भरतपुरमा ओली गुटभित्रै मारामार, सहमतिबिनै शपथ गराउने तयारी

  • कार्तिक २४, २०७८

ओलीको एकताको ढ्वाङलाई चितवनको भरतपुर महानगरले नराम्रोसँग पछारेको छ । निर्वाचन कमिटीले कयौँ प्रयास असफल भएपछि केन्द्रबाट नेता बोलाएर जबरजस्ती कमिटी घोषणा गर्ने अन्तिम तयारीमा जिल्ला नेतृत्व पुगेको छ । तर यस कुराको पनि शसक्त प्रतिवाद हुने देखिन्छ ।

केपी शर्मा-कात्तिक २४, २०७८

अध्यक्ष केपी शर्मा ओलीले भव्यरुपमा उद्घाटन गरेको भरतपुर महानगर कमिटीको प्रथम अधिवेशन गुमनाम भएको छ । कार्तिक १५ गते अत्याधिक तामझामका साथ स्थलमार्गबाट आएका ओलीले एकताको सन्देश भन्दै उक्त अधिवेशनको उद्घाटन गरेका थिए ।

प्रायशःउद्घाटन गरेको दुई तीन दिनमै अधिवेशन सकिने भएपनि आज १० औँ दिन वितिसक्दापनि एमालेभित्रै परेको घमसान युद्दले नयाँ कमिटी बन्न सकीरहेको छैन ।

ओलीले भाषणमा जतिसुकै ठूलो एकताको ढ्वाङ फुकेपनि भरतपुर महानगरभित्र ओली गुट भित्रकै चरम व्यक्तिगत स्वार्थ र नेतृत्वमा आउन सक्ने क्षमताका व्यक्तिहरुलाई पछार्ने रणनीति अपनाइदा अहिलेसम्म एकताको अधिवेशन गुमनाम वन्न पुगेको हो ।

चितवनमा अहिले ओलीभित्रै मुख्यतयः दुई गुट प्रष्ट देखिएका छन् । एउटा गुटको नेतृत्व जेएन थपलियाले गरिरहेका छन् भने अर्को गुटको नेतृत्व विजय सुवेदीले । कृष्णभक्त पोखरेल, रामप्रसाद न्यौपानेले थपलियाको फेरो समाएका छन् भने पार्वती रावल र प्रल्हाद प्रधान सुवेदीको पछि दौडिएका छन् ।
थपलियाको लाइनलाई बागमती प्रदेशका सह–इन्चार्ज तथा चितवन जिल्ला इन्चार्ज काशीनाथ अधिकारीको समर्थन रहेको देखिन्छ भने सुवेदी लाइनलाई प्रदेश कमिटी अध्यक्ष आनन्द पोखरेलको आडभरोसाा मिलेको छ ।
यसरी सरसर्ती हेर्दा चितवनमा ओलीभित्रै रहेका दुई वटा गुट मध्ये थपलिया लाइन सिधै केपी ओलीसँग जोडिने देखिन्छ भने सुवेदी लाइन इश्वर पोखरेलको नजिक मानिन्छ ।

यति मात्रै होइन चितवनमा अहिले अर्को नयाँ गुट पनि देखा परेको छ । त्यो हो रामवहादुर थापा बादलको लाइन । तर बादल चितवनकै प्रतिनिधि भएपनि एमालेमा गइसकेपछि उनको वर्चश्व भने खासै देखिदैन। महागनर कमिटी भित्र उनले एउटा मात्र पद खोजेको पाइन्छ ।

त्यतिमै नेकपा एमाले चितवन सीमित छैन । १० बुँदे कार्यान्वय गर्ने सहमति पछि नेकपा एमालेमै बसेको १० भाईको अर्को गुट पनि यथावत छ । जुन गुट थपलिया र सुवेदी दुईवटैको लाइनमा छैन। यस कारण के देखिन्छ भने उ आफूलाई शक्तिशाली देखाउन खोजीरहेको छ ।

उम्मेदवारीमा क कसको दावेदार त?

