रसुवा बाढीलगत्तै हुने चोरी, लुटपाट र ठगीजस्ता अराजक गतिविधिलाई नियन्त्रण गर्न प्रहरीले सुरक्षा घेरा कसिलो बनाएको छ । प्रहरीले यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूलाई विभिन्न ठाउँबाट पक्राउ गरेको छ ।
बाढीले बगाएर नारायणी नदीमा ल्याएको एक महिलाको शवबाट सुनको मुन्द्रा तथा गहना निकाल्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । प्रहरीले अनुसन्धान गरेर चितवनको मदनपुरका २५ वर्षीय मदन गुरुङ र ३८ वर्षीय उमेश चौधरीलाई पक्राउ गरेको थियो । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
विपद्को समयमा पीडितमाथि हुने यस्ता लुटपाट र अमानवीय गतिविधि कुनै पनि हालतमा सह्य नहुने प्रहरीले जनाएको छ ।
यस्तै, बाढीले बगाएर धादिङको गल्छी गाउँपालिका–४, बेल्खुखोलास्थित त्रिशूली नदी किनारमा फेला परेको बैंकको पैसा राख्ने सेफ तोडेर नगद रकम हिनामिना गरेको आरोपमा २९ स्थानीयलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूबाट ९२ लाख ६८ हजार ५०५ रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।
यसैगरी, बाढीका पीडितहरूका नाममा नक्कली पोस्ट बनाएर सामाजिक सञ्जाल फेसबुकमार्फत रकम असुल गर्न खोज्ने रामेछापको गोकुलगंगा–२, ठोसे बजार बस्ने ३२ वर्षीय सृजन कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।
गल्छी–६, बैरेनी बजारस्थित सडक सफा गर्ने क्रममा बालुवा र लेदोले पुरिएको अवस्थामा १९ इन्च लम्बाइ र १६ इन्च चौडाइ भएको बन्द सेफ फेला परेको प्रहरीले जनाएको छ । उक्त सेफलाई प्रहरी चौकी बैरेनीमा सुरक्षित राखिएको छ ।
परेवाटार मलेखु–त्रिशूली नदीको बगरमा पनि नफोडेको अवस्थामा अर्को एउटा सेफ फेला परेको छ । मलेखु खोलामा देखिएको अर्को सेफ निकाल्ने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८