पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले प्रहरीलाई अनुमति दिएको छ ।
समाचारमार्फत व्यक्तिगत गोपनीयता हनन गरेको आरोपमा बुधबार राति पक्राउ परेका श्रेष्ठलाई बिहीबार अदालतमा उपस्थित गराइएको थियो । न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले श्रेष्ठमाथि अनुसन्धान अघि बढाउन तीन दिनको म्याद दिएको हो ।
श्रेष्ठ पक्राउ परेपछि प्रहरीले उनको कार्यकक्षसँगै काठमाडौंस्थित घरमा समेत खानतलासी गरेको थियो । खानतलासीका क्रममा प्रहरीले केही विद्युतीय उपकरण नियन्त्रणमा लिएको जनाइएको छ ।
यसैबीच, श्रेष्ठकी श्रीमती सरस्वती श्रेष्ठले श्रीमान्लाई गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै बिहीबार सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दर्ता गरेकी छन् ।
समाचारको विषयलाई लिएर पत्रकारलाई फौजदारी कसुरमा पक्राउ गरी अनुसन्धान अघि बढाइएको भन्दै सञ्चार क्षेत्रसम्बद्ध संघसंस्थाले भने आपत्ति जनाएका छन् । उनीहरूले समाचार लेखेकै आधारमा पत्रकारमाथि फौजदारी कारबाही अघि बढाइनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप भएको भन्दै विरोध जनाएका छन् ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८