• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

बालुवाटारको साँचो बालकोटमा , मन्त्रिपरिषद विस्तारमा अन्योल

  • खबरदाता

बालुवाटारको साँचो बालकोटमा , मन्त्रिपरिषद विस्तारमा अन्योल

पुस १५, २०७९

 

 

चितवन –  कुनै बेला माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले नेता माधव नेपाल नेतृत्वको सरकारलाई कठपुतली भनेर असफल आन्दोलन गरेका थिए । तर अहिले तिनै प्रचण्ड एमालेका कठपुतली शैलीका प्रधानमन्त्री बन्न पुगेका छन् । सरकार सञ्चालनको सम्पूर्ण साँचो बालकोट पुगेको छ ।माओवादी केन्दका अध्यक्ष पुष्पकमल दाहाल पुस १० गते सात दलको समर्थनमा प्रधानमन्त्री नियुक्त भए । तर सरकारमा ४ दलभन्दा सहभागी भएका छैनन् । साना दलले पालैपालो सर्त राख्न थालेपछि सरकारले उनीहरुलाई मनाउने प्रयासस्वरुप न्यूनतम साझा कार्यक्रमको तुरुप फ्याँकेको छ । न्यूनतम साझा कार्यक्रम बनाउनका लागि भनेर कार्यदल बनाइएपछि सरकार विस्तारको विषय पछाडि धकेलिन पुगेको छ । नियुक्त भइसकेका चार मन्त्रीलाई पनि जिम्मेवारी नतोकी विनाविभागीयको हैसियतमा राखिएको छ ।

सरकार गठनपछि बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धन दलको बैठक बस्यो । बैठकमा प्रधानमन्त्री दाहालका अतिरिक्त नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी भए । मन्त्रालय भागबण्डा र सरकार विस्तारको विषयमा छलफलका लागि बैठक बसेको भएपनि त्यो विषय तत्कालका लागि थाँती राखियो । बैठकले न्यनतम साझा कार्यक्रम बनाउने भनी त्यसका लागि ओलीको संयोजकत्वमा कार्यदल बनाएको छ ।

अर्थात् अब दाहालले ओलीको निर्देशनमा काम गर्नुपर्नेछ ।दाहाललाई समर्थन गरेका जनता समाजवादी पार्टी, राप्रपा र नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागी भएका छैनन् । राप्रपाले सरकारमा सहभागी हुन भनेर विभिन्न सर्त अगाडि सारेको छ । यस्तै नागरिक उन्मुक्ति पार्टीले पनि सर्त राखेको छ । जसपाले आफ्नो चासोबारे केही बताएको छैन । यी तीन दलले समर्थन फिर्ता लिएको अवस्थामा गठबन्धन सरकार अप्ठेरोमा पर्न सक्छ । न्युनतम साझा कार्यक्रममा आफ्ना चासोलाई कसरी सम्बोधन गरिन्छ भन्नेमा राप्रपाको चासो छ ।राप्रपालगायत दलले सर्त राखिरहँदा एमाले र माओवादी केन्द्र दाहाललाई प्रधानमन्त्री बनाउन समर्थन गरेका दलसँग उनीहरुका सर्त र मन्त्रालय भागबण्डाका विषयमा कुरा गर्न छोडेर राष्ट्रिय दल बन्न नसकेको १० सिटे नेकपा एकीकृत समाजवादीलाई फकाउनतिर लागेका छन् । प्रतिपक्षमा बस्ने निर्णय गर्न नसकिरहेको एकीकृत समाजवादीलाई मनाउन सके अरु साना दलले विश्वासको मत नदिए पनि सरकार अप्ठेरोमा नपर्ने एमाले र माओवादी केन्द्रको बुझाइ छ ।

त्यही कारण उनीहरुले बिहीबार न्यूनतम साझा कार्यक्रम तय गर्ने नाममा सरकार विस्तारको विषय पछाडि धकेलेका हुन् ।दाहालले नियुक्तिको मितिले एक महिनाभित्र विश्वासको मत लिनुपर्छ । पुस २५ गते संसद अधिवेशन आह्वान गरिएको छ । प्रधानमन्त्रीले पुस अन्तिमसम्म विश्वासको मत लिन चाहेका छन् । अहिले विभिन्न बहानामा अल्झाएर विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद विस्तार गर्ने दाहालको तयारी छ । त्यो तयारीमा कुनै फेरबदल भएन भने सरकार विस्तार हुन अझै दुई साताभन्दा बढी लाग्ने देखिन्छ ।

  • प्रकाशित मिति : पुस १५, २०७९, शुक्रवार ०६:२६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८