चैत्र ९, २०७९
गत मंसिर ४ मा भएको निर्वाचनमा जनमत पार्टीका अध्यक्ष सिके राउतले जसपा अध्यक्ष उपेन्द्र यादवलाई पराजित गरे । आफूलाई मधेसको लिडर ठान्ने यादवलाई हराएर राउतले मधेसको जनमत आफूतर्फ केन्द्रित गरिदिए । संसदीय राजनीति गर्मायो, किनकी मधेस आन्दोलनबाट उदाएर हरेक पटक सत्ताको स्वाद चाख्दै आएका यादव आफ्नै गृह जिल्ला सप्तरीबाट पराजित भएका थिए ।
उनी जसरी पनि संसदमा आउन चाहन्छन् । त्यही भएर बारा-२ बाट चुनाव जितेका जसपा नेता रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति बनाएका उनी फेरि उपनिर्वाचन लड्न चाहन्छन् । त्यो पनि १० दलीय सत्ता गठबन्धनको सहयोगमा । ४ मंसिरमा भएको चुनावमा एमाले गठबन्धनबाट चुनाव लडेका यादव मात्र होइन, तत्कालीन सत्ता गठबन्धनबाट चुनाव लडेका लोसपा नेता पनि पराजित भएका थिए । सिके राउत उदाएका थिए । चुनाव वैशाख १० मा हुँदैछ ।
अहिले राउत र यादव एउटै गठबन्धनमा छन् । राउत नेतृत्वको दल सरकारमा रहे पनि जसपाले समर्थन मात्र गरेको छ । अब विस्तार हुने मन्त्रिपरिषद्मा भाग लिनेछ । तर, यो परिस्थितिमा पनि राउत जसरी भएपनि यादवलाई रोक्न चाहन्छन् । आफूलाई मधेसमा स्थापित गर्न र मधेसका मुद्दा स्थापित गर्नकै लागि राउत नेतृत्वको दलले उपराष्ट्रपतिमा उम्मेदवारी दिएको थियो । गठबन्धनले जसपाको उम्मेदवारलाई मत दिने निर्णय गर्दा पनि राउतले उम्मेदवार उठाए । कार्यगत एकता गर्ने भनेका नागरिक उन्मुक्ति र लोसपाले भलै जनमतलाई भोट दिएनन् । जसपाका उम्मेदवारलाई नै जिताए । यद्यपि, रवी लामिछाने नेतृत्वको रास्वपाले भोट दिएको थियो ।
उपराष्ट्रपतिमा सहयोग नगरेका राउत अब बारा(२ मा हुने उपनिर्वाचनमा पनि यादवलाई सघाउने छैनन् । उनी यो उपनिर्वाचनमा पनि आफ्नो उम्मेदवार अघि सार्न चाहन्छन् ।बुधबार बाराको कलैयामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राउतले बारा क्षेत्र नम्बर २ मा उपनिर्वाचनमा पार्टीबाट उम्मेदवारी दिने बताए । ‘उपेन्द्र यादव ‘फिरंगी’ हुन्,’ राउतले भने, ‘सप्तरीका जनताले जसरी हराए, त्यसरी नै बारामा पनि हराउनु पर्छ ।’जनमत पार्टी यहाँ नजितेसम्म परिवर्तन नहुने उनले बताए । ‘पार्टीबाट उम्मेदवारी कसैले रोक्न सक्दैन्,’ उनले भने । निर्वाचन आयोगले उपनिर्वाचनको मिति घोषणा गरेसँगै राउतले बारा आएर यादवविरुद्ध यस्तो अभिव्यक्ति दिएका हुन् ।
यदि राउतले खुट्टा नकमाएर उम्मेदवार अघि सारेमा यादवलाई हराउन एमालेले पनि साथ दिन सक्छ । किनकी ४ मंसिरमा भएको चुनावमा आफूसँग मिलेर चुनाव लडेपनि यादव सत्ताको स्वाद चाख्न अर्को गठबन्धनमा गएका थिए । यादव भने जसरी पनि गठबन्धनकै सहयोगमा उपनिर्वाचन लड्न चाहन्छन् । कांग्रेस, माओवादी, एकीकृत समाजवादीसहितको समर्थनमा आफूले चुनाव लडेमा जित्नेमा उनी ढुक्क छन् । तर, यो अवस्थामा लोसपा के गर्छ त्यो हेर्न बाँकी छ । अर्कोतिर केही महिना मात्र उदाएको रास्वपाको निर्णयले पनि अर्थ राख्नेछ । भलै रास्वपाले यो अवस्थामा मधेसमा नजित्ला तर जनमत पार्टीका उम्मदेवारलाई सघाउन सक्छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८