• असोज १, २०८१, मंगलवार Tuesday, 17 September, 2024

कोरोना कहरमा के गर्दैछन् काठमाडौंका स्थानीय सरकार ?

  • संबाददाता

कोरोना कहरमा के गर्दैछन् काठमाडौंका स्थानीय सरकार ?

आश्विन–१४,२०७७

काठमाडौं । देशभर कारोेना संक्रमितको संख्या घटिरहँदा काठमाडौंमा भने दैनिकजसो बढ्दै गएको छ । बुधबार देशभर १ हजार ५ सय ५९ जना संक्रमित थपिँदा उपत्यकामा मात्रै ९ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बुधबारको तथ्यांकअनुसार काठमाडौंमा संक्रमितका संख्या १९ हजार ३२ पुगेको छ । हालसम्म काठमाडौंमा मात्र ९४ जनाको मृत्यु भइसकेको छ ।
कोरोना भाइरस नियन्त्रणका लागि काठमाडौं जिल्लाका स्थानीय सरकारहरूले पहल गरिरहेका छन् । आइसोलेसन वार्ड निर्माण गर्नेदेखि पोषण भत्तासमेतको व्यवस्था गर्दै आएका छन् ।

टोखा नगरपालिकाको पोषण भत्ता

टोखा नगरपालिकाकले संक्रमितलाई होम आइसोलेसनमा बस्न प्रेरित गर्नका लागि पोषण भत्ताका व्यवस्था गरेको छ । नगरपालिकाका प्रमुख प्रकाश अधिकारीका अनुसार गत भदौ ३ गतेको नगर कार्यपालिकाको बैठकले आइसोलेसन बनाउने निर्णय गरेको थियो । सोहीअनुसार १७ बेडको आइसोलेसन तयार भयो ।

होम आइसोलेसन बस्न समस्या हुनेहरूका लागि आइसोलेसनमा पहिलो प्राथमिकता दिइयो । होम आइसोलेसन बस्नेहरूका लागि टोखा नगरपालिकाले प्रतिव्यक्ति ३ सय ५० का दरले पोषण भत्ता दिने निर्णण गरेको थियो ।

हालसम्म ९० जनालाई पोषण भत्ता दिइएको छ । अधिकारी भन्छन्, ‘कतिपय अवस्थामा आफंैले रकम पुर्याएका छौं ।

टोखामा हालसम्म ४ हजार ५ सयको पीसीआर परीक्षण गरिएकामा ८ सय २५ जना संक्रमित फेला परेका छन् भने ३ जनाको मृत्यु भएको छ ।

कीर्तिपुरले बनायो क्वारेन्टाइनलाई आइसोलेसन

कीर्तिपुर नगरपालिकाले जनस्वास्थ्य कार्यालयमा रहेको २ सय बेडको क्वारेन्टाइनलाई आइसोलेसन बनाएको छ । नगरप्रमुख रमेश महर्जनका अनुसार त्रिभुवन विश्वविद्यालयको रिसर्च सेन्टरलाई समेत २ सय बेडको आइसोलेसन बनाइएको छ ।

नगरपालिकाभित्रै पीसीआर ल्याब सञ्चालनको तयारीमा रहेको महर्जनले जानकारी दिए । सो नगरपालिकामा ६५ जनामा कोरोना संक्रमण देखिएको छ । नगरको होम आइसोलेसनमा ६० जना रहेको महर्जनले बताए ।

कोरोना मुक्त बन्यो दक्षिणकाली

दक्षिणकाली यतिबेला कोरोना मुक्त नगरपालिका बनेको छ । केही दिनअघि नगरपालिकाभित्र ३३ जना कोरोना संक्रमित रहेका थिए । नगरपालिकाले निर्माण गरेको आइसोलेसनमा बसेर संक्रमित निको भई घर फर्केको नगरप्रमुख मोहन बस्नेतले जानकारी दिए ।

त्यसपछि नयाँ संक्रमित भने फेला परेका छैनन् । नगरपालिकाले ३ बेडको आइसोलेसन निर्माण गरेको छ ।

कागेश्वरी मनोहराद्वारा साताको दुई पटक कोरोना टेस्ट

कागेश्वरी मनोहरा नगरपालिकाले साताको दुई दिन कोरोना परीक्षण गरिरहेको छ । संक्रमणलाई समुदायमा फैलिन नदिन नगरपालिकाले सो कार्य गरेको नगरकी उपप्रमुख बिन्दु सिम्खडाले जानकारी दिइन् ।

उनका अनुसार ६० बेडको आइसोलेसन तयारी अवस्थामा छ । साथै, २५ बेडको क्वारेन्टाइन पनि तयारी अवस्थामा छ । कागेश्वरी मनोहरा नगरपालिकामा ३ सय २२ जना संक्रमित छन्, जसमध्धे २ सय २१ होम आइसोलेसनमा रहेका छन् भने ३४ जना अस्पतालमा छन् । उनका अनसार होम आइसोलेसनमा बसेकाहरूको पुनः स्वाब परीक्षणका लागि स्वास्थ्यकर्मी खटाइएको छ ।

गोकर्णेश्वर नगरपालिकाले बनायो ७१ शैयाको आइसोलेसन

गोकर्णेश्वर नगरपालिकाले ७१ शैयाको आईसोलेसन तयार पारेको उपप्रमुख शान्ति नेपालले जानकारी दिइन् । उनका अनुसार नगरपालिकामा ४ सय ५८ जनामा कोरोना देखिएको थियो । हाल ७१ जना सक्रिय संक्रमित रहेका छन् ।

चन्द्रगिरि नगरपालिकाले बनायो बाहिरबाट आउनेलाई क्वारेन्टाइन

यो नगरपालिकाले काठमाडौं बाहिरबाट आएकालाई लकडाउनको सुरु अवस्थादेखि क्वारेन्टाइनमा राख्दै आएको छ । नगरपालिकाले जनप्रतिनिधि, स्वास्थ्यकर्मी र कर्मचारी, १० वटा एम्बुलेन्स चालकको १० लाखको बिमा गरेको नगरप्रमुख घनश्याम गिरीले जानकारी दिए ।

कोरोना पोजेटिभ देखिएका बिरामीलाई होम आइसोलेसन र घर बस्ने सुविधा नभएकालाई नगरले बनाएका आइसोलेसनमा राखिएको छ ।

तारकेश्वर नगरपालिकाले दियो होम आइसोलेसनमा बस्नेलाई ५ हजार

तारकेश्वर नगरपालिकाले संक्रमितलाई होम आइसोलेसनमा बस्न प्रेरित गर्नका लागि प्रतिव्यक्ति ५ हजार पोषण भत्ताको व्यवस्था गरेको छ । नगरपालिकाका उपप्रमुख भवानी डोटेल धितालका अनुसार सो रकम र स्वास्थ्य सामग्री १ सयलाई वितरण गरिएको छ । ५० बेडको क्वारेन्टाइनका साथै २५ बेडको आइसोलेसन तयार पारिएको छ । हालसम्म ४ सय ९४ जना संक्रमित छन् ।

नागार्जुन नगरपालिका, बूढानीलकण्ठ नगरपालिका, शंखरापुर नगरपालिकाले पनि संक्रमण नियन्त्रणका लागि आइसोलेसन निर्माण गरेका छन् । परीक्षणको दायरा बढाउँदै लगेका छन् । – पालिका

  • प्रकाशित मिति : असोज १४, २०७७, बुधवार १२:१८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८