• साउन २८, २०८३, बिहीवार Thursday, 13 August, 2026

स्वास्थ्य बिमाबाट १८७ प्रकारका औषधि हटाइए, अब १ हजार १०२ औषधि मात्रै

  • खबरदाता

स्वास्थ्य बिमाबाट १८७ प्रकारका औषधि हटाइए, अब १ हजार १०२ औषधि मात्रै

स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत बिमितले पाउँदै आएका औषधिको सूची परिर्माजन भएको छ । स्वास्थ्य बिमा बोर्डले नयाँ सुविधा थैली लागु गर्दै बिमामार्फत उपलब्ध हुने औषधिहरूमध्ये १८७ वटा औषधि हटाएको हो ।

नयाँ सूचीअनुसार अब स्वास्थ्य बिमा कार्यक्रमबाट १ हजार १०२ प्रकारका औषधि उपलब्ध हुनेछन् । यसअघि बिमा कार्यक्रमअन्तर्गत १ हजार २८९ प्रकारका औषधि उपलब्ध हुँदै आएका थिए ।

स्वास्थ्य बिमा बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार, औषधिको संख्या घटाउनुको अर्थ बिमितले पाउने उपचार सुविधा कटौती गर्नु भने होइन । उनले भने, “एउटै प्रकृतिका औषधिको दोहोरोपन, सरकारले निःशुल्क रूपमा दिँदै आएको औषधि, औषधि व्यवस्था विभागले प्रयोगमा नल्याउनु भनेको र लिष्टमा रहेको तर प्रयोगमा कहिल्यै नआएको औषधिहरूलाई हटाइएको हो ।”

मल्लका अनुसार स्वास्थ्य बिमा सूचीमा एउटै प्रकृतिका उपचारमा प्रयोग हुने एकभन्दा बढी औषधि समावेश थिए ।

बोर्डले नयाँ सुविधा थैली असार ३० गतेको बोर्ड बैठकबाट स्वीकृत गरेको थियो । स्वीकृत नयाँ व्यवस्था साउन ५ गतेदेखि कार्यान्वयनमा आएको हो ।

औषधिको संख्या घटे पनि बीमित नागरिकले पाउने उपचार सेवामा ठूलो असर नपर्ने बोर्डको दाबी छ ।

बोर्डका अनुसार नयाँ सूची तयार गर्दा स्वास्थ्य संस्थाबाट आएका सुझाव तथा व्यवहारमा औषधिको प्रयोगको अवस्थालाई समेत आधार बनाइएको छ । त्यसैले सूचीमा औषधिको संख्या घटे पनि आवश्यक उपचारमा असर नपर्ने बोर्डको दाबी छ ।

 

  • प्रकाशित मिति : साउन २७, २०८३, बुधवार १५:३९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८