• चैत १६, २०८०, शुक्रवार Friday, 29 March, 2024

चितवनमा कोभिड विरुद्धको लडाइँमा जुटेका सहयोगी हातहरु


चितवनमा कोभिड विरुद्धको लडाइँमा जुटेका सहयोगी हातहरु

जेष्ठ ६,२०७८ – नारायण अधिकारी

चितवन । दुई दर्जनभन्दा बढी जिल्लाका सङ्क्रमितको व्यवस्थित उपचार गरिरहेको चितवन जिल्लाले प्रशंसा बटुलिरहेको छ । कोभिड विरुद्धको लडाइँमा स्थानीय प्रशासन र अस्पताल व्यवस्थापनले मात्रै नभई यहाँका सहयोगी हातहरुले काँधमा काँध थापेका कारण यो सम्भव भएको हो।

राजधानी काठमाडौँलगायतका ठूला शहरमा सङ्क्रमितको व्यवस्थित उपचार गर्न हम्मेहम्मे परिरहेको सययमा यहाँको स्थानीय प्रशासन, अस्पताल सञ्चालक र सहयोगी हातहरुको तादात्म्यताले स्थितिलाई सहजै आफ्नो काबुमा हिडाइँरहेको छ । केही दिन अघिसम्म अक्सिजन सिलिण्डर, अक्सिजन हाइफ्लो नोजल, अक्सिजन कन्सन्ट्रेटरलगायत स्वास्थ्य सामग्री अभाव हुने देखिएपछि यहाँका सहयोगी हातहरु जुर्मुराएर अघि बढेका छन् ।

विभिन्न सामाजिक सङ्घसंस्था, निजी क्षेत्र, व्यक्तिलगायतका दाताहरुले मन खोलेर अस्पतालहरुमा सहयोग गरिरहेका छन् । उनीहरुले अस्पतालको आवश्यकताअनुसारका स्वास्थ्य सामग्री खरिद गर्दै हस्तान्तरण गरिरहेका छन् । यो क्रम निरन्तर चलिरहेको छ । जिल्लामा रहेका उद्योग वाणिज्य सङ्घ, उद्योग सङ्घ, लायन्स क्लब, लियो क्लब, रोटरी, विदेशमा रहेका विभिन्न सङ्घसंस्थाहरु र अन्य साामाजिक सङ्घसंस्थाहरु यतिखेर कोरोना सङ्क्रमितहरुको उपचारमा सहयोग गर्न तलिन्न बनेका छन् ।

मुख्यरूपमा भरतपुर अस्पताल, विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र स्थानीय तहहरुले सञ्चालन गरेका आइसोलेशनमा दाताहले सहयोग गर्दै आएका छन् । भरतपुर अस्पताललाई चितवनमा मूल घर भएर अष्ट्रेलियामा बसोबास गर्ने नेपालीहरुको संस्था चितवन समाज अष्ट्रेलियाले रु १० लाख ७५ हजार बराबरको अक्सिजन सिलिण्डर सहयोग गरेको छ । संस्थाले तीन चरणमा गरेर ६० वटा अक्सिजनसहितको सिलिण्डर सहयोग गरेको हो ।
समाजका अध्यक्ष पूर्णनाथ घिमिरेले चितवनमा अक्सिजनको अभाव भएपछि आफूहरु यसै बस्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले यहाँ सहयोग सङ्कलन गरेर भरतपुर अस्पताललाई सहयोग ग¥यौँ ।”

उद्योग सङ्घ चितवनले १० थान अक्सिजन कन्सन्टे«टर अस्पताललाई हस्तान्तरण गरेको छ । रु आठ लाख बराबरको ती सामग्री अस्पताललाई हस्तान्तरण गरिएको सङ्घका अध्यक्ष राजु पौडेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यो अभियानमा थप सहयोगका लागि हामी जुटिरहेका छौँ ।”

यस्तै एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसले अस्पताललाई करिब रु चार लाख बराबरको २० थान अक्सिजनसहितको ठूलो सिलिण्डर सहयोग गरेको छ । एक्सपर्टले पुनः एकपटक सिलिण्डर रिफिलसमेत आफैँले गरेर दिने जनाएको छ ।

भरतपुर अस्पतालका दन्तरोग विभाग प्रमुख डा अजय न्यौपाने र उहाँको श्रीमती साइराम डेन्टल केयरका प्रबन्ध निर्देशक डा सरु थापा न्यौपानेले १० थान अक्सिजन सिलिण्डर, १०० थान पिपिइसहित ग्लोब्सलगायतका सामग्री अस्पताललाई उपलब्ध गराउनुभएको छ ।

यस्तै नेपाल पत्रकार महासङ्घ चितवन शाखालाई उद्योग वाणिज्य सङ्घ चितवन, उद्योग सङ्घ चितवन र लायन्स क्लब इन्टरनेसनल ३२५ बीटुले स्वास्थ्य सुरक्षाका सामग्री सहयोग गरेका छन् ।

लायन्स क्लब ईन्टरनेशनल ३२५ बीटु नेपालले भरतपुर अस्पताल, विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र मध्यविन्दु अस्पताल कावासोतीलाई हाइफ्लो अक्सिजन मेसिन दुई थान र बिप्याप मेसिन पाँच थान सहयोग गरेको छ । उक्त क्लबले एरिया नं ३ का क्लब तथा लायन्सहरुबाट कोभिड अभियान गरी सङ्कलन रकमबाट ती सामग्री खरिद गरी हस्तान्तरण गरेको हो । यस्तै क्लबले एक महिनाका लागि निःशुल्क शववाहन सहयोग गरेको छ । शवको व्यवस्थापन गर्दै आएको कालीबहादुर गणलाई उक्त शववाहन हस्तान्तरण गरिएको छ । बीटुका इलेक्ट गभर्नर रामप्रसाद भट्ट देशभरका लायन्सकर्मीहरु अभियानमा जुटिरहेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “हाम्रो नारा नै ‘हामी सेवा गर्छौँ’ भन्ने छ । त्यसैले हरेक विपत्तिमा लायन्स सहयोगमा जुटिरहन्छ ।” थप सहयोगका लागि आफूहरु लागिपरेको उहाँले जानकारी दिनुभयो ।