गुटैगुटमा झाङ्गीएको नेकपा एमाले चितवनले सात स्थानीय तहमध्य भरतपुर महानगरको नयाँ कमिटी निर्माण गर्न सकिरहेको छैन। जिल्लाको केन्द्रविन्दु मानिने महानगरको नेतृत्व हाँक्न युवाहरु एक से एक आइरहेका छन् ।

महानगर कमिटीमा अध्यक्ष, उपाध्यक्ष, सचिव, दुई उप–सचिव सहित १०५ सदस्य रहने प्रावधान छ । जसका लागि अध्यक्षमा शंकर थपलिया र प्रल्हाद प्रधानले उम्मेदवारी दिएका छन् । शंकर थपलियालाई थपलिया लाइनकै साथ छ भने प्रधानलाई सुवेदी लाइनको साथ रहेको छ ।

त्यतिमात्रै होइन, हामीलाई स्रोतले बताए अनुसार राजनीतिक नेतृत्वको महत्वपूर्ण पदमा नरहेका शंकर थपलियालाई केपी ओली लाइनका नेताहरुको मात्रै साथ छ भने युवासंघको केन्द्रीय नेतृत्वमा रहिसकेका प्रल्हाद प्रधानलाई भने आम कार्यकर्ता तथा युवा प्रतिनिधिहरुको साथ र समर्थन रहेको छ । जसका कारण पनि प्रधान १० दिनसम्म थपलिया लाइनसँग एक्लै लडिरहेका छन् ।

अधिवेशनले नेतृत्व नदिनुको पछाडी यो मात्रै कारण छैन । उपाध्यक्षमा पनि गुट उपगुटकै दावी छ । त्यसलाई पनि जिल्लाको नेतृत्व तहले सहजै मिलाउन सक्ने अवस्था देखिदैन ।

उपाध्यक्षमा जेएन थपलियाकै लाइनबाट दुई जना शसक्त उम्मेदवार छन् । कृष्ण केसी र अनोज जोशी । यहाँ पनि जिल्लाका शीर्ष नेताहरुको व्यक्तिगत जोड र स्वार्थ देखिन्छ । किनकी स्रोतका अनुसार यी मध्ये अनोज जोशीलाई देवी ज्ञवालीको पूर्ण साथ रहेको छ भने कृष्ण केसीलाई कृष्ण भक्त पोखरेलको ।

त्यस्तै लडाई सचिव पदका लागि पनि रहेको देखिन्छ । सचिव पदका लागि बादल समूहबाट टिका सुवेदीले उम्मेदवारी दिएका छन् भने अर्कोतर्फ १० भाई समूहबाट रोहीत सुवेदीको उम्मेदवारी परेको छ ।
१०५ सदस्यीय कमिटीमा अन्य धेरै स्वतन्त्र नेता कार्यकर्ताले आआफ्नो उम्मेदवारी दिएका छन् । सीमित पदमा आकाक्षि धेरैभएपछि एकताको सन्देश दिन सहमतिमै नेतृत्व टुंग्याउनका लागि देवी ज्ञवालीको नेतृत्वमा निर्वाचन कमिटी तयार गरिएको थियो । कमिटीको पटकौँ पटक बैठक बसिसकेको छ । तर हालसम्म पनि कुनै निकास निकाल्न सकेको छैन ।

उद्घाटनसत्रको अघिल्लो दिन गरिएको पत्रकार सम्मेलनमा कमिटीका संयोजक ज्ञवालीले भनेका थिए,“१५ गते उद्घाटन भएपछि १६ गते एक दिन विराएर १७ गते कुनै पनि हालतमा महानगर कमिटिको सपथ ग्रहण गराइनेछ ।” तर यतिका दिन हुँदापनि सपथग्रहण त के कमिटी निर्माणकै आधार समेत तय गर्न सकेको छैन ।

यसले पनि यो समिति असफल भएको पुष्टि गर्दछ । अहिले सो कमिटीको काम विना उम्मेदवार बैठक बस्नेवाहेक अर्को कुनै उपलब्धिमूलक काम छैन । कार्तिक १५,१७, २२, २३ गते बैठकहरु बसे । तर बैठक बसेको सुरुको दिनवाहेक अन्य कुनैपनि बैठकमा उम्मेदवारहरुलाई बोलाएर धारणा माग नगरेको उम्मेदवारहरु स्वयम बताउँछन् । यसले पनि सहमतिमा नभई नेताको आकाक्षा र स्वार्थमा व्यक्ति नेतृत्वमा आउने खतरा बढिरहेको छ ।

कमिटी असफल हुँदै जानुमा नेताहरुको स्वार्थ सहित गुट उपगुट प्रमुख कारण देखिन्छ । त्यतिमात्रै होइन सक्षम नेतृत्व भन्दा व्यक्तिले चाहेको व्यक्ति पदमा लग्ने चरम महत्वकाक्षिका कारण महाधिवेशन अनिश्चित वन्दै गएको हो ।

