• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026

नाक अगाडि शपथ खाएका ‘माननीय फरार’लाई नेदेख्ने, लोकप्रियताका लागि विज्ञप्ति निकाल्ने !

  • खबरदाता

नाक अगाडि शपथ खाएका ‘माननीय फरार’लाई नेदेख्ने, लोकप्रियताका लागि विज्ञप्ति निकाल्ने !

माघ ८, २०७९

 

 

उपप्रधान एवं गृहमन्त्री रवी लामिछानेले ‘स्टन्ड’थालेका छन् । उनी एमालेका फरार भनिएका सांसद लक्ष्मी महतो कोइरी’प्रकरणमा तानिएका हुन् ।

कर्तव्य ज्यान मुद्दामा फरार रहेका कोइरी ४ मंसिरमा भएको चुनावमा महोत्तरी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए । हत्या अभियोगमा फरार सूचीमा रहेका सांसद लक्ष्मी महतो कोइरीलाई खोज्न प्रहरी टोली संसद् परिसरमा परिचालन गरिएको थियो । तर, उनले ७ पुसमा गृहमन्त्री रवी लामिछानेकै अगाडि शपथ लिए ।

आफ्ना अगाडि नै शपथ लिएका फरार अभियुक्तलाई नदेख्ने लामिछानेले शुक्रबार गृह मन्त्रालयलाई विज्ञप्ति जारी गर्न लगाए ।गृहका प्रवक्ता फणिन्द्रमणि पोखरेलले विज्ञप्ति जारी गर्दै उपप्रधान तथा गृहमन्त्रीले पटकपटक दिएको मौखिक निर्देशन कार्यान्वयन नभएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाए । विज्ञप्तिमा भनिएको छ, ‘निज प्रतिवादीलाई कानुन बमोजिम पक्राउ गरी तत्काल कारबाही पक्रिया अगाडि बढाउन मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको व्यहोरा अनुरोध छ ।’

गृहमन्त्री लामिछानेले स्टाटस लेख्दै पुराना समातिने मात्र नभइ धेरै नयाँहरू फरार हुन नपाउन् भन्ने हेक्का राखेको बताए ।कोइरीको विषयमा प्रतिनिधि सभामै सांसदले गृहमन्त्री लामिछानेसँग जवाफ मागेपछि उनले जवाफ दिएका हुन् । तर, उनको दोहोरो चरित्र देखिएको भन्दै आलोचना भएको छ ।

आफ्ना अगाडि शपथ लिँदा कोइरीलाई नदेख्ने लामिछानेले विज्ञप्ति जारी गरेर अपराध अनुसन्धानको आचारसंहिता उल्लंघन गरेका छन् । ‘गृहको दबाब हुँदैनथ्यो भने प्रहरीले कोइरीलाई शपथ ग्रहणकै दिन पक्राउ गरिसक्थ्यो । तर, अहिले फरार भएपछि गृहले स्टन्ड गरेको छ,’ एक प्रहरी अधिकारी भन्छन् ।

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पनि पनि शनिबार संसदमा बोल्दै लामिछानेले कोइरीलाई पक्राउ गर्नुको सट्टा विज्ञप्तिबाजी गरेको बताएका छन् । ‘मान्छे पक्रिन नसक्ने, अनि सूचना जारी गर्ने रु यो कस्तो अभ्यास हो रु म प्रधानमन्त्रीलाई विश्वासको दिन जाँदा गृहमन्त्रीजीसँगै गएको हुँ । उहाँले १७० नम्बर हस्ताक्षर गर्नुभएको छ । प्रहरीको फरार सूचीमा रहेका व्यक्तिले १९४ नम्बर हस्ताक्षर गर्नुभएको छ,’ खतिवडाले प्रश्न गर्दै भने ।गृहमन्त्रीले अपराधीलाई पक्राउ गर्न लगाउने हो, अपराध अनुसन्धान आचारसंहिताको विरुद्व विज्ञप्तिबाजी गर्न मिल्दैन ।

के हो घटना ?
कोइरी सशस्त्रका असइ थमन विकको हत्यामा फरार सूचीमा छन् । मधेस आन्दोलनका क्रममा २५ भदौ ०७२ मा विकलाई गाडीबाट थुतेर भाला तथा धारिलो हतियारले घोचेर हत्या गरेको अभियोग कोइरीमाथि छ । उनलाई २ असोज ०७६ मा जिल्ला अदालत महोत्तरीले एक लाख धरौटीमा छाड्ने आदेश दिए पनि पुनरावेदनपछि उच्च अदालत जनकपुरले पुनः पक्राउ गर्न आदेश दिएपछि फरार छन् ।

२०७२ भदौ २५ मा आन्दोलनकारीको कुटाइबाट गम्भीर घाइते विकलाई उपचारका लागि जनकपुर लैजाने क्रममा एम्बुलेन्सबाट थुतेर हत्या गरिएको थियो ।
तर, कोइरी फरार रहेकै बेला एमालेले सांसदको टिकट दियो । चुनाव पनि जिते । र, गृहमन्त्रीकै अगाडि शपथ खाएका थिए।

  • प्रकाशित मिति : माघ ८, २०७९, आइतवार ०६:४१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८