• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

प्रधानमन्त्री बन्ने गगन थापाको बतासे महत्त्वाकांक्षा !

  • खबरदाता

प्रधानमन्त्री बन्ने गगन थापाको बतासे महत्त्वाकांक्षा !

मंसिर १५, २०७९

 

गगन थापा यतिखेर आफूलाई भावी प्रधानमन्त्री भन्दै हिँडेका छन् । चुनावमा भोट पनि उनले त्यही भनेर मागे । यसैका लागि आफूले अर्थशास्त्र पढेको गफ पनि दिए । अनि वर्ल्ड बैंकका केही कन्सल्ट्यान्ट र एमसीसीका एजेन्टलाई अघिपछि लगाएर प्रोजेक्ट प्रधानमन्त्री भन्दै हिँडेका छन् ।एक त प्रधानमन्त्री बन्ने योजना कुनै प्रोजेक्ट हुन सक्दैन । यो त सार्वभौम राष्ट्रको संसदले गर्ने निर्णय हो । जनअभिमतबाट बनेको शक्ति सन्तुलन र समीकरणको उत्पादन हो प्रधानमन्त्री । त्यसकारण गगनले घोक्रो फुलाएर कुर्लिएकै भरमा प्रधानमन्त्रीको पद पाउँछु भन्ने दिवास्वप्न मात्र हुनेछ ।

मतगणना सकिएको छैन । अहिलेसम्मको परिणाम हेर्दा कांग्रेसले एकल बहुमत पाएको छैन । कांग्रेसको एकल त छैन नै, मौजुदा सत्ता गठबन्धनका सबै सिट जोड्दा पनि बहुमत पुग्न मुस्किल छ । त्यसैले कस्तो समीकरण बन्छ र कांग्रेस सत्तामा जान पाउँछ कि पाउँदैन भन्ने पनि यकिन छैन । तैपनि गगनलाई प्रधानमन्त्रीको कुर्सीमा बस्न हतार भइसकेको छ । एक हिसाबले भन्दा सागर ढकालको दाबी र गगनको दाबीमा खास भिन्नता छैन, जसले प्रधानमन्त्री चयनको धरातलबारे नै जानकारी नभएजस्तो ।

कांग्रेसले सरकारको नेतृत्व पाउने नै भए पनि त्यसअघि उनी संसदीय दलको नेता चयन हुनुपर्छ । यसका लागि आफ्नै पार्टीभित्रको गणित अनुकूल हुनुपर्छ । भावी प्रधानमन्त्री को हुने भन्नेबारे पार्टीले आधिकारिक रुपमा कुनै निर्णय गरेको छैन । पार्टीको वैधानिक मञ्चमा औपचारिक छलफल पनि भएको छैन । यस्तो अवस्थामा बाहिरबाहिर कुर्लिँदै हिँडेका भरमा प्रधानमन्त्री पाइन्छ भन्ने मुकुन्दे सोच युवा नेता गगन थापामा कसरी हावी भयो भन्ने अर्को आश्चर्यजनक पक्ष छ ।यतिखेर प्रधानमन्त्रीका स्वाभाविक दाबेदार पार्टीका सभापति शेरबहादुर देउवा नै हुन् । उनले प्रधानमन्त्रीबाट पछि हट्नुपर्ने कुनै कारण छैन । किनभने, देउवासँग कांग्रेस महाधिवेशनको ताजा म्यान्डेट छ । आमनिर्वाचनबाट जनताबाट पनि अनुमोदित भएका छन् । उनकै पालामा कांग्रेसले संसदमा दोब्बर सिट बनाएको छ । यस्तो बेला उनी सर्लक्क पाखा लाग्नुपर्ने किन रु

