सुपर–६ को अन्तिम खेलमा समोअविरुद्ध १२४ रनको फराकिलो जित निकाल्दै नेपाल आईसीसी एसिया–प्यासिफिक क्षेत्रीय छनोटको च्याम्पियन बनेको छ ।
यसअघि प्रतियोगिताको दुई खेलअगावै आगामी वर्ष भारत र श्रीलंकामा हुने विश्वकपमा स्थान बनाइसकेको नेपाल शतप्रतिशत जितसहित च्याम्पियन बनेको हो ।
शुक्रबार ओमानको अल अमेरतमा सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको २१२ रनको लक्ष्य पछ्याउने क्रममा समोअले निर्धारित २० ओभर ब्याटिङ गरे पनि सात विकेट गुमाएर ८७ रनमात्र बनाउन सक्यो।
समोअका ओपनर सिन सोलिअले सर्वाधिक ४० रन बनाए । बेन्जामिन माइलाटाले ११ रन थपे । यसबाहेक, अरु कुनै ब्याटर दोहोरो अंकसम्म पुग्न सकेनन् ।
समोअलाई सस्तैमा रोक्न नेपालका ललित राजवंशीले तीन विकेट लिए । चार ओभर बलिङ गरेको ललितले एक मेडन फ्याक्दै १३ रनमात्र खर्चिए । सन्दीप लामिछाने, करण केसी र कप्तान रोहित पौडेलको नाममा समान एक विकेट रह्यो ।
त्यसअघि टस हारेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २११ रनको योगफल खडा गरेको थियो ।
नेपालका ओपनर आसिफ सेख र अलराउन्डर दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाएका थिए । ओपनर आसिफले ४१ बलमा सात चौका र चार छक्कासहित ६९ रन बनाए । यस्तै, दीपेन्द्रले ३३ बलमा दुई चौका र चार छक्कासहित ५३ रन थपे ।
३२५ को स्ट्राइक रेटमा विस्फोटक ब्याटिङ गरेका लोकेश बमले १२ बलमा दुई चौका र चार छक्कासहित ३९ रन थपे । कप्तान रोहितले २१ रन जोड्दा अर्का ओपनर कुशल भुर्तेलले १७ रन बनाए ।
समोअका सुमानी टियाइ, ड्यानियल बर्गेस, डारिया भिसेर र नोह मेडले समान एक विकेट लिए ।
यो जितसँगै नेपालले प्रतियोगिताका ६ मध्ये सबै खेलमा जित निकालेको हो । नेपालले समूह चरणको खेलमा कुवेतविरुद्ध ५८ रनको र जापानविरुद्ध पाँच विकेटको जित निकालेको थियो । यस्तै, नेपालले यसअघि सुपर–६ का तीन खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध एक रनको, कतारविरुद्ध पाँच रनको र ओमानविरुद्ध ३८ रनको जित निकालेको थियो ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८