• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

१० करोड भ्रष्टाचारका अभियुक्तलाई २ मुद्दामा एकसाथ सफाइ

  • खबरदाता

१० करोड भ्रष्टाचारका अभियुक्तलाई २ मुद्दामा एकसाथ सफाइ

पुस २,२०७९

 

 

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले २०७६ मंसिर मंसिर २७ गते विराटनगर भन्सार कार्यालय, मोरङका तत्कालीन प्रमुख भन्सार अधिकृत कृष्णबहादुर बस्नेतले १७ लाख रुपैयाँ घूस लिएको अभियोगमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गर्‍यो । बस्नेतले विदेशबाट सामान आयात निर्यात गर्ने क्यारिङ व्यवसायीसँग आयात गरिएका सामानहरु भन्सारबाट छुटाउने प्रयोजनको लागि उक्त घुस लिएको तथ्य प्रमाणित भएपछि अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) अनुसार स(प्रमाण मुद्दा दायर गरेको थियो । यस्तै घूसवापत लिएको रकम आफ्ना जेठान नवीनकुमार गौलीको नाममा रहेको नबिल बैंकको खातामा जम्मा गरेको देखिएकोले अख्तियारले गौलीलाई पनि मतियारका रुपमा मुद्दा चलाएको थियो ।

यति मात्र होइन, उनीहरूको सम्पत्ति र कारोबारको जाँच गर्दै जाँदा बस्नेतका नाममा घूस र कमिसन रकम उठाउने, विभिन्न व्यवसायहरुमा लगानी गर्ने, घरजग्गा किनेर रकम व्यवस्थापन र प्रयोग गर्ने गरेको पनि भेटियो । भोजपुरको षडानन्द नगरपालिका वडा नम्बर ११ स्थायी ठेगाना भई काठमाडौँको धुम्बाराही बस्ने बस्नेतसहित उनका नातेदारहरुको अकुत सम्पत्ति पनि अख्तियारले खोतलेको थियो ।

२०४५ सालमा लेखापाल पदमा सार्वजनिक सेवा प्रवेश गरी पछिल्लो समय उपसचिवको रुपमा तातोपानी भन्सार कार्यालयमा प्रमुख भन्सार अधिकृतको रुपमा कार्यरत बस्नेतले भ्रष्टाचार गर्ने र जेठान गौली लगायतका आफन्तको नाममा लुकाउने गरेको अख्तियारले फेला पारेको थियो । बस्नेतले सार्वजनिक सेवा प्रवेश गरेदेखि २०७६ असारसम्म समग्र आय र व्यय तथा लगानीको विश्लेषण गर्दा पारिश्रमिक बचत, घरजग्गा बिक्री, ऋण सापटी, घर बहाल, सेयर लाभांश, कृषि आय, भ्रमण भत्ता, सुन बिक्री, अंशबण्डाबाट प्राप्त आय, कमिसन तथा पुरस्कार, बिमा समेतबाट जम्मा १ करोड ७८ लाख २० हजार ९७५ रुपैयाँ वैध आर्जन गरेको देखियो ।

सोही अवधिमा उनले जग्गा खरिद तथा घर निर्माण, सुनचाँदी खरिद, ऋणको साँवा ब्याज भुक्तानी, सवारी साधन खरिद, विदेश भ्रमण, सेयर खरिद, छोराछोरीको अध्ययन खर्च, विभिन्न कर भुक्तानी, घर बहाल, सापटी, विद्युतीय उपकरण खरिद, बिमा प्रिमियम भुक्तानी, बैंक तथा सहकारीमा रहेको नगद मौज्दातसमेत गरी जम्मा ३ करोड १३ लाख ५९ हजार ७९३ खर्च तथा लगानी गरेको हिसाब निस्कियो ।

