• भदौ ७, २०८३, आइतवार Sunday, 23 August, 2026

चितवन राष्ट्रिय निकुञ्जद्वारा आठ गैँडा तस्कर पक्राउ


चितवन राष्ट्रिय निकुञ्जद्वारा आठ गैँडा तस्कर पक्राउ

असोज १२, २०७८

चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसराले गैँडा तस्करमा संलग्न आठ जनालाई पक्राउ गरेको छ । मंगलवार निकुञ्ज कार्यालय कसरामा पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरिएको हो ।
पक्राउ पर्नेहरुमा नवलपुरको बुलिङ्टार १ कोटथर घर भई हाल गैँडाकोट नगरपालिका १ बस्ने वर्ष ३२ का चतुरे भन्ने गोपाल सारु रहेका छन् । उनलाई निकुञ्जको आइल्याण्ड क्षेत्रमा २०७७ सालको भाद्र महिनामा गैँडा मारेको अभियोगमा २०७८ को साउन ३२ गते पक्राउ गरिएको हो ।

 

सोही मुद्दामा २०७८ भदौ ६ गते धादिङ जिल्ला रोराङ १ बस्ने ३५ वर्षीय कवि भन्ने रामकुमार श्रेष्ठलाई पनि सार्वजनिक गरिएको हो ।

यस्तै अन्य पक्राउ पर्नेहरुमा निकुञ्जको बहपुर खोला क्षेत्रमा २०७६ कार्तिकमा गैँडा मारेको आरोपमा मकवानपुर जिल्ला मनहरी गाउँपालिका ४ बस्ने वर्ष ३० को विजय भन्ने जय बहादुर प्रजालाई २०७८ सालको भदौ ४ गते पक्राउ गरिएको हो । सोही मुद्दामा मकवानपुर मनहरी ४ कै ३६ वर्षीय दिल वहादुर प्रजा भनिने सिँहराम प्रजा र धादिङ जिल्ला बेनिघाट १ कै ३५ वर्षीय कवि भन्ने रामकुमार श्रेष्ठलाई समेत सोही मितिमा पक्राउ गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए ।

 

बरालका अनुसार निकुञ्जको घाँघर क्षेत्रको बाटुली चौरको खोल्सीमा २०७७ असोजमा गैँडा मारेको आरोपमा मकवानपुर जिल्ला साविक सरिखेत गाउँपालिका ९ बस्ने करण मोक्तान भन्ने करण प्रजा, मनहरी गाउँपालिका वडानम्वर ४ का सुरेश प्रजा र मनहरीकै २७ वर्षीय बाबु भनिने सरोज मोक्तान पनि सोही मुद्दामा पक्राउ परेका छन् । त्यस्तै निकुञ्जको घाँघरपोष्टदेखि साँढे १ किलोमिटर पर्ने ढड्डाघारीमा २०७७ जेठमा गैँडा मारेको आरोपमा चितवन माडी नगरपालिका ७ देवेन्द्रपुर वस्ने यादव भन्ने राजन गुरुङ रहेको बरालले बताए ।

 

आज सार्वजनिक गरिएका ८ जनाले चार वटा गैँडा तस्करमा संलग्न रहेको आरोप छ । सोही घटनाका अन्य ९ जना आरोपिहरु अझै फारार रहेका छन् । चालु आर्थिक वर्षमा गैँडा मुद्दाका मात्रै १४ जना आरोपिहरु पक्राउ परीसकेका छन् । अघिल्लो आर्थिक वर्षमा निकुञ्जले २८ जनालाई पक्राउ गर्न सफल भएको थियो ।

  • प्रकाशित मिति : असोज १२, २०७८, मंगलवार ०९:१२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८