• वैशाख १२, २०८१, बुधवार Wednesday, 24 April, 2024

देउवामा कांग्रेसी चेतना हराएकै हो त ?


देउवामा कांग्रेसी चेतना हराएकै हो त ?

प्रधानमन्त्री बनाइदिने आश्वासन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेबाट निकालिएका नेता माधव नेपालले दिइरहेका छन्

जेष्ठ २५,२०७८/ नारायण प्रसाद दाहाल

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अहिले प्रधानमन्त्री बन्ने लोभमा सर्वोच्च अदालततिर नजर पसारिरहेका छन् । उनलाई प्रधानमन्त्री बनाइदिने आश्वासन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेबाट निकालिएर सडक छाप बन्न पुगेका नेता माधव नेपालले दिइरहेका छन् ।

हेर्नूस् न, देउवाको आस पनि कत्रो रु अनि कोसँग रु प्रचण्ड, जसले दुई तिहाइ शक्ति भएको दलको अध्यक्ष पद पाएर पनि एउटै बैठक बोलाउने, अध्यक्षता गर्ने, निर्णय लिने र कार्यकर्तालाई निर्देश गर्ने औकात राखेनन् । अन्ततः आफ्नो भएको शक्ति पनि आधा एमालेमै छाडेर लुरुक्क हिँड्नुपऱ्यो । तिनले नै सिंहासन दिलाइदिन्छन् र आफू बसौँला भन्ने लालसामा देउवा बाँचेका छन् ।

माधव नेपाल, जसको आफ्नो दल नभएर पाटीवास हुनुपरेको छ । जसलाई नेता मानेर पछि लागेका हजारौँ कार्यकर्ता रातभर रुवाबासी र दिनभर छटपटीमा गुजार्नुपरिरहेको छ । जसले आफूले डेढ दशक नेतृत्व गरेको दलको सदस्यता समेत जोगाउन नसक्ने अवस्था आएको छ । तिनैले केपी शर्मा ओलीबाट सत्ता खोसेर आफूलाई सुम्पिदिनेछन् भन्ने आसैआसमा देउवा बुढानीलकण्ठमा मीठो वासन्तिक निद्रा सुतिरहेका छन् ।

उनलाई लाग्दो हो, शिवपुरीका जंगलमा कराउने कोइलीहरु उनकै सत्तारोहणका लागि मंगलगान गाइरहेका छन् । तर बुढानीलकण्ठको चार दिवालमा ओलीले लगाएको निषेधाज्ञाको नजरबन्दमा अन्जानमै परेको उनलाई ज्ञात छैन ।

उनलाई अनुभूति हुँदो हो कि ढोका वरपर झाँगिएका लहरा र भर्खर पल्लवित पालुवाले उनको पाँचौँ गद्दी आरोहणको स्वागत गर्दै छन् । तर, उनलाई यो ज्ञात छैन कि भोलि कांग्रेसलाई हराभरा बनाउन सक्ने यस्ता कैयन् पालुवालाई कोरोना महामारीले डसिसकेको छ । कोरोना महामारीसँगै चक्रवर्ती ओलीको सत्ता र शक्त्तिको प्रचण्ड तापले जलाउँदै छ । तिनको आर्तनादलाई आफ्नो राज्याभिषेकको पार्श्व धुन ठानेका हुन् भने हाम्रो भन्नु केही छैन ।

आलंकारिक राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेको मेलम्चीको पानीले देउवालाई स्वागत गर्न काठमाडौँका सडक पखालिँदै छन् भन्ने मीठो सपना देख्न त आरजू राणाले पनि देख्न पाउँछन् । तर, पटकपटक अक्षम घोषणा गरी पुनः उनैलाई सक्षम मानेर स्वागत गर्ने गोरखाली राजाका उत्तराधिकारीलेजस्तो न्याय राम शाहपथका आधुनिक राणाले दिन्छन् भन्ने कुनै ग्यारेण्टी छैन । फेरि मेलम्ची देउवाका लागि शुभ विम्ब हुँदै होइन, जसको फाइल शाही आयोग हुँदै अख्तियारको दराजमा अहिले पनि सुरक्षित छ ।

राजनीतिका कखरा जानेको जोकोहीले बुझ्न सक्ने कुरा के हो भने राजनीति राजनीतिक मैदानमै खेलिन्छ । राजनीतिक मैदान भनेको या त चुनाव हो, या संसद हो । यसबाहेक अरु कुनै पनि माध्यमबाट गोरु ब्याउने अपेक्षा गरिएको छ भने त्यो कलि युगको आठौँ आश्चर्य हुनेछ । तर, देउवा नामका एक थकित हली कम्युनिस्ट वर्णका दुई बूढा गोरुलाई जोत्न नसकेर ब्याउने आसमा बटुको हातमा लिएर बसेका छन् ।

अदालतको प्रांगणमा हात पसारेर पाइने भनेको केवल झगडियाको उपमा हो । कानुनमा लेखिएका अक्षर, वकिलहरुले वाचेका शब्द अनि फैसलाधीशले जोडेका नजिरका बान्कीहरुले साँच्चै न्याय पर्छ भन्ने छैन । यदि यसो हुन्थ्यो भने फौजदारी न्यायले कैयन् हत्या गरिएका आत्माहरु ब्युँतिएर आउँथे । बलात्कृत नारीका चीत्कारसँगै बलात्कारीको प्राण पखेरु ठाउँको ठाउँ उड्न सक्थ्यो । तर, त्यसो हुँदैन । कहिलेकाहीँ देवानी मिलापत्रमा साँच्चैको न्याय पर्न सक्छ । यो पनि अपवादको कुरा हो।

