• भदौ ८, २०८३, सोमवार Monday, 24 August, 2026

आठ जना अपहरणकारी पक्राउ, पिडितको उद्धार

  • खबरदाता

आठ जना अपहरणकारी पक्राउ, पिडितको उद्धार

फागुन १, २०७९

 

 

वीरगन्ज । पर्सामा दिनदहाडै पेस्तोल देखाएर अपहरण र डकैती गर्ने अपराधिक गतिविधिमा संलग्न आठ जनालाई प्रहरीले पक्राउ गरी पीडितको उद्धार गरेको छ । शान्त रहेको आर्थिक नगरीमा अशान्ति मच्चाउन थालेका अपराधिक गतिविधिमा संलग्न आठ जनालाई पर्सा प्रहरीले पक्राउ गरी पीडितको उद्धार गरेको हो ।

अभियुक्तहरुले वीरगन्जको वडा नम्बर ६ रेल्वे सडकखण्डबाट विशालकुमार पटवालाई गएको माघ २६ गते अपहरण गरी वीरगन्ज १५ भिस्वाको एकान्त ठाउँमा पु¥याई उनीसँग भएको साढ ६ लाख रकम डकैती गरेको पर्सा प्रहरीले जनाएको छ । सो घटना लगत्तै प्रहरीले सकृयता बढाएपछि अपराधिक समूहका आठ अभियुक्तलाई महानगरपालिका भित्रैबाट पक्राउ गरिएको पर्साका प्रहरी उपरिक्षक कोमल शाहले बताए । घटना लगत्तै प्रहरीले पिछा गरेर घेराबन्दी गर्दा उनीहरु उम्किन नसकेको उनको भनाई छ ।

पक्राउ परेका अभियुक्तहरुको साथबाट डकैती गरिएको मध्ये ४ लाख ९४ हजार रकम (दशी ) नै फेला परेको भन्दै सोमबार पर्सा प्रहरीले पत्रकार सम्मेलन नै गरी अभियुक्तहरु सहित सार्वजनिक गरेको हो । पीडित पटवालाई अपहरण गर्दा प्रयोग गरेको मेडिन यूएसए लेखिएको एक थान पेस्तोल र त्यसमा लाग्ने ५ थान गोली सहित त्यसको म्याग्जिन पनि प्रहरीले सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेहरुमा वीरगंज महानगरपालिका वडा नम्बर २४ रामगढवा बस्ने बर्ष ३४ का विजय महतो, वडा नम्बर २ छपकैयाका ३० बर्षीय सदाम अन्सारी, वडा नम्बर ११ श्रीपुरका ३४ बर्षीय सन्तोष लामा, सोही ठाउँका ४२ बर्षीय मोजालिम मियाँ रहेका छन् । त्यस्तै ४० बर्षीय रोशन थापा, बारा कलैया उप–महानगरपालिका वडा नम्बर २३ बस्ने बर्ष २६ का मुकेश पटेल, परवानीपुर गाउँपालिका–३ बस्ने बर्ष ३० का नबाब हुसेन र भारत बिहारको मोतिहारीका बर्ष २४ का ईमाम अन्सारी रहेको पर्सा प्रहरीले जनाएको छ । घटनाका मुख्य योजनाकार विजय महतो रहेको र उनैको योजना अनुसार संगठित रुपमा उनीहरुले अपराध गरेको प्रहरी उपरीक्षक शाहले खुलासा गरे ।

पक्राउ परेकाहरु अभियुक्तहरु मध्ये अधिकांश पहिले पनि विभिन्न अपराधिक गतिविधिमा संलग्न भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । यस बिषयमा विगतको घटनाको अनुसन्धान र भारत तर्फ काउन्टर पार्टसँग पनि सहकार्य गरी उनीहरुले दुवै तर्फ गरेका अपराधिक गतिविधिको खोजबिन गर्ने पनि पर्सा प्रहरीले जनाएको छ । प्रहरीले पटवाको अपहरणमा प्रयोग गरिएको ना १९ प २८०८, ना ६२ प १०० र बीआर १ सीआर २४२५ नम्बरको तीन वटा मोटरसाइकलसमेत बरामद गरेको छ ।

पक्राउ परेका आठै जनालाई डकैती, अपहरण तथा शरीर बन्धक र हतियार तथा खरखजाना एवं संगठित अपराध सम्बन्धी कसूर गरेको कानून आकर्षित हुने छ । अभियुक्तहरुको काम गराईको फेहरिस्त संगठित अपराध हो । यसमा प्रहरी अझ चनाखो भएर उनीहरुसँग जोडिने अन्य लिंकहरु पनि खोजिगरिरहेको पनि पर्सा प्रहरीले जनाएको छ ।

 

  • प्रकाशित मिति : फागुन १, २०७९, सोमवार २०:१८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८