वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन अनुसार सन् २०२६ जुलाई १७ देखि अगस्ट १६ (साउन महिना) सम्मको अवधिमा ७० हजार ४ सय ४१ नेपालीले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति पाएका छन् ।
विभागको तथ्याङ्क अनुसार यस अवधिमा श्रम स्वीकृति लिनेमा पुरुषको संख्या ६० हजार ४ सय ७२ र महिलाको संख्या ९ हजार ९ सय ६९ रहेको छ ।
कुल स्वीकृत संख्यामध्ये नयाँ श्रम स्वीकृति लिने (पुनः श्रम स्वीकृति बाहेक) नेपालीको संख्या ४२ हजार ६ सय ९३ रहेको छ, जसमा ३६ हजार ३ सय ३९ पुरुष र ६ हजार ३ सय ५४ महिला छन् । त्यसैगरी, २७ हजार ७ सय ४८ जनाले पुनः श्रम स्वीकृति लिएका छन्।
नेपाली कामदारका लागि प्रमुख गन्तव्य मुलुकका रूपमा युनाइटेड अरब इमिरेट्स देखिएको छ । साउन महिनामा मात्रै युएईका लागि १८ हजार ७ सय ८४ जनाले श्रम स्वीकृति पाएका छन्। दोस्रो प्रमुख गन्तव्यका रूपमा मलेसिया रहेको छ, जहाँ १२ हजार ४ सय ९८ जना जान लागेका छन्।
अन्य देशहरूमध्ये कतारमा १० हजार ३६०, साउदी अरबमा ८ हजार ६१३, कुवेतमा ४ हजार ५६७, रोमानियामा २ हजार ९०८ र जापानका लागि १ हजार २४४ जनाले श्रम स्वीकृति लिएका छन् । यसका साथै पोर्चुगल, टर्की, साइप्रस र माल्दिभ्स लगायतका देशहरूमा पनि नेपालीहरू रोजगारीका लागि जान लागेको तथ्याङ्कले देखाउँछ।
विभागको तथ्याङ्क अनुसार वैदेशिक रोजगारीमा जानेहरूमध्ये अधिकांश दक्ष श्रेणीका रहेका छन् । कुल ७० हजार ४ सय ४१ मध्ये ४० हजार ४ सय ९६ जना दक्ष कामदारका रूपमा श्रम स्वीकृति लिनेहरू छन् ।
साथै, सो अवधिमा अदक्ष १७ हजार ९९९ जना, अर्ध-दक्ष ११ हजार ४६५ जना, व्यावसायिक ३७८ जना र उच्च दक्ष १०३ जनाले श्रम स्वीकृति लिएको विवरणमा उल्लेख छ ।
वैदेशिक रोजगारीमा जानेहरूको जिल्लागत तथ्याङ्क हेर्दा मधेश प्रदेश र कोशी प्रदेशका जिल्लाहरूबाट धेरै मानिस बाहिरिएको देखिन्छ । सबैभन्दा बढी धनुषा जिल्लाबाट ३ हजार ३ सय ६८ जनाले श्रम स्वीकृति लिएका छन् ।
सो अवधिमा इजाजतपत्र प्राप्त म्यानपावर कम्पनी मार्फत २९ हजार ४ सय ४७ जनाले अनुमति पाएका छन् । व्यक्तिगत रूपमा नयाँ जानेको संख्या १२ हजार ४ सय ४२ छ भने सरकारी स्तरको सम्झौता मार्फत ७ सय १२ जनाले रोजगारीको अवसर पाएका छन् । साथै, वैधानिकीकरण मार्फत ९२ जनाले श्रम स्वीकृति प्राप्त गरेका छन्।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८