अर्को, देउवा कांग्रेसका सभापति मात्र होइनन् । मौजुदा सत्ता गठबन्धनका साझा नेता हुन् । उनलाई गठबन्धनका पाँचै दलले स्वीकार गरेका छन् । गठबन्धन बनाएर चुनावमा गएपछि नयाँ सरकार बनाउँदा पनि गठन्धनले नै प्रधानमन्त्री चयनबारे छलफल गर्नेछ र स्वाभाविक रुपमा पहिलो प्रधानममन्त्री देउवा नै हुनेछन् । त्यसपछि मात्र शक्ति साझेदारीका अरु पाटामा छलफल हुनेछ ।गगनले यतिखेर पार्टीभित्रै पनि प्रधानमन्त्रीको दाबी गर्ने कुनै नैतिक वा राजनीतिक हैसियत राख्दैनन् । किनभने उनी पार्टीको महामन्त्री भएर चुनावभरिमा आफ्नो निर्वाचन क्षेत्रका चार किल्ला छाडेनन् । आफूबाहेक दोस्रो कुनै उम्मेदवारलाई जिताउन भूमिका खेलेनन् । कुनै बेला खुमबहादुर खड्काले ४० जिल्लाका उम्मेदवार जिताएर आफ्नो पक्षमा उभ्याउन सफल भएका थिए । अहिले गगनले कति उम्मेदवारलाई जिताए त ?

अर्को, गगनले आफ्नै निर्वाचन क्षेत्रको हिलो, धुलो, खाल्डा र अव्यस्थित बसोवासको समस्या समाधान गर्न सकेका छैनन् । तीनपटक सांसद भइसकेका र चौथो कार्यकालका लागि चुनिएका गगनको हैसियत र कार्यक्षमता के हो भनेर उनकै निर्वाचन क्षेत्रको वास्तविकताले बोल्छ । जाबो एउटा निर्वाचन क्षेत्र हेर्न नसक्ने गगनले कसरी देशै बनाउँछु भनेर डिँग हाँक्न सकेका रुगगन आफ्नो क्षेत्रमा कुनै उल्लेख्य काम गरेर वा लोकप्रियता हासिल गरेर जितेका उम्मेदवार पनि होइनन् । त्यहाँ एमालेले पनि कमजोर उम्मेदवार उठायो । एमालेका राजन भट्टराई ओली सरकारलाई बदनाम बनाएर लाभ उठाउने र निर्वाचन क्षेत्रमा उनलाई चुनावताका सहयोग गर्नेहरुलाई बेवास्ता गर्ने स्वार्थी नेताका रुपमा चिनिन्छन् । अर्कोतर्फ गगनले रवि लामिछानेसँग अघोषित तालमेल गरे । आफ्नो क्षेत्रबाट लामिछानेको पार्टीका उम्मेदवारको नाम फिर्ता लिन लगाएर अन्यत्र गगनले स्वतन्त्र पार्टीलाई सघाएको कुरा कांग्रेसभित्रै चर्चाको विषय बनिसकेको छ । पार्टी राजनीतिमा योभन्दा अनैतिक विषय अर्को के होला र रु

यी सबै प्रकरणलाई विचार गर्दा यतिखेर कांग्रेसबाट र गठबन्धनबाट प्रधानमन्त्रीका लागि पहिलो र स्वाभाविक दाबेदार देउवा नै हुन् । उनले दाबी छाडेपछि मात्र अरुको पालो आउँछ र त्यो रोलक्रममा गगनको नम्बर कति पर्छ भनेर पुछारबाट हेर्दै जानुपर्छ । त्यसैले गगनले तत्कालका लागि आफ्नो बतासे महत्त्वाकांक्षा थाती राखेकै जाति । कम्तीमा एकपटक मन्त्री भएर राम्रो कामबाट आफ्नो क्षमता प्रदर्शित गरी पार्टी सभापति भएर अनि प्रधानमन्त्री दाबी गर्दा मात्र स्वाभाविक हुनेछ ।

  • प्रकाशित मिति : मंसिर १५, २०७९, बिहीवार ०६:३२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८