धुर्मुस सुन्तली फाउन्डेसनले विपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई ५० थान अक्सिजन सिलिन्डर सहयोग गरेको छ । फाउन्डेसनको आकस्मिक हेल्प कक्षले सो सहयोग सामग्री हस्तान्तरण गरेको हो । रु आठ लाख ७५ हजार बराबरको उक्त सामग्री फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलले अस्पतालका कार्यकारी निर्देशक डा देज गौतमलाई हस्तान्तरण गर्नुभएको हो ।

सपना भिलेज सोसल इम्पयाक्टले जिल्लाका दुई अस्पतालमा अक्सिजन सिलिण्डर सहयोग गरेको छ । इम्पयाक्टले भरतपुर अस्पताललाई १० थान र इच्छाकामना गाउँपालिकालाई पाँच थान गरी १५ थान अक्सिजनसहितको सिलिण्डर हस्तान्तरण गरेको हो ।

चितवन उद्योग सङ्घ रत्ननगर, खैरहनी, कालिका, राप्ती एकाइ समितिको संयुक्त आयोजना एवं चितवन उद्योग सङ्घ र नेपाल उद्योग परिसङ्घ वाग्मती प्रदेशको संयुक्त सहकार्यमा पूर्वी चितवनका सुरक्षाकर्मी र पत्रकारहरुलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । पिपिइ २४ थान, सेनिटाइजर ८५० थान, फेस सिल्ड १९८ थान, मास्क चार हजार २०० थान, पञ्जा ४५० थान, पानी ४०० कार्टुनसहित रु दुई लाखभन्दा बढीको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको थियो ।

कुमारी बैंक सौराहा शाखाले बछौली स्वास्थ्य चौकीलाई पाँचच वटा पल्स अक्सिमिटर सहयोग गरेको छ । भरतपुरमा रहेका विभिन्न सङ्घसंस्थाले कोरोना कहरको समयमा भोकाहरुलाई निःशुल्क खाना अभियान सञ्चालन गरिरहेका छन् । अभियानका संयोजक दिवाकर राज श्रेष्ठका अनुसार सन्देश फाउण्डेसन, न्यू वे फाउण्डेसन, रिकभरङ्ग नेपाल, द युनाइटेड चितवन, युवा समाज भरतपुर, विश्व हिन्दू युवा सङ्घ चितवन र भरतपुर बजार व्यवस्थापन समितिको सहयोगमा दैनिक ९० जनालाई बिहान र बेलुकाको खाना खुवाउने गरिएको छ । भरतपुरको केन्द्रीय बस टर्मिनलमा ६० र कमलनगर, पुलचोकलगायतका ठाउँमा गरी सो सङ्ख्याममा खाना खुवाउने गरिएको उहाँले जानकारी दिनुभयो ।

भरतपुर महानगरपालिकाको आइसोलेशनलाई प्रदेशसभा सदस्य रामलाल महतोले रु ५० हजार उपलब्ध गराउनुभएको छ भने क्लिनिक नेपालले १० थान अक्सिजन सिलिण्डर सहयोग गरेको । अटोमेकानिकल व्यवसायी सङ्घले पछि फिर्ता गर्ने गरी १६ थान सिलिण्डर उपलब्ध गराएको महानगरले जनाएको छ । यसका अतिरिक्त विभिन्न सङ्घसंस्था यो अभियानमा जुटेका छन् । ती संस्थाले सरकारी अस्पताल र पालिकाका आइसोलेशनलाई विभिन्न सहयोग गर्दै आएका छन् ।

भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारी दाताहरुको सहयोगका कारण अस्पताललाई धेरै सहयोग पुगेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “अस्पतालमा अत्यावश्यक उपकरणमा दाताहरुले महत्वपूर्ण योगदान पु¥याउनुभएको छ ।” अस्पतालले खरिद गर्दा धेरै समय लाग्ने भन्दै उहाँले आपत्कालीन रूपमा दाताहरुको सहयोगले धेरै सङ्क्रमितलाई बचाउन सकिएको जानकारी दिनुभयो ।

जिल्लामा अहिले सक्रिय सङ्क्रमित चार हजार ३८९ रहेका छन् । तीमध्ये २१३ जना अस्पतालको आइसोलेशनमा उपचाररत रहेका छन् । चार हजार १६७ होम आइसोलेशनमा रहेका छन् भने नौ जना सार्वजनिक आइसोलेशनमा छन् । जिल्लामा हालसम्म १२ हजार ७२ कोरोना सङ्क्रमित भइसकेका छन् । तीमध्ये १८२ को मृत्यु भएको छ ।

जिल्लाका अस्पतालहरुमा ५०० भन्दा बढी सङ्क्रमितको उपचार भएको छ । तीमध्ये २६० सघन उपचार कक्षमा उपचाररत छन् । यहाँ दैनिक १० देखि १५ जनाको मृत्यु हुँदै आएको छ । अस्पतालमा उपचारमध्ये ६० प्रतिशत बाहिरी जिल्लाका छन् । रासस

  • प्रकाशित मिति : जेठ ६, २०७८, बिहीवार ०७:०७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८