• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

प्रधानमन्त्री र गृहमन्त्रीको निर्देशनलाई गिज्याइरहेको एउटा दृष्य

  • खबरदाता

प्रधानमन्त्री र गृहमन्त्रीको निर्देशनलाई गिज्याइरहेको एउटा दृष्य

पुस २०, २०७९

 

 

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले पहिलो निर्णय गरेको थियो, राहदानीका लागि लामालामा लाइन बस्नुपर्ने र नागरिकले हैरानी खेप्नुपरेको समस्यालाई सरकारले सम्बोधन गर्ने ।’राहदानी विभाग त्रिपुरेश्वरमा मध्यरातदेखि नै नागरिक लाइनमा बस्नु परेको यर्थाथतालाई मध्यनजर गर्दै सरकारले त्यस्तो निर्णय गरेको थियो ।लगत्तै उपप्रधान तथा गृहमन्त्री रवी लामिछाने आक्रामक बने । गृहमन्त्री लामिछाने १३ पुसमा राहदानी विभाग पुगे । विभागमा सेवाग्राहीहरूको गुनासो सुनेपछि उनले जिल्लाबाटै सहज रूपमा राहदानी जारीका लागि सरकारले पहल गर्ने मात्र बताएनन् विभागका महानिर्देशक सुरेन्द्र यादवलाई सहज ढुंगबाट सेवा प्रवाह गर्न निर्देशन दिए ।

१८ पुसमा गृहमन्त्री लामिछानेले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र जिल्लास्थित सुरक्षा निकायका प्रमुखसँग छलफल गरे । खासगरी यो भर्चुअल बैठक पनि सेवा प्रवाहमा केन्द्रित बन्यो । ‘आवाजविहीनको आवाज सुन्नुस्’ ७७ जिल्लाका प्रजिअहरुलाई लामिछानेले भनेका थिए, ‘जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयबाट सेवा प्रवाह गर्दा राजनीतिक प्रभाव कहीँ कतै पनि देखिनुहुँदैन ।’गृहमन्त्री लामिछाने आक्रामक बनिरहेका बेला प्रधानमन्त्री प्रचण्ड पनि निर्देशनात्मक शैलीमा उत्रिएका छन् ।

उनले १८ र १९ पुसमा मुख्यसचिवसहित सचिवहरूसँग छलफल गरे । उनले त सेवाग्राहीलाई सास्ती दिने पदाधिकारीलाई कारबाही गर्ने चेतावनी दिए भने एक महिनाभित्र सच्चिन निर्देशन दिए । सचिवहरूलाई ३० बुँदे निर्देशन दिएका प्रचण्डले राहदानी, राष्ट्रिय परिचयपत्र, सवारी लाइसेन्स, शिक्षा मन्त्रालयबाट प्रदान गरिने ‘नो अब्जेक्सन सर्टिफिकेट’, सरकारी अस्पतालमा विरामको उपचार, मालपोत, नापी, कर दस्तुर बुझाउने ठाउँमा सेवाग्राहीले अहिले जस्तै लाइनमा बस्ने सास्ती देखिएको बताए । र, निर्ममतापूर्वक जिम्मेवार पदाधिकारीलाई कारबाही गर्नुपर्ने अवस्थामा आउने चेतावनी दिए ।

१९ पुसमा प्रचण्डले सिंहदरबारबाट सचिवहरूलाई यस्तो निर्देशन दिइरहेका बेला त्रिपुरेश्वरमा रहेको राहदानी विभागले प्रधानमन्त्री र गृहमन्त्रीको निर्देशन अनि मन्त्रिपरिषद्को निर्णयलाई गिज्याउने सूचना जारी गरेको छ । सिस्टममा समस्या आएको भन्दै विभागले राहदानी वितरण बन्द गरिदियो ।सरकार गठनसँगै ११ पुसको मन्त्रिपरिषद्ले ‘नागरिकलाई प्रदान गर्दै आएका आधारभूत सेवा विशेषगरी राष्ट्रिय परिचयपत्र, विद्युतीय राहदानी, सवारीचालक अनुमतिपत्रलगायतका सेवा प्रवाहलाई सुगम, सरल, कम खर्चिलो र झन्झटमुक्त बनाउने, यसमा देखिने गरी सुधारका काम तत्काल आरम्भ गर्ने र कार्यान्वयन गर्ने’ भनेका बेला राहदानी विभागको पछिल्लो सूचनाले सार्वजनिक निकायको सेवाप्रवाहको दृष्य झल्काएको छ । अनियमितता र भ्रष्टाचारमा लिप्त सरकारी निकायमा यसरी कुनै न कुनै बहानामा सेवा बन्द हुनु नौलो होइन ।

  • प्रकाशित मिति : पुस २०, २०७९, बुधवार ०६:२७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८