फागुन ५, २०७९
राजधानीको बुद्धनगरमा बुधबार राती खाना पकाउने ग्यास लिक हुँदा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद चन्द्र भण्डारी गम्भीर घाइते भए । गम्भीर अवस्थाका उनलाई उपचारका लागि भारतको मुम्बईमा लगिएको छ । सोही घटनामा परी शरीरको अधिकांश भाग जलेका कारण भण्डारीकी आमा हरिकलाको ज्यान गइसकेको छ ।
बिहीबार मात्र दाङको तुल्सीपुरमा खाना पकाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते भएका छन् । तुलसीपुरमा रहेको कृषि बिउ उत्पादन कम्पनीमा बिहान खाना पकाउने क्रममा सिलिण्डर पड्किएको थियो । उनीहरुलाई राप्ती प्रादेशिक अस्पतालमा उपचार हुन नसकेपछि नेपालगञ्ज पठाइएको छ ।यसअघि गत कात्तिकमा ललितपुरको मंगलबजारमा लक्ष्मीकृष्ण ताम्राकारको घरमा म्ह पूजाका दिन ठूलो विपद आइलाग्यो । आगलागीसँगै ग्यास सिलिन्डर पड्किँदा १० जनाको परिवारमा चार जनाको ज्यान गयो । अरु दुईजना घाइते भए ।
यी र यस्ता घटना प्रायः हप्ता र महिनापिच्छे भइरहेका छन् । प्रहरीका अनुसार वर्षेनि यस्ता घटना बढ्दै गएका छन् । ग्यास सिलिन्डरको गुणस्तरको प्रभावकारी अनुगमन नहुने र उपभोक्तामा पनि सचेतनाको अभावले क्षतिको आकार पनि बढ्दै गएको छ । नेपाल आयल निगमका अनुसार नेपालमा हाल ६२ वटा एलपी ग्यास कम्पनीले गुणस्तर प्रमाण चिन्ह पाएका छन् । ती कम्पनीका प्रमाणीकरण भएका १ करोड ३१ लाख सिलिन्डर बजारमा छन् । भारतका विभिन्न ठाउँबाट ट्यांकरमा ग्यास भरेर ल्याउने उद्योगहरुले नेपालमै सिलिन्डर भरेर पठाउँछन् । तर ती उद्योगले गाउँदेखि सहरसम्मका भान्सामा पठाउने सिलिन्डरको अवस्था के छ भनेर जाँच्ने कुनै निकाय देशमा छैन । भएका निकायले एकले अर्कालाई देखाएर आफू जिम्मेवारीबाट पन्छिने प्रवृत्ति छ ।
खासमा उद्योगदेखि बिक्रेतासम्मले सुरक्षा, गुणस्तर र मात्रासम्बन्धी विभिन्न मापदण्ड पुर्याएर मात्र बजारमा पठाउनुपर्ने हो । प्रयोग गर्न सकिने म्याद सिलिन्डरमै लेखिएको हुनुपर्छ । ग्यास भर्ने चरणदेखि गाडीमा लोड(अनलोड, भण्डारण र वितरणसम्मका सुरक्षाका उपायमा उत्पादक र बिक्रेता संवेदनशील नभए त्यसले निम्त्याउने भनेको दुर्घटना नै हो । पछिल्लो समय एलपी ग्यास प्रयोगकर्ता सहरदेखि गाउँगाउँसम्म फैलिएका छन् । तिनको ओसारपसार र वितरण ठिक ढंगले भए नभएकोतर्फ हेर्न कुनै निकाय तयार छैनन् ।
नेपालमा उपभोक्ताका हकहित, बजार अनुगमन र व्यवस्थापनको एकमुष्ट जिम्मेवारी उद्योग, वाणिज्य तथा आपूर्ति विभागलाई तोकिएको छ । बजारमा आएका कुनै सामान प्रयोग गर्दा उपभोक्ता ठगिन्छन् वा उपभोक्ताले ती सामानबाट हानि बेहोर्छ भने विभागले कानुनी कारवाही गर्न सक्छ । उपभोक्तालाई क्षतिपूर्ति भराउन सक्छ । तर अहिलेसम्म ग्यास सिलिन्डर दुर्घटना र विष्फोटका घटनामा कुनै पनि उद्योग वा विक्रेता कारवाहीमा परेको छैन ।
गुणस्तर तथा नापतौल विभाग त झन् देशमा छ कि छैन भन्ने अवस्था छ । ग्यास उद्योगहरु उपभोक्ता सचेतना अभावका कारण दुर्घटना भइरहेको भनेर पन्छिन्छन् । तर यसरी एकले अर्कोलाई दोष देखाएर आफू उम्किने र कसैले जिम्मेवारी नलिने प्रवृत्तिले अझै ठूला दुर्घटना निम्तिन सक्ने जोखिम छ । सहरका घना बस्तीदेखि गाउँगाउँसम्म पुगेका सिलिन्डर कुन बेला बम बनेर पड्किन्छन् भन्ने कुनै ठेगान छैन । न बिमा गरिएको छ न त क्षतिपूर्तिको अभ्यास नै । यति ठूलो अपराधमा पनि कुनै कारबाही भोग्नु नपर्ने गरी छूट पाइने सम्भवतः नेपाल एक्लो देश होला ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८