• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

भूमि आयोगका अधिकृत गणेशप्रसाद पोखरेल विरुद्ध भ्रष्टाचार मुद्दा

  • खबरदाता

भूमि आयोगका अधिकृत गणेशप्रसाद पोखरेल विरुद्ध भ्रष्टाचार मुद्दा

पुस ३०, २०७९

 

 

राष्ट्रिय भूमि आयोगका अधिकृत गणेशप्रसाद पोखरेलविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अधिकृत पोखरेलविरुद्ध एक करोड छ लाखभन्दा बढी स्रोत नखुलेको गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो ।

आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले पोखरेलविरुद्ध एक करोड छ लाख ३३ हजार ३३९ रुपियाँ १२ पैसा बिगो कायम गरेर मुद्दा दायर गरेको जानकारी दिए । प्रवक्ता भण्डारीका अनुसार गैरकानुनी सम्पत्ति जफत गर्ने प्रयोजनका लागि पोखरेलकी श्रीमती विमला न्यौपाने पोखरेलाई प्रतिवादी बनाइएको छ ।

यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र सुकेधाराका तत्कालीन निमित्त कार्यालय प्रमुख रहँदा नै अख्तियारले पोखरेलमाथि अनुसन्धान सुरु गरेको थियो । त्यसपछि पोखरेल सरुवा भएर भूमि आयोग पुगेका थिए ।

हाल आयोगमै कार्यरत रहेको बेला पोखरेलविरुद्ध गैरकानुनी सम्पत्ति आर्जनको आरोपमा अख्तियारले हिजो मुद्दा दायर गरेको प्रवक्ता भण्डारीले जानकारी दिए।

भण्डारीका अनुसार पोखरेल सरकारी सेवामा प्रवेश गरेको विसं २०४६ असारदेखि २०७८ फागुन १५ गतेको अवधिमा उहाँ र उहाँका परिवारका नाममा रहेको चलअचल सम्पत्तिमा आयोगले अनुसन्धान गरेको थियो ।

अनुसन्धानका क्रममा चार करोड ३७ लाख ८८ हजार ४०२ रुपियाँ १० पैसा बराबरको चलअचल सम्पत्ति फेला पारेकोमा तीन करोड ३१ लाख ५५ हजार ६२ रूपियाँ १९ पैसाको मात्रै स्रोत खुलेको र स्रोत नखुलेकोलाई बिगो कायम गरी पोखरेलविरुद्ध मुद्दा दायर गरिएको छ ।

  • प्रकाशित मिति : पुस ३०, २०७९, शनिवार ०६:३१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८