कात्तिक २५, २०७९
निर्वाचन आयोगले आचारसंहिता उल्लंघनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जरिवाना गर्ने तयारी गरेको छ ।प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि २३ असोजमा गोरखा २ मा मनोनयन दर्ता गर्दा बाजागाजा ९पञ्चे बाजा० बजाएको विषयमा दुई पटक स्पष्टीकरण सोधेको आयोगले उजुरी छानबिनपछि आचारसंहिता उल्लंघन भएको ठहर गरेको छ । आचारसंहिता उल्लंघनमा प्रचण्डलाई पाँच हजार जरिवानाका लागि फाइल उठे पनि निर्णय भइसकेको छैन । आयोग स्रोतका अनुसार सम्भवतः आज शुक्रबार आयुक्तहरूको बैठकले जरिवानाको निर्णय गर्ने गरेको छ ।
आयोगले सुरुमा सोधेका स्पष्टीकरणमा प्रचण्डले आफूले बगाउन नलगाएको, योजना नबनाएको, स्वतस्फूर्त रूपमा भएको जवाफ दिएका थिए । जबकि, पञ्चेबाजा बजाएको भिडियो प्रचण्डको फेसबुक पेजबाटै लाइभ भएको थियो ।प्रचण्डको जवाफ चित्त बुझ्दो नभएको भन्दै आयोगले फेरि स्पष्टीकरण सोध्नुका साथै आफै छानबिन गरेको थियो ।
आयोगले जारी गरेको आचारसंहितमा २५ जनाभन्दा बढी लैजान नपाउने र बाजागाजा बजाउन पनि नपाउने प्रावधान छ । ‘निर्वाचनको उम्मेदवारको मनोनयन पेस गर्न जाँदा वा प्रचारप्रसारका लागि घरदैलो कार्यक्रम गर्दा उम्मेदवार, प्रस्तावक, समर्थकसहित २५ जनाभन्दा बढीको जुलुस लिएर जान नहुने र यसरी जाँदा बाजागाजा तथा झाँकीसहित जान नहुने,’ आयोगले दलहरूलाई दिएको निर्देशनमा भनिएको छ ।
निर्वाचन आयोगले गोरखा–२ का उम्मेदवार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई स्पष्टीकरण सोधेको छ ।निर्वाचन प्रचारप्रसारका क्रममा चुनाव चिह्न भएको टोपी प्रयोग गरेपछि आयोगले उहाँहरूलाई आयोगले स्पष्टीकरण सोधेको हो । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका चितवन–२ का उम्मेदवार रवि लामिछानेलाई पनि आयोगले स्पष्टीकरण सोधेको छ ।
आयोगले प्रचण्डलाई केही दिन अघि मात्र अर्को विषयमा स्पष्टीकरण सोधेको थियो । अध्यक्ष प्रचण्ड र उपाध्यक्ष नारायणकाजी श्रेष्ठ समेत उपस्थित कार्यक्रममा केही व्यक्तिले हँसिया हथौडा संकेत रहेको नेपाली टोपी प्रयोग गरेको सम्बन्धमा आयोगमा प्राप्त उजुरीका आधारमा स्पष्टीकरण सोधेको थियो ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८