• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

चुनाव आयो, गगनको घैँटोमा घाम लाग्यो

  • खबरदाता

चुनाव आयो, गगनको घैँटोमा घाम लाग्यो

भाद्र २८, २०७९

 

दुईदुईपटक सांसद भएर आफ्नो निर्वाचन क्षेत्रमा फर्केर नहेरेका कांग्रेसका सेलिब्रिटी महामन्त्री गगन थापालाई चुनाव लागेपछि कपन क्षेत्रको याद आएको छ । उनले सांसदको कार्यकाल सकिनु एक साता पनि बाँकी नरहेको दिन पारी धोबीखोला कोरिडोरको कपन–बुढानीलकण्ठ डुबान नियन्त्रणको कामका लागि सरकारको ध्यानार्षण गराएका छन् ।

प्रस्तावित धोवीखोला कोरिडोरको कपन–बुढानीलकण्ठ डुबान नियन्त्रण आयोजनासम्बन्धी अन्तरक्रिया कार्यक्रम राख्न लगाई फोटो खिचाएर उनले प्रचार गरिरहेका छन् । उनले धोवीखोला कोरिडोरको कपन–बुढानीलकण्ठ डुबान नियन्त्रण गर्न अहिले विभिन्न खण्ड–खण्डमा स्थानीय नगरपालिका, प्रदेश सरकार र उपत्यका विकास प्राधिकरणले समेत काम गरेको र अब एउटै आयोजनामार्फत् काम गर्नुपर्ने उपदेश पनि कार्यक्रममा दिए ।

कपन त्यही क्षेत्र हो, जहाँ आधा घण्टा सिमसिम पानी पर्नेबित्तिकै डुबानमा पर्छ । उज्ज्वल विकहरु ढलभित्रै हराउँछन् । गुड्दागुड्दैका मोटरसाइकल गुमनाम हुन्छन् । हिलो र धुलो खाने अनि दुर्घटनामा अंगभंग बेहोर्नेको त कुनै हिसाबै छैन । विगत १० वर्षदेखि लगातार यही क्षेत्रका सांसद र मन्त्रीसमेत भइसक्दा पनि गगनलाई कपन क्षेत्रको कहिल्यै याद आएन । याद आउँछ त केवल चुनावका बेला भोट माग्नुपर्ने भएर ।यसपालि गगनले कपन क्षेत्रबाट मत पाउन मुस्किल छ । जनस्तरमा उनका विरुद्धमा व्यापक आक्रोश छ ।

गगनले घरदैलोसमेत कुन नाक लिएर गर्ने भन्ने प्रश्न हरेक मतदाताले अहिले गरिरहेका छन् । यो बुझेर नै हुनुपर्छ गगन यसपालि निकै आत्तिएका छन् । कपन क्षेत्रका बासिन्दाको ध्यान तानेर केही लोकप्रिय कुरा गर्न उनी अहिले तम्सिएका छन् । लोयल्टी एकेडेमीदेखि बडेबडेवालाहरुले सार्वजनिक जग्गा र राजकुलोसमेत खाएको नदेखेझैँ गरेर गगन अहिले सबैलाई रिझाउने अभिव्यक्ति दिँदै नदी किनारमा बनेका संरचनाको संरक्षण गर्नुपर्ने भनिरहेका छन् । उनको यो अभिव्यक्ति सरासर भूमाफियाको पक्षपोषण हो । उनले भनेका छन्, ‘कोरिडोर क्षेत्रमा भएका खण्ड–खण्डका कामहरु सबै अब बन्ने आयोजनाअन्तर्गत ल्याउनुपर्छ । कोरिडोर क्षेत्रमा २ आना र ५ आना जग्गामा सयौँ घरहरु बनेकाले बनेका घरहरुको समेत संरक्षण गर्ने गरी मास्टर प्लान बनाउनपर्छ ।’ उनको यो भनाइ केवल मतदातार सिझाउने काइदा मात्र हो । अब यसले काम गर्नेवाला छ । बारम्बार झुट बोलेर कपनवासीलाई लोप्पा खुवाइसकेका छन् उनले ।

चुनाव जित्न र सार्वजनिक खपतका निम्ति आकाशपाताल जोड्न खप्पिस गगन अहिले केवल गफाडीमा परिणत भएका छन् । गगनले चुनाव जित्न केके हत्कण्डा अपनाउँछन् भन्ने पनि कपनवासीले बुझिसकेका छन् । गगनले संसदीय निर्वाचनमा आफू हार्ने निश्चित भएपछि सहानुभूति बटुल्न एकताका कृत्रिम विष्फोट गराएका थिए र त्रिवि शिक्षण अस्पतालमा गएर घाउ नै नभए पनि सेतो पट्टी बाँधेर कृत्रिम आँसु झारेर अस्पतालको शय्याबाट भिडियो सन्देश दिएर भोट मागेका थिए । अघिल्लो चुनावमै पनि एमालेका राजन भट्टराईले उनलाई हराउने निश्चितजस्तै थियो । गगनसँग कपनवासीको आक्रोशले सीमा नाघिसकेको थियो र कपन क्षेत्रबाटै उनी लखेटिएका थिए । पछि उनले त्यसैलाई आफ्नो सहानुभूति बटुल्ने अस्त्रका रुपमा उपयोग गरे र सारा मिडिया परिचालन गरी एमालेविरुद्ध त्यस घटनालाई प्रयोग गरेका थिए ।

यसपालि गगनप्रति आक्रोश झन् बढेको छ । किनभने उनले आफ्ना मतदातासँग कहिल्यै दोहोरो संवाद गरेनन् । आफ्ना मतदाताको मनोभावना बुझ्ने प्रयास कहिल्यै गरेनन् । केवल मत झार्ने मेसिनका रुपमा कपनलाई बुझिदिए । अनि कपनवासीको असन्तुष्टिलाई यदाकदा उनले एमालेविरुद्ध प्रयोग गर्ने हतियारका रुपमा उपयोग गरे । त्यही भएर उनी एमाले सरकार हुँदा सडक विभाग र विभिन्न निकायमा धर्ना बस्छन् अनि कांग्रेस सरकार आएपछि दुला पस्छन् । अहिले उनी दुलाबाट निस्केर नयाँ नाटक मञ्चन गरिरहेका छन् । जसमा न कुनै कला छ, न त संवेदना नै । त्यसैले यसपालि कपनवासीले गगनलाई असली स्वाद चखाइछाड्नेछन् ।

  • प्रकाशित मिति : भदौ २८, २०७९, मंगलवार ०६:२८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८