांसद पद गुमाएकाले त्यहाँ पनि पुनः मतदान हुन लागेको हो । तीमध्ये बारा २ मा यसअघि विभिन्न क्षेत्रमा पराजित भएकाहरुले प्रतिस्पर्धा गर्न लागेका छन् ।
चुनाव उम्मेदवारहरूको आकांक्षाको अनुमोदन मात्र होइन, नागरिकहरूको स्वीकारको अभिव्यक्ति पनि हो । निर्वाचनमार्फत् मतदाताले आफूले इच्छाएको व्यक्तिलाई अनुमोदन गर्छन्, जिम्मेवारीमा पठाउँछन् । निर्वाचित हुन नसकेकाहरूले पाँच वर्ष पर्खनुपर्छ । जनताले औँल्याएका कमजोरी सुधार्नुपर्छ । कार्यकर्ताका कुरा सुन्नुपर्छ । आफूमा नभएका नेतृत्व गुण हासिल गर्ने प्रयत्न गर्नुपर्छ ।
तर, हामीकहाँ यो अभ्यास निकै कमजोर छ । पराजितहरुले अवसर मिलेसम्म पाँच वर्ष कुर्ने धैर्य पनि राख्दैनन् । बारा २ मा हुन लागेको उपनिर्वाचनमा त भएभरका हरुवा भेला हुँदै छन् । विभिन्न क्षेत्रमा मतदाताले नपत्याकाहरु संसद प्रवेशका लागि अहिले बारा २ बाट उम्मेदवार बन्ने तयारीमा छन् ।
मंसिर ४ को निर्वाचनमा नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक रमेश खरेल काठमाडौं १ मा उम्मेदवार बनेका थिए । उनले आफ्नो नेतृत्वमा सुशासन पार्टी पनि दर्ता गराएका थिए । तर प्रहरी संगठनबाट समाज र राष्ट्रका लागि उनले कति इमानदार प्रयास गरेका रहेछन् र जनताले कसरी मूल्यांकन गरे भनेर हेर्न त्यही चुनावको नतिजा काफी छ ।
नेपाली कांग्रेसका प्रकाशमान सिंह ७ हजार १४३ मत ल्याएर निर्वाचित हुँदा खरेल पाँचौं बन्न पुगे । उनले ३ हजार १२४ मत ल्याए । आफ्नो जमानतसमेत जोगाउन सकेनन् । अहिले उनी राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट बारा २ को उपचुनावमा उम्मेदवारी दिने तयारीमा छन् । रास्वपा सभापति रवि लामिछानेले शनिबार आफ्नो छेउमा खरेललाई राखेर पत्रकार सम्मेलन नै गरे ।
रमेश खरेललाई काठमाडौंका जनताले गरेको मूल्यांकनभन्दा फरक नतिजा भने बारामा पनि आउनेवाला छैन । खरेल तिनै प्रहरी अधिकृत हुन्, जसले बारा र पर्साका श्रमजीवीलाई सताउनु सताएका थिए । त्यहाँका व्यापारीलाई सताए । दुई पैसा सस्तो पर्छ कि भने साइकलमा सीमापारिबाट किनमेल गर्नेलाई उनले सताए । तिनले खरेलको असली अनुहार बिर्सिसकेका छैनन् ।
गत निर्वाचनमा बारा २ मा उम्मेदवार बनेका माओवादी केन्द्रका शिवचन्द्र कुशवाह ३५४ मतले पराजित भए । उनलाई पछि पार्दै जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव १३ हजार ८२२ मत ल्याएर निर्वाचित भए । रामसहायले एमालेको सहयोगमा कुशवाहलाई हराएका हुन् ।सत्ता गठबन्धनका तर्फबाट उपेन्द्र यादवलाई अघि सार्ने तयारी गरिएपछि कुशवाहले जनमत पार्टी प्रवेश गरेर उम्मेदवारी दिने तयारी गरेका छन् । उनलाई उम्मेदवार बन्ने सर्तमै अध्यक्ष सीके राउतले जनमतमा भित्र्याएका हुन् । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव संसदमा आउन वञ्चित भएपछिको छटपटाहट बारामा प्रदर्शन गर्दै छन् । सप्तरी २ बाट गत चुनावमा मात्रै उनी १८ हजार ६३ मतले जनमत पार्टीका अध्यक्ष राउतसँग पराजित भएका हुन् ।
राउतले ३५ हजार ४२ मत ल्याएर चुनाव जित्दा यादवले १६ हजार ९७९ मतमा चित्त बुझाउनुपर्यो । उनै यादव अहिले बारा २ मा सत्ता साझेदार दलको साझा उम्मेदवार बन्ने प्रयासमा छन् । उनले ५ वर्ष कुर्ने धैर्य नभएकैले संसद छिर्नका लागि आफ्ना पार्टीका सांसद रामसहायलाई उपराष्ट्रपति बनाएर बारा २ खाली गराएका हुन् ।बारा २ मै लोकतान्त्रिक समाजवादी पार्टीका राजेन्द्र महतोले पनि उम्मेदवारी दिने तयारी थालेका छन् । उनी मंसिर ४ को निर्वाचनमा सर्लाही २ मा पराजित भएका थिए ।
महतोलाई नेपाल समाजवादी पार्टीका महिन्द्र राय यादवले माओवादी केन्द्रको चुनाव चिह्नमा २ हजार ११ मतले हराएका थिए ।अर्थात विभिन्न क्षेत्रमा हारेकाहरुले संसदमा आउन बारा २ रोजेका छन् । त्यहाँ उपचुनाव होइन, महाचुनाव हुने देखिएको छ । मंसिर ४ मा जसपालाई सहयोग गरेको एमालेले यसपालि पार्टीबाटै उम्मेदवारी दिने भनेको छ । तर उम्मेदवारको नाम तय गरेको छैन ।
संयोग नै मान्नुपर्छ कि प्रहरी संगठनमा रमेश खरेलकै प्रतिस्पर्धी सर्वेन्द्र खनाललाई एमालेले उम्मेदवार बनाउँदै छ । खनाल खरेलभन्दा झनै बदनाम र अक्षम प्रहरी अधिकारी हुन् । एमालेजस्तो पुरानो लोकतान्त्रिक दल र ठूलो संगठन भएको पार्टीले पनि अवकाशप्राप्त विवादास्पद प्रहरी अधिकृतलाई राजनीतिक ओत अनि अवसर दिएको छ । खरेल र खनालको टिकट प्राप्तिको एउटै आधार उनीहरुले प्रहरीमा आर्जन गरेको आर्थिक बल नै हो भन्नेमा कुनै दुई मत छैन । यसले नेपालका नयाँ र पुराना पार्टीबीच कत्ति भिन्नता छैन भन्ने पनि पुष्टि गरिदिएको छ । उनीहरूले टिकटको मूल्य कति तिरे भन्नेचाहिँ फरक हुन सक्छ, बस् ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८