• कात्तिक २, २०८२, आइतवार Sunday, 19 October, 2025

विश्वकप छनोट : नेपालको अपराजित यात्रा कायमै, ओमान ३८ रनले पराजित

  • खबरदाता

विश्वकप छनोट : नेपालको अपराजित यात्रा कायमै, ओमान ३८ रनले पराजित

आईसीसी टी–२० विश्वकप एसिया प्यासिफिक क्षेत्रीय फाइनलको सुपर–६ मा लगातार तेस्रो जित निकाल्ने क्रममा नेपालले घरेलु टिम ओमानविरुद्ध ३८ रनको जित निकालेको छ । जितसँगै सुपर–६ को शीर्ष स्थानमा उक्लिएको नेपालले आठ अंक जोडेको छ । तालिकाको दोस्रो स्थानमा आसिन ओमानको ६ अंक छ । नेपालले अब प्रतियोगिताको अन्तिम खेलमा शुक्रबार समोअविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

बुधबार ओमानको अल अमेरतमा सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको १५२ रनको लक्ष्य पछ्याउने क्रममा ओमानले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ११३ रनमात्र बनाउन सक्यो ।

ओमानका विनायक शुक्लाले सर्वाधिक ३२ रन बनाए । मोहम्मद नदीमले २५, ओपनर तथा कप्तान जतिन्दर सिंहले १४ र आर्यन बिष्टले ११ रन थपे ।

ओमानलाई सस्तैमा रोक्न नेपालका गुल्सन झाले तीन विकेट लिए । चार ओभर बलिङ गरेका गुल्सनले ३१ रन खर्चिए । सोमपाल कामी र नन्दन यादवले दुई–दुई विकेट लिए । सन्दीप लामिछानेको नाममा एक विकेट रह्यो ।

त्यसअघि टस जितेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १५१ रनको योगफल खडा गरेको थियो ।

नेपालका ओपनरका ओपनर कुशल भुर्तेलले सर्वाधिक ६९ रन बनाए । उनले ५१ बलमा सात चौका र एक छक्का प्रहार गरे । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भुर्तेलको यो १३औँ अर्धशतक हो । जारी प्रतियोगितामा भने भुर्तेलको यो दोस्रो अर्धशतक हो ।

अर्का ओपनर आसिफ सेखले २० बलमा दुई चौका र एक छक्कासहित २४ रन थपे । यी दुईले ७।३ ओभरमा ६१ रनको साझेदारी गर्दै नेपाललाई उत्कृष्ट सुरुआत दिलाएका थिए । तर, मध्यक्रम र तल्लो क्रमका ब्याटर चल्न नसक्दा नेपाल ठूलो योगफलसम्म पुग्न सकेन ।

गुल्सन झाले नौ बलमा दुई छक्कासहित १८ रन थपे । मोहम्मद आदील आलमे १५ बलमा तीन चौका प्रहार गर्दै १६ रन जोडे ।

ओमानका नदीम खानले चार विकेट लिए । चार ओभर बलिङ गरेका नदीमले २० रनमात्र खर्चिए । सुफयान मेहमुद र जितेन रमानन्दीले समान दुई विकेट लिए ।

नेपालले यसअघि सुपर–६ को पहिलो खेलमा युनाइटेड अरब इमिरेट्स ९यूएई० विरुद्ध एक रनको र कतारविरुद्ध पाँच रनको जित निकालेको थियो । त्यसअघि नेपालले समूह चरणमा कुवेतविरुद्ध ५८ रनको र जापानविरुद्ध पाँच विकेटको जित निकालेको थियो ।

यो जितका बावजुद नेपालले छनोटअन्तर्गत सुपर–६ को दुई खेल अगावै आगामी वर्ष हुने टी–२० विश्वकपमा स्थान बनाइसकेको थियो । नेपालले समग्रमा तेस्रो पटक टी–२० विश्वकपको टिकट काटेको हो । यसअघि नेपालले सन् २०१४ र २०२४ मा टी–२० विश्वकप खेलेको थियो ।

यता, नेपालसँग पराजित ओमानले पनि विश्वकपमा स्थान सुनिश्चित गरिसकेको छ ।

  • प्रकाशित मिति : असोज ३०, २०८२, बिहीवार ०६:०५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८