स्रोत भन्छ,“ अध्यक्षका दावेदार प्रल्हादलाई अध्यक्ष त के सदस्यमा समेत ल्याउन नहुने कुरामा देवी ज्ञवाली र रामप्रसाद न्यौपानेले कसमै खाएका छन् । तर केन्द्रीय नेतृत्वमा रहिसकेका उनलाई पदमा नल्याउन नेताहरुलाई फलामको चिउरा चपाउनु सरह हुनेछ । प्रल्हादले स्वच्छ र निष्पक्ष सहित नेतृत्व चयन हुनुपर्ने बताइरहदा नेताहरु हच्किरहेका छन् ।”

त्यस्तै प्रष्ट देखिएको थपलिया लाइन र सुवेदी लाइनकै सचिव पदका उम्मेदवार नभएपछि थपलिया लाइनले १० भाई भन्दा बादल समूहका टिका सुवेदीलाई समर्थन गरेको देखिन्छ । आफूले सचिव पाउने आशा भएपछि बादल समूह सुवेदी समूहका प्रधानलाई कुनैपनि हालतमा हराउनुपर्छ भनेर लागि परेको स्रोत बताउँछ ।

गुटउपगुटका बारेमा ओली भित्रै व्यक्तिवाद देखिरहदा १० भाई बाट आएको समूह भने पर्ख र हेरको अवस्थामा छ । उसले मुख्य पदमध्ये सचिवलाई मात्र आफ्नो उम्मेदवारी अगाडि बढाएको हो । एमाले फुटको अन्तिम अवस्थामा १० वुँदेलाई आधार बनाई फर्कीएको समूह वडा वडामा बलियो देखिन्छ । सोही कारण पनि कट्टर ओली समूह १० भाई समूहलाई कुनैपनि हालतमा नेतृत्वमा आउन नदिने पक्षमा देखिएको छ ।

करिव एक महिनापछि हुने जिल्ला अधिवेशनमा अध्यक्षका लागि थपलिया समूहका रामप्रसाद न्यौपाने र १० भाई समूहका तेजेन्द्र खड्काले उम्मेदवारी दिने पक्कापक्की छ । अहिले महानगरको सचिवमा रोहित सुवेदीलाई ल्याउँदा रामप्रसाद न्यौपाने आफू जिल्ला अधिवेशनमा कमजोर हुने ठानेर १० भाई समूहलाई महानगरको कमिटीमा ल्याउनै नदिने खेल भइरहेको स्रोत बताउँछ । त्यस्तै कृष्णभक्त पोखरेल पनि केन्द्रीय नेतृत्वमा जान चाहेकाले उनी थपलिया लाइनलाई समर्थन गर्दै आइरहेका छन् ।

यसरी सवल नेतृत्व चयन प्रकृया अगाडि बढाउनुपर्नेमा नेताहरु गुट उपगुटमा हुँदा जबरजस्त नयाँ समिति बनाएर शपथग्रहण गराउन लागिएको खुलासा भएको छ। जिल्लाको नेतृत्व २५ गते पार्टीका महासचिव इश्वर पोखरेललाई बोलाएर सोझै महानगर कमिटीलाई सपथ ग्रहण गराउने तयारीमा लागेको छ ।

यस अघि पोखरेललाई बोलाएर सपथ गराउँदा दुवै पक्षलाई केही फाइदा हुने देखिन्छ । पोखरेल पक्षका प्रधानलाई उपाध्यक्ष दिएर अध्यक्षमा शंकर थपलियालाई नै राखेर शपथग्रहण गराउने तयारी भएको हो । यदी यो परिस्थिती आएमा महानगरबाट कृष्णभक्त पोखरेलको नामो निशानो प्रष्ट देखिन्छ । किनकी उनले समर्थन गरेका कृष्ण केसी एकमात्रै उपाध्यक्षका उम्मेदवार हुन् ।

पोखरेललाई बोलाएर बिहीवार गर्न लागिएको कार्यक्रमप्रति अध्यक्षका उम्मेदवार प्रल्लाह प्रधानले घोर आपत्ति जनाएका छन् । उनले सामाजिक संजालमै यस विषयलाई कटाक्ष गरेको पाइन्छ ।

गुट उपगुट र व्यक्तिवादले गर्दा लामो समयसम्म पार्टीमा योगदान गर्दै आएका युवापंक्तिलाई निशासाजनक अवस्थामा पुर्याउने देखिन्छ । जसले गर्दा एमाले सिँगो पार्टीलाई ठूलो क्षती पुग्ने भन्दै आम प्रतिनिधिले यसको विरोध गरिरहेका छन् ।

  • प्रकाशित मिति:कार्तिक २४, २०७८

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८