पौस ४ २०७९
इलाम । पाठेघरको मुखको क्यान्सरको उपचार अब इलाममै सम्भव भएको छ । इलाममा क्रायोथेरापी मेसिन आईपुगेपछि सो उपचार इलाममै सम्भव भएको हो । इलाम नगरपालिका वडा नं। ७ का अध्यक्ष नरेश श्रेष्ठले नेपाल परिवार नियोजन संघ इलामका सभापति सरोज बैद्यलाई एक सेट क्रायोथेरापी मेसिन हस्तान्तरण गरे । वडामा स्वास्थ्यको क्षेत्रमा विनियोजन गरिएको बजेटबाट सो समाग्री खरिद गरिएको हो । यसअघि इलाममा पाठेघरको मुखमा हुने क्यान्सरको परिक्षण मात्र हुदै आएको थियो भने उपचारका लागि धरान रेफर गर्नुपर्ने अवस्था थियो ।
पाठेघरको मुखको क्यान्सरको लक्षण देखिएकाहरुलाई सेक्ने प्रविधिमार्फत उपचार गरिने संघका प्राविधिक लाक्पा लामाले बताईन् । मेसिन प्राप्त गरेपछि नेपाल परिवार नियोजन संघ इलाम शाखाले भोलिबाट नै उपचार शुरु गर्ने संघका प्रमुख कमल सुवेदीले बताए ।
सामाग्री हस्तान्तरण गर्दै वडाध्यक्ष नरेश श्रेष्ठले वडाबासी बाहेक सबै पाठेघरको क्यान्सरको लक्षण देखिएकाहरुको उपचार गर्ने उद्देश्यले मेसिन हस्तान्तरण गरिएको बताए । पुस ११, १२ र १३ गतेका लागि पाठेघरको निशुल्क चेकजाँचको लागि सिटीहलमा ७ नम्बर वडा कार्यालयले शिविरको आयोजना गरेको र सोको सेवा लिन २० देखि ५५ बर्षका सबै महिलाहरुलाई उपस्थित हुन वडाध्यक्ष श्रेष्ठले अनुरोध गरेका छन् ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८