भदौ १०, २०७९
काठमाडौँ । पुनर्विचारका लागि पठाएको नागरिकता विधेयक प्रतिनिधि सभाबाट जस्ताको तस्तै पारित भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले छलफल र भेटघाटलाई तीब्रता दिएकी छन् । राष्ट्रप्रमुखका सुझाव र सन्देशलाई सरकारले हार्दिकतापूर्वक ग्रहण गर्नुको साटो उल्टै सन्देशको पोकोसमेत नखोली बालुवाटारमा केही नेता बसेर इन्कार गर्ने निर्णय बाहिरिएदेखि नै शीतलनिवासको नाकमा ठेस लागेको थियो । लगत्तै प्रतिनिधि सभाबाट द्रूत प्रक्रियाबाट विधेयक पारित गरिएपछि त्यसले राष्ट्रपति भण्डारीको बेचैनी झनै बढाएको छ । र, उनी दिनदिनै विभिन्न समुदाय र क्षेत्रका प्रतिनिधि, विज्ञ एवं सरोकारवालालाई बोलाउँदै सघन परामर्शमा जुटेकी छन् ।
प्रधानमन्त्री देउवाले राजीनामाको चर्चा सुनेको भन्दै सेनाका अधिकारीसँग भएको भेटबारे जानकारी लिन नपाएको बताए । अर्थात्, नागरिकता विधेयकलाई लिएर राजनीतिक ध्रुवीकरण भइरहेका बेला शीतलनिवासको सक्रियताले गठबन्धनमा झस्का पसेको छ । अब राष्ट्रिय सभाबाट पनि पारित भएर पठाए राष्ट्रपतिले प्रमाणीकरण गर्ने हुन् कि होइनन्, वा अरू कुनै कदम चाल्ने पो हुन् कि भनेर गठबन्धन झस्किएको छ । गठबन्धनकै एक घटक एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले त शीतलनिवासको सक्रियताले कुनै अनिष्टको संकेत गरेको सार्वजनिक कार्यक्रममा बताए । कांग्रेस नेता रामचन्द्र पौडेलले सञ्चारकर्मीसँग अनौपचारिक कुराकानीमा भने– राष्ट्रपतिले व्यवस्था नै उल्टाउने प्रयास गर्दै छन् । हालै प्रचण्डको छत्रछायामा पुगेका पूर्वमाओवादी नेता बाबुराम भट्टराईले चुनावको मुखमा राष्ट्रवादी उत्तेजना फैलाएर अमूक दल वा नेतालाई सघाउन खोजेको आरोप लगाउँदै सामाजिक सञ्जालमा लेखेका छन् ।
राष्ट्रपतिले विभिन्न पक्षसँगको छलफलमा आफूमाथि नैतिक संकट आइलागेको बताएकी छन् । कतिपयले यसलाई उनले राजीनामाकै मनःस्थिति बनाएको भनेर पनि अर्थ्याएका छन् । सत्ता गठबन्धनले पनि यही बुझेको छ ।राष्ट्रपति भण्डारीको कार्यकाल आउँदो चुनावसँगै सकिँदै छ । दुईपटक राष्ट्रपति भइसकेकी भण्डारी यसबीचमा धेरै कारण आलोचना र विवादको केन्द्रमा पनि रहिन् । अहिले कार्यकालको उत्तरार्धमा जनमत नै विभाजित बनेको नागरिकता विधेयकमा देखाएको सक्रियताले पुनः दलीय राजनीतिमा फर्किने पृष्ठभूमि तयार गर्न खोजेको भनेर पनि कतिपयले बुझेका छन् ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८