• कात्तिक २, २०८२, आइतवार Sunday, 19 October, 2025

कार्तिक कृष्ण त्रयोदशी : आज कागतिहार

  • खबरदाता

कार्तिक कृष्ण त्रयोदशी : आज कागतिहार

प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने कागतिहार पर्व आज (कात्तिक २) बिहान यमराजको दूतका रूपमा कागलाई मिठोमिठो चिजबिज खान दिएर मनाइँदै छ ।

बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन कागतिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रूपमा आज यो पर्व मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा। शम्भुप्रसाद ढकालले जानकारी दिए ।

यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रूपमा मान्ने शास्त्रीय विधान छ । कागले यमराजसमक्ष राम्रो खबर लगिदिओस् भनेर पूजा–आराधनासहित मिठोमिठो खान दिई खुसी पार्ने गरिएको हो ।

लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने प्रचलन समेत छ । काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वास समेत गर्ने गरिन्छ ।

‘काकेन दधि भक्षितम्’ अर्थात् कागलाई दही भात मिठो लाग्ने हुन्छ । आजको दिन कागलाई दही भात खुवाएमा यमराजसमक्ष राम्रो सन्देश लगिदिने मानिन्छ । त्यसैले कागलाई दही भात खुवाउने प्रचलन रहिआएको छ ।

यस अवसरमा कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित कागेश्वरी महादेव मन्दिरमा आज विशेष पूजा–आराधना हुने गर्छ ।

यस्तै, हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा पनि कागको विशेष पूजा–आराधना गरिन्छ । यहाँ कागको ठूलो मूर्ति बनाइएको छ ।

यस वर्ष तिथिको घटबढका कारण सायंकालमा कार्तिक कृष्ण त्रयोदशी परेका दिन सुरु हुने यमपञ्चक शनिबार बेलुकीदेखि नै सुरु भएको छ ।

यसैगरी, लक्ष्मी स्थिर राख्नका निम्ति गरगहना एवं तामाका भाँडाकुँडा किन्ने धनतेरस पर्व पनि शनिबार नै मनाइएको छ । यस दिन गरगहना तथा भाँडाकुँडा किनेमा लक्ष्मी घरमै स्थिर भई बस्ने धार्मिक मान्यता छ । रासस

  • प्रकाशित मिति : कात्तिक २, २०८२, आइतवार ०६:१५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८