पुस २२, २०७९
शपथ लिएको १० दिन बितिसक्दासमेत प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद विस्तार गरेका छैनन् । तीन उपप्रधानमन्त्रीले मात्र विभागीय जिम्मेवारी पाएका छन् । बाँकी सबै मन्त्रालय आफैंले राखेर शासन चलाइरहेका दाहालले विश्वासको मत नलिएसम्म मन्त्रिपरिषद् बिस्तार नगर्ने भनेका छन् । १६९ सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त हुँदा पनि मन्त्रिपरिषद् विस्तार गर्न किन सकिरहेका छैनन् त ? यसको सोझो उत्तर हो, उनी गठबन्धनप्रति ढुक्क छैनन् । अझ भन्दा उनको कुर्सीको स्थायित्वका निम्ति पूर्णतः अनुकूल परिस्थिति बनिसकेको छैन ।
प्रधानमन्त्रीका रूपमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शपथ लिएकै दिन पुस ११ गते ३ जना उपप्रधानमन्त्री र ४ मन्त्रीले शपथ लिएका थिए। त्यसमा पनि ४ मन्त्रीले कुनै विभागीय जिम्मेवारी पाएका छैनन् । अर्थात् उनीहरु झण्डा हल्लाएर हिँड्ने र क्याबिनेट बैठकमा सहभागी हुनेबाहेक कुनै भूमिकामा छैनन्। गृह, अर्थ र भौतिक पूर्वाधार मन्त्रालय तीन उपप्रधानमन्त्रीका भागमा छन् । बाँकी सबै मन्त्रालय प्रधानमन्त्री दाहालले आफूसँगै राखेका छन् । जब कि ती सबै मन्त्रालयका काम हेर्ने फुर्सद उनलाई छैन । किनकि कांग्रेस नेतृत्वको गठबन्धन छाडेर एमालेको सहयोगमा प्रधानमन्त्री बनेका दाहाल पहिला आफ्नै पद सुरक्षित गर्न ससाना घटकहरुलाई फकाउनमै व्यस्त छन्। त्यसैले उनी पहिला विश्वासको मत लिएर मात्र मन्त्रीमण्डल बिस्तार गर्न चाहन्छन् ।
७ दल र केही स्वतन्त्र सांसदको समर्थनमा प्रधानमन्त्री बन्दाको अंकगणित हेर्दा दाहालका लागि विश्वासको मत लिनु ठूलो कुरा थिएन । शपथको केही दिनमै विश्वासको मत लिने उनको चाहना पनि थियो। दलहरुसँगको छलफमा पनि त्यही सहमति भएको थियो। अर्थात छिटोभन्दा छिटो विश्वासको मत लिएर मन्त्रीपरिषद्लाई पूर्णता दिने उनको योजना थियो। तर उनको योजना तब विफल बन्यो, जब संसदको अधिवेशन पुस २५ मा मात्र डाकियो । यसबीचमा उनलाई समर्थन गर्ने दल र नेताहरुले शक्ति साझेदारी र अन्य माग तेर्स्याउँदै दबाब बढाउन थाले । यही कारण न मन्त्रिपरिषद विस्तार हुन सक्यो, न त विश्वासको मत नै निश्चित भएको छ । केन्द्रदेखि प्रदेशसम्मको शक्ति बाँडफाँटको चेपुवामा परिरहेको छ, दाहालको योजना ।
तत्कालका लागि १६९ सांसदको समर्थन रहेको भनिए पनि धेरै दलले विश्वासको मत दिने नदिनेबारे निर्णय गरिसकेका छैनन् । नागरिक उन्मुक्ति, जसपा लगायतले विभिन्न सर्त राखी अहिलेसम्म मोलमोलाइ नै गरिरहेका छन् । राप्रपाले पनि सरकारमा सहभागी हुने त भनेको छ तर केन्द्रका मन्त्रालयसँगै बाग्मतीको मुख्यमन्त्रीसमेत ताकेको छ । अझ यही समयमा कांग्रेस सभापति शेरबहादुर देउवाले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई भेटेर परिस्थिति बिग्रने सक्ने भय पैदा गरिदिएका छन् । यति मात्र होइन, दाहालले विश्वासको मत नदिन कांग्रेसका नेताहरु गठबन्धन आबद्ध दलका नेताहरुसँग विभिन्न होटलमा भेटेर फकाइरहेका छन् ।
बिहीबार मात्र कांग्रेसका केही नेताले राप्रपाका नेततासँग वार्ता गरेका छन् । यी सबै गतिविधि थाहा पाएका प्रधानमन्त्री दाहालले तत्काल मन्त्रिमण्डल बिस्तार गर्दा असन्तुष्टि बढ्ने भयले पनि पुस २६ को खड्गो टार्न खोजिरहेका छन् । केन्द्रमा मन्त्रिमण्डल बिस्तार नै नगरी बसेका दाहालका लागि अर्को चुनौती के थपिएको छ भने उनले विश्वासको मत नलिँदै प्रदेश १, बाग्मती र गण्डकीमा मुख्यमन्त्रीको टुंगो लगाइसक्नुपर्नेछ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८