फागुन ११, २०७९
कालिका कन्स्ट्रक्सनका मालिकसमेत रहेका सहरी विकासमन्त्री विक्रम पाण्डेको पद जुनसुकै बेला पनि जानसक्ने खतरा बढेको छ । विशेष अदालतले सिक्टा सिँचाइ आयोजनाको भ्रष्टाचार मुद्दामा पाण्डेसहित सबै २१ जनालाई सफाइ दिए पनि अख्तियारले जुनसुकै बेला पनि सर्वोच्चमा पुनरावेदन गर्न सक्छ ।
विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यहरू रमेशकुमार पोखरेल र यमुना भट्टराईको इजलासले निर्माण ठेक्का पाएको कालिका कन्स्ट्रक्सन जेभी, निर्माणको गुणस्तर सुनिश्चित गर्ने दायित्व रहेका इन्जिनियर, आयोजना प्रमुखहरू तथा अन्य सरकारी कर्मचारी सबैलाई सफाइ दिँदै पानीसँग घुलनशील हुने माटोका कारण नहर भत्किएको ठहर गरेको छ । तर, यो फैसलाविरुद्ध अख्तियार सर्वोच्च जाने सम्भावना उच्च छ । तर, कहिले र कुन अवस्थामा पुनरावेदन पर्छ भन्ने मात्र हो ।
यदि अख्तियारले यो मुद्दाको फैसलामा पुनरावेदन गरेमा मन्त्री पाण्डेको पद जानेछ । किनकी अदालतमा विचाराधिन अवस्थामा रहेको मुद्दा किनारा नलागुञ्जेलसम्म सांसद पद स्वतः निलम्बनमा पर्नेछ । यो व्यवस्था भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३३ मा छ।
पछिल्लो पटक अख्तियारले विशेषका सबैजसो फैसलाविरुद्ध पुनरावेदन गरेको छ । पछिल्लो ६ महिनामा मात्र अख्तियारले साढे ६ सय फैसलाविरुद्ध पुनरावेदन गरेको छ ।बाँकेमा निर्माणाधीन अवस्थामै सिक्टा सिँचाइको मूल नहर भत्किएपछि डिजाइनमा नै त्रुटि गरेको तथा निर्माणका क्रममा गुणस्तरीय काम नगरेको आरोपमा अख्तियारले २१ जनाविरुद्ध २०७५ मंसिर २१ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । पाण्डेविरुद्ध दुई अर्ब १३ करोड ७६ लाख रुपैयाँको बिगो कायम गरी मुद्दा चलाइए पनि विशेषले माटोलाई दोष लगाएर उन्मुक्ति दिएको हो ।
अख्तियारले पाण्डेलाई भ्रष्टाचार निवारण ऐनअनुसार दुई वर्षसम्म कैद र बिगो बराबरको रकम जरिवाना गर्न माग गरेको थियो । फैसला गत असारमा भएकाले उनी चितवन–३ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । तर, फैसलाको पूर्ण पाठ नआएकाले अख्तियारले पुनरावेदन गर्न पाएको थिएन । गत सोमबार फैसलाको पूर्ण पाठ आएको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८