• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

रवि लामिछानेको चामत्कारिक छलाङले वैकल्पिक राजनीतिप्रति भरोसा जगाउला ?

  • खबरदाता

रवि लामिछानेको चामत्कारिक छलाङले वैकल्पिक राजनीतिप्रति भरोसा जगाउला ?

पुस १२, २०७९

 

कतिपय दसकौँ पुराना पार्टीले सत्ताको स्वाद लिन पाएका छैनन् । सत्तामा बारम्बार हालीमुहाली गरेका पार्टीबाट पनि कयौँ नेताहरू सत्ता चियाउन पनि पाएका छैनन् । तर राष्ट्रिय स्वतन्त्र पार्टीले यसपालि चमत्कार नै गर्‍यो । पार्टी गठनको ६ महिनामै उत्साहजनक मत पायो । अपत्यारिलो आकारमा संसदमा उपस्थिति दर्ज गर्‍यो । यति मात्र होइन, पहिलो प्रयासमै सरकारमा पुग्न सफल मात्र भएन, सभापति रवि लामिछानेले एकैपटकमा उपप्रधान तथा गृह मन्त्री हात पारेका छन् ।

गएको असारसम्म रवि लामिछाने एउटा टेलिभिजनको प्रबन्ध निर्देशक थिए । उक्त टेलिभिजन स्थापनाको एक वर्षमै आर्थिक रुपमा जर्जर भई रसातलमा पुग्न लागेको छ । रविको टिमले झण्डै एक अर्ब रुपैयाँबराबरको लगानी तलमाथि गरिदियो भन्दै संस्थापक अध्यक्ष जीबी राई अहिले पनि मुर्मुरिइरहेका छन् । केही सहकारीको रकम अपचलनको आरोप लागेपछि त जीबी राई अहिले भूमिगत अवस्थामा छन् । तर त्यही टेलिभिजनको जागिर छाडेर राजनीतिमा हामफालेका रवि लामिछाने मन्त्रिपरिषदमा शक्तिशाली ओहोदाका साथ प्रवेश गरेका छन् ।

लामिछाने मनोरञ्जन पत्रकारिता गर्दागर्दै अमेरिका गए । एक दशकभन्दा बढी उतै बसे । अमेरिका बस्दा पनि अनेक गतिविधिका कारण चर्चामा भने आइरहे । २०७० मा नेपाल आएर एउटा टिभीमा लगातार ६२ घण्टा टक सो चलाएर विश्व कीर्तिमान राखेर चर्चामा आए । त्यसपछि उनले सीमान्त जनताका समस्या एवं वैदेशिक रोजगारीका पीडालाई प्राथमिकतासाथ उठाएर टीभीमा कार्यक्रम चलाउन थाले ।वैदेशिक रोजगारीमा गएका नेपालीहरुले पाएको पीडा र उनीहरुको ठगीमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन निरन्तर लागे । कार्यक्रमकै प्रभावले कतिपय पीडितको उद्धार पनि भयो । टेलिभिजनमा चर्को स्वरमा धाराप्रवाह तरिकाले बोल्ने र समकालीन नेता तथा व्यवस्थाको कडा आलोचना गर्ने उनको शैली चर्चित मात्र भएन, यहीकारण उनी सबैतिर चिनिए । समाज, राजनीति र अर्थतन्त्रका बेथितिबाट वाक्क जनमत उनीतिर आकर्षित हुँदै गयो ।

