फागुन १५, २०७९
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मन्त्रीलाई जोगाएर सहसचिव र कर्मचारीलाई मात्र भ्रष्टाचार मुद्दा चलाएको छ ।गण्डकी प्रदेशका तत्कालित भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेतको पालामा २०७७ साल जेठ २ मा गोरखाको जरेबरमा दरौंदी नदीमाथि सडक विनै पुल निर्माणको सम्झौता भएको थियो । खेत र पहराको बीचमा ५ करोड रुपैयाँको लागतमा मोटरेबल पुल बनाइयो ।
तर, अख्तियारले भने कर्मचारीलाई मात्र डामेर तत्कालीन मन्त्रीलाई उन्मुक्ति दिएको छ । अख्तियारले गण्डकीका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात मन्त्रालयका तत्कालीन सचिव ईश्वर चन्द्र मरहट्टासहित तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा चलाएको छ । उनी हाल स्थानीय पूर्वाधार विभागका महानिर्देशक छन्। अख्तियारको यो प्रकरणले भन्छ, सानालाई ऐन, ठूलालाई चैन।
मरहठ्ठाले दरौदी खोलामा काल्पनिक पुल निर्माणको डिजाइन गराएर भुक्तानी गराएको भन्दै ५ करोड ४५ लाख ५२ हजार ६ सय ७१ रूपैयाँ बिगो दाबी अख्तियारले गरेको छ । यो प्रकरणमा प्रदेश सडक निर्देशनालयका तत्कालीन निमित्त निर्देशक रामकुमार श्रेष्ठ र पूर्वाधार विकास कार्यालय, गोरखाका सिनियर डिभिजनल इन्जिनियर ओमराज ढुङ्गानाविरुद्ध पनि मुद्दा दायर भएको छ ।
प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयको बजेटबाट गोरखा नगरपालिका– ३ जरेवरस्थित दरौंदी नदीमाथि बाटो नभएको स्थानमा पुल राखेर उनीहरुले राज्यको स्रोत दुरुपयोग गरेको आरोपपत्रमा उल्लेख छ । निर्णय प्रक्रियामा संलग्न नदेखिएको भन्दै मन्त्री बस्नेतलाई प्रतिवादी बनाइएको छैन । जबकि, उनको पाालामा ०७७ साल जेठ २ पुल निर्माणको सम्झौता भएको हो ।यो पुल गणेशकुण्ड आइएस निर्माण सेवाले निर्माण गरेको हो ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८