• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

संक्रमितको अन्तिम संस्कारमा किन दिइन्छ सलामी? 

  • खबरदाता

संक्रमितको अन्तिम संस्कारमा किन दिइन्छ सलामी? 

 

नेपाली सेनाले अहिलेसम्म कोभिड-१९ संक्रमणबाट ज्यान गएका साढे ६ हजारभन्दा बढीको शव व्यवस्थापन गरेको छ। र, सबैको अन्तिम संस्कारअघि सलामी सम्मान अर्पण गरेको छ।

जेष्ठ ११,२०७८

नेपाली सेनाले ५ जेठसम्म कोभिड-१९ महामारीबाट ज्यान गुमाएका ६ हजार ५८१ जनाको शव व्यवस्थापन गरिसकेको छ।

१२ जेठ २०७७ को मन्त्रिपरिषद् बैठकले कोभिड-१९ संक्रमणका कारण निधन भएका व्यक्तिको शव व्यवस्थापन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको शव व्यवस्थापन प्रोटोकल अनुसार स्थानीय प्रशासनको समन्वयमा सेनाले गर्दै आएको हो।

सरकारले ४ चैत २०६६ मा तय गरेको मापदण्ड अनुसार, राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, भूतपूर्व राष्ट्रपति–उपराष्ट्रपति लगायतको निधनमा तोपसहितको सलामी दिने व्यवस्था छ। बहालवाला राष्ट्रपतिको निधनमा सेनाका तीन गुल्म, प्रहरीका गुल्म र सशस्त्र प्रहरीका एक गुल्मले २१ तोपको सलामी दिने गरिन्छ।

अहिले भने सेनाले महामारीबाट निधन भएका प्रत्येक शवको अन्तिम संस्कार गर्नुअघि पनि सलामी अर्पण गरिरहेको छ। स्वदेशी तथा विदेश राष्ट्रप्रमुख, संवैधानिक तथा निजामती सेवाका उच्च पदाधिकारी वा विशिष्ट व्यक्तिहरूलाई दिइने सलामी कोभिड(१९ बाट ज्यान गुमाउनेहरूलाई पनि दिइनुको कारण के हो तरु

“मृतकलाई सम्मान गर्नु सेनाको परम्परा नै हो,” नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेल भन्छन्, “कोरोनाबाट ज्यान गुमाउने कतिपयको परिवारजन तथा आफन्तजन शव नजिक आउन पाउनुहुन्न, त्यस हिसाबले पनि हामीले गरिरहेको सम्मानपूर्वक अन्तिम संस्कारको महत्त्व छ भन्ने लाग्छ।”

सेनाले तीन तरिकाले शव व्यवस्थापन गर्दै आएको छ। जमिन–कब्रिस्तानमा गाड्ने, विद्युतीय शवदाहगृह र चितामा जलाउने। १-६ वैशाखमा सेनाले व्यवस्थापन गरेका दुई हजार ९६८ मध्ये सबैभन्दा बढी अर्थात् दुई हजार ८५९ शवको हिन्दू परम्परा अनुसार अन्त्येष्टि गरिएको छ। त्यस्तै, ४४ वटा मुस्लिम, ४३ वटा बौद्ध र २२ वटा शव क्रिश्चियन परम्परा अनुसार अन्तिम संस्कार गरिएको सेनाले जानकारी दिएको छ।

सेनाले सबै धर्मावलम्बीको शवलाई उस्तै सम्मानपूर्वक बिदाइ गरिरहेको छ। विशिष्ट व्यक्तिहरूलाई दिइने सलामी र महामारीबाट निधन भएकाहरूलाई दिइने सलामीमा एउटा भिन्नता भने छ। “त्यस्तो सलामीमा बिगुल बज्छ, यहाँ बज्दैन,” सेनाका प्रवक्ता पौडेल भन्छन्।

पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्यसचिव गोविन्द टन्डन सेनाले शव व्यवस्थापनमा गरेको काम सम्मानयोग्य भएको बताउँछन्। “सबै धर्मका मान्छेमा ईश्वरीय तत्त्व हुन्छ, त्यसैको सम्मान स्वरूप सलामी दिइन्छ,” टन्डन भन्छन्, “मृत्यु कसैका लागि पनि सुखद हुँदैन, तर सेनाले अन्तिम संस्कारमा खेलेको भूमिका सराहनीय छ।”

  • प्रकाशित मिति : जेठ ११, २०७८, मंगलवार ०८:२० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८