• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

महाभियोगकको केन्द्रमा ललितानिवास, चोलेन्द्रको बयान लिने विष्णु पौडेल

  • खबरदाता

महाभियोगकको केन्द्रमा ललितानिवास, चोलेन्द्रको बयान लिने विष्णु पौडेल

भदौ १९, २०७९

 

कहीँ नभएको जात्रा हाँडीगाउँमा भनेझैँ अहिले संसदको महाभियोग सिफारिस समितिमा देखिँदै छ । सांसदहरु आफै धामी र आफै बोक्सीको भूमिकामा देखिएका छन् भने निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले ती सांसद र समितिको वैधतामाथि प्रश्न उठाएर समय गुजारिरहेका छन् । आफूविरुद्धका आरोपको प्रतिवाद गर्ने आवश्यकता नै उनले देखिरहेका छैनन् ।

समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई बोलाएर दुई दिन बयान लिइसकेको छ । प्रतिनिधि सभाले गठन गरेको ११ सदस्यीय समितिमा महाभियोग प्रस्तावमा हस्ताक्षर गर्ने ५ जना सांसद छन् । यस्तै अदालतमा विचाराधीन रहेको ललिता निवास जग्गा घोटाला प्रकरणमा जोडिएका एमाले सांसद विष्णु पौडेल पनि सोही समितिमा बसेर राणाको बयान लिइरहेका छन् ।

राणाले आफूमाथि महाभियोग आउने मुख्य कारणमध्ये एक बताएको ललिता निवास जग्गा घोटालाकै आरोपित छानबिन समितिमा बसेर कसरी निष्पक्ष भूमिका खेल्छन् भनेर प्रश्न उठेको छ । किनभने यस महाभियोग प्रकरणमा ललिता निवास जग्गा घोटाला प्रत्यक्ष जोडिएको राणाले खुलस्त भनेका छन् । हालको सत्ता गठबन्धनमा रहेका माधव नेपाल र बाबुराम भट्टराईविरुद्ध अख्तियारले मुद्दा नचलाएपछि त्यसमाथि परेको रिटको अन्तिम सुनुवाइ हुनै लाग्दा आफूलाई हटाउन महाभियोगको अस्त्र चलाएको राणाले समितिसमक्ष नै बताएका छन् । त्यही समितिमा बसेर एमाले उपाध्यक्ष विष्णु पौडेलले कुन नैतिकताका आधारमा राणाको बयान लिइरहेका छन् भनेर अहिले सर्वत्र प्रश्न उठिरहेको छ ।

किनभने विष्णु पौडैलका छोरा नवीन पौडेलका नाममा बालुवाटार ललितानिवासको ८ आना सरकारी जग्गाको लालपुर्जा बनेको छ । अझ सय जना सांसद भएको एमालेले अरु कोही नभएजस्तो गरेर छानीछानी तिनै पौडेललाई त्यस भूमिकामा किन पठायो रु अर्को आश्चर्यको विषय छ ।त्यसो त महाभियोग प्रस्ताव गर्ने ९८ सांसदमध्येकै ५ जना छानबिन समितिमा छन् । गत फागुन १ गते सत्तापक्षका ९८ सांसदले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध २१ बुँदे महाभियोग प्रस्ताव संसद सचिवालयमा दर्ता गराउनेमध्येकै सांसदलाई सिफारिस समितिमा राखेर प्राकृतिक न्यायसम्बन्धी विधिशास्त्रकै धज्जी उडाइएको छ ।

फागुन २२ मा प्रतिनिधि सभाले गठन गरेको ११ सदस्यीय महाभियोग सिफारिस समितिमा ५ जना त हस्ताक्षरकर्ता सांसद नै रहेको कुरालाई राणाले समितिमा जोडतोडले उठाएका छन् । उनको यो तर्कले महाभियोग र छानबिनलाई न्यायिक र कानुनी रुपमा झनै कमजोर बनाइरहेको छ ।आफ्नो मुद्दामा आफै न्यायाधीश हुन पाइँदैन भन्ने प्राकृतिक न्यायको सिद्धान्तप्रति देशको सार्वभौम थलोले कत्ति पनि विचार नपुर्‍याएको यसबाट देखिन्छ । त्यसैले महाभियोग प्रस्तावमा हस्ताक्षरकर्ता सांसद नै समितिमा बसेको कुरालाई लिएर राणाले बयान दिने क्रममा बारम्बार उठाएका छन् र उनीहरुको भूमिकामाथि पटकपटक प्रश्न उठाएका छन् ।

यसबाट अर्को के पनि छर्लंग हुन्छ भने राणामाथिको छानबिनलाई न राजनीतिक दलले गम्भीरतासाथ लिएका छन्, न त समितिमा रहेका सांसदहरूले नै । महाभियोग यही महिनाभित्र टुंग्याउनुपर्ने भएकाले यसै पनि समयको चाप छ । तर बिहीबार २ घण्टा मात्र बयान लिएर ३ दिनपछि बैठक बोलाएर समितिले यसलाई खासै महत्त्व नदिएको सन्देश प्रवाह गरेको छ । आफूलाई नैतिकता र दायित्वको कसीमा राखेर विवादरहित तवरमा जिम्मेवारी पूरा गर्नेतिर कसैको ध्यान देखिँदैन । अझ आफै महाभियोग प्रस्ताव ल्याएर बयान लिन बस्नु र राणाले उठाएका विवादित प्रकरणमा प्रत्यक्ष स्वार्थ जोडिएका सांसद नै छानबिन समितिमा रहनुले यसलाई विश्वसनीय प्रक्रियाबाट तार्किक निष्कर्षमा पुर्‍याउन नभई निहित स्वार्थपूर्तिका लागि मात्र महाभियोग अगाडि बढाएको सन्देश दिइरहेको छ ।

समिति गठन भएको ६ महिना पुग्न लाग्दा पनि काम थालेको तीन साता मात्र हुँदै छ । ११ सदस्यीय समितिका अधिकांश सदस्यको राणासँग स्वार्थ बाझिने देखिन्छ । यसले छानबिनको निष्पक्षतामा सधैँ प्रश्न उठाउने त ठाउँ बनेकै छ, गम्भीर विचलन र विवादमा मुछिएका प्रधानन्यायाधीशमाथिको महाभियोगलाई दलका नेताहरुले कति हलुंका ढंगले लिएका छन् भन्ने पनि छर्लंग पार्छ ।

  • प्रकाशित मिति : भदौ १९, २०७९, आइतवार ०६:३० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८