• असोज ३०, २०८३, शुक्रवार Friday, 16 October, 2026

प्रधानमन्त्री मोदीको मानहानी गरेको अभियोगमा राहुल गान्धीलाई दुई वर्षको जेल सजाय

  • खबरदाता

प्रधानमन्त्री मोदीको मानहानी गरेको अभियोगमा राहुल गान्धीलाई दुई वर्षको जेल सजाय

चैत्र १०, २०७९

 

भारतीय काङ्ग्रेसका नेता राहुल गान्धीलाई गुजरातको एक अदालतले मानहानी मुद्दामा दोषी ठहर गर्दै दुई वर्षको जेल सजाय सुनाएको छ ।

विपक्षी दलका नेता गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीको थरका बारेमा गरेको टिप्पणीले समस्त मोदी थर भएकाको मानहानी भएको ठहर गर्दै सुरतस्थित अदालतले आज उक्त आदेश गरेको हो । तर, गान्धीले तत्काल जेल जानु पर्दैन, किनकि उनलाई उक्त फैसलाविरुद्ध अपिल गर्नका लागि ३० दिनको म्याद दिइएको छ ।

सन् २०१९ मा कर्नाटक राज्यको कोलारमा आयोजित चुनावी सभामा नेता गान्धीले ‘चोर मोदीहरू’ भन्ने अभिव्यक्ति दिएका थिए । उनले भगौडा व्यापारी नीरब मोदी र ललित मोदीलाई लक्ष्य गर्दै त्यसो भनेका थिए । नेता गान्धीको उक्त अभिव्यक्तिले मोदी थर भएका सबैको मानहानी भएको जिकिर गर्दै भारतीय जनता पार्टीका विधायक एवम् गुजरात राज्यका पूर्वमन्त्री पूर्णेश मोदीले उनीविरुद्ध मुद्दा दायर गरेका थिए ।

अदालतको फैसला सुन्न नेता गान्धी सुरत अदालत पुगेका पिटिआईले जनाएको छ । “मेरो धर्म सत्य र अहिंसामा आधारित छ । मेरो भगवान् सत्य हो, अहिंसा यसलाई प्राप्त गर्ने माध्यम हो,” अदालतको आदेशपछि सामाजिक सञ्जालमा महात्मा गान्धीलाई उद्धृत गर्दै राहुल गान्धीले हिन्दीमा लेखेका छन्।

फैसला सुन्न बुधबार सुरत पुगेका नेता गान्धीलाई पार्टीका शीर्ष नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए । पार्टीका समर्थकले सुरतका विभिन्न क्षेत्रमा गान्धीका पक्षमा प्रदर्शन गरेका छन् ।

अदालतको फैसला सार्वजनिक हुने वित्तिकै दिल्लीका मुख्यमन्त्री एवम् आम आद्मी पार्टीका प्रमुख अरविन्द केजरीवालले नेता गान्धीको समर्थन गर्दै न्यायालयको निर्णयप्रति असहमति जनाएका छन् ।

  • प्रकाशित मिति : चैत १०, २०७९, शुक्रवार ०६:०२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८