यही संसदलाई यिनै प्रधानमन्त्रीको सिफारिसमा यिनै राष्ट्रपतिले विघटन गरेपछि यही अदालतले फर्काएको होइन रु खै विघटनकारीलाई विस्थापित गर्न सकेको रु खै पुनर्स्थापनाकारीलाई सिंहदरबारमा स्थापना गर्न सकेको रु फैसला भनेजस्तै भएर के गर्नु रु खै न्याय भएको रु फेरि पनि हुने त्यही हो । अदालतले संसद पुनर्स्थापना गर्न सक्छ, राजनीति पुनर्स्थापना गर्न सक्दैन । यत्ति कुरा बुझेको दिन देउवाका निम्ति दिव्यदृष्टि सावित हुनेछ ।

देउवाको नियति हो या वृद्धकालीन बच्कनापन, ओलीले ललीपप देखाउँछन्, केही दिन त्यतै भुल्छन् । माधव नेपाल र प्रचण्डले सुऱ्याउँछन्, त्यतै सुरिन्छन् । रामचन्द्र पौडेलको आदर्श वाणीसँगै देउवा पनि राम नाम सत्य हो भट्याउन थाल्छन् । गगन थापाको उग्रवचनले उचालिन्छन्, कृष्ण सिटौलाको शकुनि पासाले थचारिन्छन् । यो देखेर ओली बालुवाटारबाट अट्टहास नगरेर के गरुन् ?

एकाध संवैधानिक नियुक्ति र नातेदार राजदूतको थमौतीमा रमाउने देउवाजस्ता विपक्षी नेता पाएपछि ओलीका सारा अध्यादेशमार्गी कर्म–कुकर्मले वैधानिकता पाउँछन् । त्यसैको रिसको झोँकमा प्रचण्ड ओलीलाई लल्कार्न खोज्छन्, सक्दैनन् । माधव नेपाल अघि सर्छन्, गरुडको छायाँमा परेको नागको हालत हुन्छ । अनि प्रचण्ड र माधव दुवै गएर देउवालाई शिखण्डीका रुपमा उभ्याउँछन् । देउवा यतिमै दंग छन् ।

अहिले त यस्तो लाग्दै छ, या त देउवाले म कांग्रेस हुँ भन्ने बिर्सिसके । नत्र भने उनी किन ओलीले सिंहासन छाडिदिनेछन् र आफू बसौँला भन्ठान्छन् रु माधव र प्रचण्डजस्ता कम्युनिस्टले उनका लागि ओलीबाट सिंहासन खोसर आफूलाई सुम्पिदिनेछन् भन्नेसम्मको नासमझमा उनी कसरी पुग्छन् ?

कांग्रेसी चेतनालाई बन्धक राखेर कम्युनिस्टको भऱ्याङ र अदालतको आशिर्वादबाट राजनीतिक पुनरुत्थानको अपेक्षा गर्नु देउवाको महामूर्खताबाहेक अरू के भन्न सकिन्छ र रु

कहिलेकाहीँ त यस्तो पनि लाग्छ, कतै देउवाको शाहीपथ र गिरिजाप्रसादको प्रचण्डपथसँगै कांग्रेसको सातो पनि त्यतै कतै हराएको त होइन रु अथवा सुशील कोइरालाको रहस्यमय मृत्युसँगै कांग्रेस हुनुको चेतना कांग्रेसीहरुबाट अस्त भएको त होइन ?

होइन भने कुनै बेला सशस्त्र युद्ध लडेको कांग्रेस, राणासँग नहारेको कांग्रेस, पञ्चहरुसँग नलत्रेको कांग्रेस आज किन कम्युनिस्टहरुसँगै लत्रिन पुगेको छ रु के गिरिजाप्रसादको प्रचण्डपथले नपुगेर अहिले देउवा माधवमार्गी बन्न पुगेका हुन् ?

गिरिजाप्रसादसँग त देखाउनकै लागि भए पनि केही पीएचडी विद्वानहरु वरिपरि थिए । भेटघाट र सम्पर्क फराकिलो थियो । कतिसम्म भने खाना खाँदा केही गरी एक्लै भएछन् भने बाटामा रिक्सा चलाएर ओँठ कलेँटी परेकाहरुलाई आफ्नो भान्सामा बोलाएर खुवाउँथे र सँगै बसेर खान्थे । तिनका कुरा सुन्थे । तर, अहिले देउवाका वरिपरि यस्तो घेरो छ कि सूचना र सम्पर्कमा पर्खाल लगाइएको छ । सहयोगी भनिएकाहरुले घोर अहसयोग गरिरहेका छन्, देउवालाई एकान्तमा राखेर ।

लाग्छ, देउवा ओलीको निषेधाज्ञाले होइन, उनकै सहयोगीहरुले नजरबन्द राखिरहेका छन् । यो नजरबन्द कायम रहेसम्म उनको दिव्य दृष्टि खुल्ने छैन । कांग्रेसी चेतना पनि बिर्कोमा बन्द भएर बस्नेछ । देउवा तिनै कुपमण्डुक सहयोगीहरुको अभिमानपूर्ण दृष्टिले कम्युनिस्ट वकिलहरुको रामशाहपथतिरको कुरुक्षेत्र नियाल्दै गरुन् । युद्ध समापन हुँदासम्म उनले हस्तिनापुर त पाउने छैनन् नै, कांग्रेसको वंशावलीमा पनि पूर्णबिराम लागिसकेको हुनेछ ।

  • प्रकाशित मिति : जेठ २४, २०७८, सोमवार २३:५८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८