यस अवधिमा उनको आयभन्दा व्यय १ करोड ३५ लाख ३८ हजार ८१७ रुपैयाँ बढी देखिएको थियो ।बस्नेतले आफू भन्सारमा कार्यरत रहँदा विदेशबाट आयात गर्ने सामानहरुको भन्सार छुटाउँदा विभिन्न व्यापारी, क्यारिङ्ग व्यवसायी एवं भन्सार एजेन्टहरुसँग गैरकानुनी रुपमा घुस रिसवत उठाई त्यस्ता गैरकानूनी रकमहरु विभिन्न व्यवसाय गर्ने व्यक्तिहरु, विभिन्न पेसा व्यवसायमा काम गर्ने कर्मचारीहरु, व्यापारी एवं भन्सार एजेन्टहरुमार्फत् संखुवासभा खाँदबारी १ निवासी आफ्ना जेठान नवीनकुमार गौलीले प्राप्त गर्ने गरी निज र निजको परिवारका सदस्यहरु एवं खाँदबारी स्थित विभिन्न व्यापारीहरुको बैंक खाता समेतमा ९ करोड २१ लाख ५२ हजार ७९२ जम्मा गर्न लगाएको भेटियो । त्यसरी जम्मा गरिएका कतिपय रकमहरु बस्नेतले विभिन्न व्यक्ति तथा कम्पनीमा नगदै बुझाउने र सम्पत्ति शुद्धिकरण गर्ने र लुकाउने उद्देश्यले कम्पनीकै नामको बैंकको चेक एवं कम्पनीमा कार्यरत कर्मचारीमार्फत समेत गौलीले प्राप्त गर्ने गरी चेक तथा नगद जम्मा गर्ने गरेको समेत पाइयो ।

उनले जेठानका नाममा जग्गा जमिन खरिद गरी बकसको रुपमा फिर्ता लिने गरेको समेत देखियो । गौलीले प्राप्त गर्ने गरी पठाएका रकमहरु गौलीले खाँदबारीबाटै झिकी जग्गा खरिद, होटल व्यवसाय र अन्य व्यवसायमा लगानी गर्ने गरेका प्रमाण फेला परे । साथै गौलीले बस्नेत विराटनगर भन्सार कार्यालयमा रहँदाको अवधिमा खाँदबारी बजार र आसपास क्षेत्रमा करिब १०० रोपनी जग्गा खरिद गरेको, खाँदबारीमा नै करिब १० करोडको लागतमा आरती होटल निर्माण गरेको, अर्बिट इनर्जी प्रालिमा २ करोडभन्दा बढी लगानी गरेको देखियो । यसरी गरिएको लगानी रकम गौलीको ऋण, कृषि आय, जग्गा बिक्री समेतका विभिन्न शीर्षकबाट प्राप्त आयको तुलनामा अस्वाभाविक रुपमा बढी देखियो ।

बस्नेतको आफ्नै स्रोत नपुगेको रकम र जेठान गौलीको नाममा पठाएको स्रोत नखुलेको रकमसमेत गरी १० करोड ५६ लाख ९१ हजार ६०९ रुपैयाँ खर्च तथा लगानीको वैधानिक स्रोत खुलेन । अख्तियारले यो रकमसमेत भ्रष्टाचारबाट आर्जन गरेको निष्कर्षसाथ गैरकानूनी सम्पत्ति आर्जनको कुसरमा मुद्दा चलाएको थियो । श्रीमती सविता गौली बस्नेत, जेठान नवीनकुमार गौली, गौलीकी श्रीमती सकुन्तला र छोरा शुलभलाई पनि प्रतिवादी कायम गरी मुद्दा दायर गरेको थियो ।

विशेष अदालतका न्यायाधीशहरू श्रीकान्त पौडेल, बलभद्र बाँस्तोला र खुसीप्रसाद थारूको इजलासले दुवै मुद्दामा यी सबै प्रतिवादीलाई एकसाथ सफाइ दिएको छ । विशेषको यो टिम अभियुक्तलाई अस्वाभाविक रुपमा सफाइ दिएका कारण चर्चामा छ । पूर्ववर्ती कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीका पालामा राखिएका विशेषका यी न्यायाधीशले सिंगो न्यायालयकै छवि धूमिल हुने गरी फैसला गरिरहँदा न्यायपरिषद र न्यायिक नेतृत्वले मौनता साँधेकोमा न्यायिक वृत्तमा व्यापक टीका टिप्पणी भइरहेका छन् ।

सर्वोच्चमा गोलाप्रथाका कारण न्यायिक नेतृत्वले आफूअनुकूल निर्णय गराउन कठिन भइरहेका बेला कतै विशेष अदालतको सानो टिममार्फत् स्वार्थपूर्ति गरिरहेको त छैन भनेर वरिष्ठ कानुन व्यवसायी एवं विभिन्न तहका इमानदार न्यायाधीशहरुले चिया चर्चा गरेको पाइन्छ । ९८ प्रतिशत भ्रष्टाचार मुद्दामा अभियुक्तका पक्षमा फैसला गरेका कारण सिंगै न्यायालयकै आलोचना भइरहँदा हालका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पनि नदेखे(नसुनेझैँ गर्नुले आशंकालाई झन् बल पुर्‍याइरहेको छ ।

  • प्रकाशित मिति : पुस २, २०७९, शनिवार ०६:४० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८