यही आकर्षणबाट उत्साहित भएर गत असार ७ गते आफ्नै नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरे । वान म्यान आर्मी शैलीको उनको पार्टी मंसिर ४ को निर्वाचनमा अनपेक्षित मत ल्याउन सफल भयो । स्वयं उनकै पार्टीमा रवि एकजनासम्मले प्रत्यक्ष जित्छन् कि भन्ने आशा र आशंका सराबरी थियो । तर नतिजा त्योभन्दा कयौँ गुणा फरक आयो । स्वयं रविलाई चकित तुल्याउँदै उनको पार्टीले प्रत्यक्षतर्फ ७ सिट जित्यो ।लामिछाने आफू त चितवन–२ बाट अत्यधिक मतान्तरसहित निर्वाचित भए नै, अन्यत्र पनि स्वतन्त्र पार्टीका उम्मेदवारले मूलधारका पुराना दललाई आच्छुआच्छु पारे । एमालेले आफ्नो गढ मान्ने गरेको क्षेत्रमा लामिछानेले ४९ हजारभन्दा बढी मत ल्याउँदा एमालेका कृष्णभक्त पोखरेल तेस्रो भए । कांग्रेस उम्मेदवार ३४ हजारभन्दा बढी मतले पछि परे । स्वतन्त्र पार्टीले समानुपातिकतर्फ १३ सिट पायो । २० सिटसहित प्रतिनिधि सभामा चौथो शक्ति बनेकैले सभापति लामिछानेले सरकारमा महत्त्वपूर्ण जिम्मेवारी पाएका छन् ।

पहिलो प्रयासमै उपप्रधानमन्त्रीसहित गृह मन्त्रालयको नेतृत्व पाउनु चानचुने उपलब्धि होइन । राजनीतिक परिवर्तनका लागि जीवनभर संघर्ष र बलिदान गरेका अनि सत्तामा पुग्नका लागि पार्टी खोलेका धेरैले आजीवन प्राप्त गर्न नसकेको सफलता लामिछानेले ६ महिनामै पाएका छन् । उनले टीभीमा कार्यक्रम चलाउँदा सत्ता र शासकमाथि प्रश्न उठाउँथे । उनी अहिले जवाफ दिने ठाउँमा पुगेका छन् ।लामिछानेले कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्याका दोषी पत्ता लगाउन अधिकतम पहल गर्ने पहिलो निर्णय गरेका छन् । त्यस्तै उनको नागरिकता र राहदानीको वैधतामा प्रश्न उठिरहेका बेला उनले आफूमाथि निर्मम छानबिन गर्न गृह प्रशासन स्वतन्त्र रहेको प्रतिक्रिया दिएका छन् । आफूमाथि छानबिनमा प्रहरीलाई कुनै हस्तक्षेप नगर्ने र स्वतन्त्रतापूर्वक काम गर्न दिने भनेका छन् । तर प्रहरीले उनीमाथि छानबिन गर्ने कि स्यालुट हान्ने रु उत्तर सहज छैन ।

कुनै पद पाउनु आफैमा उपलब्धि होइन । यसअघिका धेरै नेताले पद पाउनुलाई नै उपलब्धि ठाने । त्यसैका निम्ति मरिहत्ते गरे । पुराना दलहरुले पनि सत्तामा पुग्नुलाई नै उपलब्धि ठाने । सत्ता गुमेपछि अहिले कांग्रेसमा मच्चिएको रडाकोले पनि यही देखाउँछ कि उनीहरुको नजरमा सत्ता नै अन्तिम सत्य हो र सत्ता गुम्नु भनेको सर्वस्व गुम्नु हो ।यथार्थमा पद पाउनुभन्दा ठूलो कुरो पदमा रहेर काम गर्नु हो । काम गरेर मात्र हुँदैन । त्यो काम नतिजामुखी हुनुपर्छ । बृहत्तर हितको निम्ति हुनुपर्छ । अझ रविले गर्ने कामले राजनीतिप्रति आशा फर्काउनुपर्छ । वैकल्पिक राजनीतिप्रति भरोसा जगाउनुपर्छ । समाजको कमजोर वर्गले पनि न्याय र सुरक्षाको प्रत्याभूति पाउनुपर्छ । तसर्थ उनलाई अब कान्छो उपप्रधानमन्त्री भएँ वा गृहमन्त्रीको पद पाएँ भनेर गमक्क फुलेर बस्ने छूट मात्र छैन । काम गरेर देखाउनुपर्ने चुनौती छ । काममा सफल भए मात्र उनले र उनको पार्टीले पाएको मतको औचित्य सावित हुनेछ ।

  • प्रकाशित मिति : पुस १२, २०७९, मंगलवार ०६:५२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८