• भदौ ९, २०८३, मंगलवार Tuesday, 25 August, 2026

हमासले कब्जामा लिएको दुई वर्षपछि विपिनको मृत्यु पुष्टि

  • खबरदाता

हमासले कब्जामा लिएको दुई वर्षपछि विपिनको मृत्यु पुष्टि

हमासले इजरालयबाट कब्जामा लिएका नेपाली विद्यार्थी विपिन जोशीको मृत्यु भएको पुष्टि गरेको छ । हमासलाई उद्धृत गर्दै इजरायली सेनाले दिएको जानकारीअनुसार विपिनसहित चारजनाको शव हस्तान्तरणको तयारी गरिएको छ ।

रेडक्रस प्रतिनिधिलाई शव हस्तान्तरणको तयारी गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सोमबार साँझ चारजना मृतक बन्धकलाई फिर्ता गर्ने तयारी गरेको इजरायली सेनाका प्रमुख प्रवक्ता ब्रिगेडियर जनरल एफि डेफ्रीनले बताएका छन् ।

हमासले पछि ती बन्धकहरूको नाम गाई इलोज, योसी शराबी, विपिन जोशी र डेनियल पेरेज रहेको पुष्टि गरेको छ । उनीहरुलाई ७ अक्टोबर २०२३ मा इजरायलबाट अपहरण गरिएको थियो । कृषि अध्ययनरत जोशी लर्न एन्ड अर्न कार्यक्रमअन्तर्गत इजरायल पुगेका थिए ।

उनी इजरायल पुगेको तीन साता पनि नबित्दै हमासको आक्रमणमा परेका थिए । हमासले उनीसहित नेपाली विद्यार्थी बसेको इजरायलको किबुज क्षेत्रमा रहेको बंकरमा हानेका दुईवटामध्ये एउटा ग्रीनेड बाहिर फालेर केही साथीको ज्यान बचाएका थिए ।

त्यसलगत्तै हमासका कार्यकर्ताले विपिनलाई अपहरण गरेका थिए ।

इजरायली सेनाले इलोजको परिवारलाई अक्टोबर ७, २०२३ को घटनाको ५६ दिनपछि उनको मृत्युबारे जानकारी दिएको थियो । शराबीको मृत्यु इजरायली वायुसेनाको हमलापछि उनी बन्धक बनाएर राखिएको भवन भत्किँदा भएको बताइएको छ ।

पेरेजको परिवारलाई मार्च २०२४ मा कैदमा उनको मृत्युबारे जानकारी दिइएको थियो । यी चारमध्ये विपिन जोशीको अवस्था आज बिहानसम्म पनि अस्पष्ट रहेको थियो । केही सञ्चारमाध्यमले विपिन जीवित रहेको आशंका गरेका थिए ।

सोमबार रिहा गरिएका २० बन्धकको सूचीमा भने विपिन थिएनन् । सोमबार बिहान इजरायल सरकारले विपिन जीवित रहेको पुष्टि गर्न नसकिएको जनाएको थियो ।

हमासले हालैका दिनहरूमा इजरायली आक्रमणका कारण गाजामा भएको व्यापक विनाशलाई उल्लेख गर्दै, सबै मृत बन्धकहरू भेट्टाउन नसकिने सम्भावना रहेको बताएको थियो । हमासले कुनै विशेष भवन नजिक बन्धकहरूलाई गाडेको र त्यो भवन तथा वरपरका सबै संरचना नष्ट भएको जनाएको छ ।

स्थान पत्ता लगाउन सम्भव भए पनि वास्तविक शवहरू फेला पार्न निकै कठिन हुने बताएको हमासलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । यसैबीच इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले विपिनको मृत्युका सम्बन्धमा त्यहाँको सरकारले औपचारिक जानकारी नगराएको भए पनि अनौपचारिक रुपमा जानकारी गराएको बताए ।

उनले आफूले प्रधानमन्त्री कार्यालयमा अहिले सम्पर्क गरिरहेको बताउँदै भने– हमासले मृत्यु पुष्टि गरेको शवलाई इजरायली सेनालाई हस्तान्तरण गर्नेछ ।

इजरायलको सेनाले डीएनए परीक्षण गरेर शव हस्तान्तरणको प्रक्रिया अघि बढाउनेछ । विपिन परिवारका एक्ला छोरा हुन् । उनकी आमा पद्मा र बहिनी पुष्पा यतिबेला अमेरिकामा रहेका छन् ।

  • प्रकाशित मिति : असोज २७, २०८२, सोमवार २१:१९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८