सरकारले दसैँ, तिहारलगायत चाडपर्वमा हवाई टिकटको मूल्य नबढाउन सेवा प्रदायक संस्थाहरूलाई आग्रह गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले सबै सेवा प्रदायक निकायलाई चाडपर्वको बेला पारेर हवाई भाडादर बढाउने काम नगर्न सचेत गराइएको जानकारी दिए ।
शुक्रबार न्युज एजेन्सी नेपालसँग उनले मुलुकको कठिन अवस्थालाई ध्यानमा राखेर सरकारले तोकेको अधिकतम मूल्यभन्दा कम मूल्यमा हवाई टिकट बिक्री गरेर यात्रुलाई राहत दिन आग्रह गरिएको बताए ।
उनका अनुसार, हवाई टिकटको न्यूनतमदेखि अधिकतमसम्मको मूल्य कानुनमा नै व्यवस्था गरिएको छ । त्यसमा अधिकतम मूल्यभन्दा कम मूल्यमा टिकट बिक्री गर्न सेवा प्रदायक संस्थालाई भनिएको प्राधिकरणको भनाइ छ ।
देशमा पनि अहिले यस्तो अवस्था भएको हुनाले वायुसेवा कम्पनीका साथीहरूलाई बोलाएर कम्तीमा म्याक्सिमम फेयर नबेच्नुहोला, त्योभन्दा १र२ क्लास लोअर फेयरमा बेचिदिनुहोस् भनेर भनेका छौँ । त्यहीअनुसार वायु सेवा कम्पनीहरूले काम गरिरहेका छन् । उदाहरणका लागि अहिले बुद्ध एयरले धनगढीमा १२ हजारभन्दा माथिको टिकट नबेच्ने भनेर उहाँहरूले आन्तरिकरूपमा नै तयारी गर्नुभएको छ, उनले भने ।
प्राधिकरणले चाडपर्वमा हवाई यात्रुको सुविधालाई ध्यानमा राखेर अतिरिक्त उडानको व्यवस्था गरेको पनि जनाएको छ । नेपालमा दैनिक १० हजार यात्रुले आन्तरिक उडान गर्ने गरेको तथ्यांक छ ।
प्राधिकरणका सूचना अधिकारी भुलले दसैँ तिहारजस्तो समयमा दैनिक १८ हजारसम्म यात्रु हुने गरेकाले अतिरिक्त उडानको पनि व्यवस्था गरिएको जानकारी दिए ।
– न्युज एजेन्सी नेपालबाट ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८