मनाङ । मनसुन सकिएपछि यति बेला हिमाली जिल्ला मनाङको मौसम खुलेको छ । मौसम खुल्ने समयको सुरुआतसँगै यहाँ विदेशी पर्यटकको आगमन हुने गर्छ । यो मौसमलाई पर्यटक आउने यामका रूपमा पनि लिइन्छ ।
यो वर्षको याम सुरुआतसँगै पहिलो अर्थात् डेढ महिनामा सात हजार बढी पर्यटकको आगमन भएको अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना (एक्याप) एकाइ कार्यालयले जनाएको छ । डेढ महिनामा सात हजार ४६१ पर्यटकको आगमन भएको एक्यापका संरक्षण शिक्षा सहायक भूपेन्द्र गुरुङले जानकारी दिए ।
उनका अनुसार, याम सुरु भएपछि इजरायलका एक हजार १२७, जर्मनीका ५०१, बेलायतका ४६६ र अस्टे«लियाका ४४१ जनाले मनाङअन्तर्गत अन्नपूर्ण पदमार्ग, थोराङ्ला भञ्ज्याङ ९पास०, लार्के भञ्ज्याङ ९पास०, तिलिचो तालको भ्रमण गरेका छन् ।
“ती देशसँगै विश्वका ८७ देशका नागरिकले मनाङका रमणीय स्थानको भ्रमण गरेका छन् । निराश भएका मनाङवासीका साथै देशकै अर्थतन्त्रले गति लिने अपेक्षा गरिएको छ,” संरक्षण शिक्षा सहायक गुरुङले भने ।
‘जेनजी’ आन्दोलन र मनसुनको अन्त्यमा बाढीपहिरोका कारण पर्यटकको आगमनमा समस्या भएकामा अहिले चहलपहल हुन थालेको पर्यटन व्यवसायी संघका अध्यक्ष विनोद गुरुङले बताए । उनले भने, “मनाङको आयस्तरले देशकै अर्थतन्त्रमा प्रभाव पार्ने गर्छ । जेनजी आन्दोलनले विदेशी पर्यटकले बुकिङ गरेका होटेल पनि फिर्ता लिइरहेका थिए । अहिले देशमा शान्ति कायम हुँदै गएपछि आगमन बढ्दै गएको छ ।”
बुकिङ रद्द गरिएका होटेल अहिले भरिन थालेका व्यवसायी नवीनविक्रम सिंहले बताए । उनले भने, “जति पर्यटकको आगमन हुनुपर्ने हो, त्यति भएको छैन । तर, अहिले केही मात्रामा विदेशी पर्यटकको आगमनचाहिँ भएको छ ।”
विशेष गरी देशकै ठूलो मानिएको हिल्टन होटेल जलाइएपछि पर्यटक बढी त्रसित भएको हुन सक्ने पर्यटन तथा होटेल व्यवसायीको अनुमान रहको उनको भनाइ छ ।
यो समयमा मनाङका सडक तथा पदमार्गमा पर्यटक प्रशस्त देखिन्थे । तर, यो वर्ष त्यति छैनन् । पूर्ण रूपमा पर्यटकको आगमन पनि हुन सकेको छैन ।
हिमाल, पहाडका दृश्य, मनाङवासीको संस्कार, संस्कृति, रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्न पर्यटकको आगमन हुने गर्छ । साथै विश्वकै १०औँ स्थानमा पर्ने जोखिमयुक्त पदमार्गमध्येको अन्नपूर्ण पदमार्गमार्फत पर्यटक मनाङबाट थोराङ्ला भञ्ज्याङ पार गरी मुस्ताङ हुँदै पोखरा पुग्ने गर्छन् ।
अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङको बेँसीसहर नगरपालिका–७, मनांगे चौताराबाट यात्राको सुरुआत हुन्छ । अन्नपूर्ण पदमार्गमा लमजुङसहित मनाङ, मुस्ताङ, म्याग्दी र कास्की जिल्ला जोडिएका छन् ।
काठमाडौंदेखि बेँसीसहरसम्म सवारीसाधनमा पर्यटक आउने गर्छन् । पछिल्लो समय सडक यातायात सहज भएपछि सवारीसाधनमा नै चामे, खाङ्सारसम्म पुग्ने गरेको पाइन्छ । त्यसपछि मात्र मुख्य गन्तव्यतर्फ पदमार्गको यात्रा गर्ने गरेको भेटिन्छ । रासस
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८