कोरोना संक्रमणबाट निको हुने झन घटे

  • खबरदाता
  • जेठ ०२, २०७८

जेष्ठ २,२०७८

नेपालमा कोरोना संक्रमित बिरामी निको हुने दर घट्दै गएको छ । यसले कोरोनाको महामारीले थप विकराल रुप लिने त होइन भन्ने गम्भीर आशंका उत्पन्न गराइदिएको छ । निको हुने दर घट्दा नेपालमा बिहीबारसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या एक लाख पाँच हजार दुई सय सात जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

यो एक सातामा कोरोना संक्रमितको निको हुने दर घट्दै गएको मन्त्रालयको तथ्यांकले देखाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार गत शुक्रबार अर्थात् वैशाख २४ गते कुल संक्रमितमध्ये ७८ दशमलव २ प्रतिशत बिरामी निको भएका थिए भने शनिबार झरेर ७७ दशमलव ४ प्रतिशत मात्र निको भए । आइतबार अर्थात् वैशाख २६ गते कुल संक्रमितमध्ये निको हुनेको दर ७६ दशमलव ७ प्रतिशत रहेकामा सोमबार ७६ दशमलव ० प्रतिशतमा झर्न पुगेको थियो ।

त्यस्तै, मंगलबार संक्रमितमध्ये निको हुनेको प्रतिशत ७५ दशमलव ५ प्रतिशतमा झरेको थियो भने बुधबार त्योभन्दा पनि तल झरेर ७४ दशमलव ९ प्रतिशत मात्र निको भएका थिए । बिहीबार अझै निको हुनेको प्रतिशत घटेर ७४ दशमलव ६ प्रतिशत मात्र भएको छ ।

शुक्रबार सक्रिय संक्रमित ७८ हजार छ सय २९ जना रहेकामा शनिबार ८३ हजार चार सय ९३ पुगेको थियो । आइतबार सक्रिय संक्रमित ८८ हजार एक सय ६० रहेकामा सोमबार बढेर ९३ हजार एक सय ४१ पुगेको थियो । त्यस्तै, मंगलबार सक्रिय संक्रमितको संख्या ९७ हजार आठ जना रहेकामा बुधबार एक लाख एक हजार छ सय ३४ र बिहीबार एक लाख पाँच हजार दुई सय सात पुगेको छ ।

बिरामीको संख्या दिनहुँ बढे पनि देशभरका अस्पतालमा कोरोना संक्रमितका लागि चाहिने अक्सिजनको चरम अभाव छ । सबै अस्पतालले १५ दिनभित्र अक्सिजन प्लान्ट राख्नुपर्ने सरकारको निर्देशन भए पनि नसकिने अस्पतालहरुले जनाएका छन् । यसले कोभिडका बिरामीहरुले थप जटिलताको सामना गर्नुपर्ने देखिएको छ । यद्यपि सरकारले अक्सिजन समस्या समाधानका लागि पहल जारी राखेको र अभाव हुन नदिने बताइरहेको छ ।

बिहीबार मात्र पनि नेपालमा आठ हजार नौ सय ६० जना कोभिड १९ का संक्रमित थपिएका थिए । कुल २० हजार दुई सय ४५ नमूना परीक्षण गर्दा उक्त संख्यामा कोरोना पोजेटिभ फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार कुल पाँच हजार ५५ जना निको भएका छन् भने दुई सय १४ जनाको निधन भएको छ ।

यस्तै, हालसम्म चार हजार चार सय ६६ जनाको कोरोनाका कारण निधन भएको छ । पछिल्लो विवरणसँगै देशभर कोरोना संक्रमितको संख्या चार लाख ३१ हजार एक सय ९१ पुगेको छ । यस्तै, तीन लाख २१ हजार पाँच सय १८ जना निको भएका छन् । मन्त्रालयका अनुसार कुल २७ लाख १२ हजार पाँच सय ६२ जनाको रियल टाइम पीसीआर गरिएको छ ।

यस्तै मुलुकभर सक्रिय संक्रमितको संख्या एक लाख पाँच हजार दुई सय सात पुगेको मन्त्रालयले जानकारी दिएको छ । काठमाडौँ उपत्यकाका तीन जिल्लामध्ये काठमाडौँमा सक्रिय संक्रमितको संख्या ३१ हजार ७३ जना छन् भने एक लाख २४ हजार चार सय ५३ जना निको भएका छन् । यस्तै एक हजार सात जनाको निधन भएको छ ।

भक्तपुरमा कुल चार हजार सात सय ५३ जना सक्रिय संक्रमित छन् भने १० हजार छ सय १४ जना निको भएका छन् भने दुई सय एक जनाको निधन भएको छ । विवरणअनुसार ललितपुरमा कुल छ हजार आठ सय ४० जना सक्रिय संक्रमित रहँदा १९ हजार दुई सय १५ जना निको भएका छन् भने दुई सय ७२ जनाको ज्यान गएको छ । यस्तै पछिल्लो २४ घण्टामा काठमाडौँमा दुई हजार सात सय ३३, भक्तपुरमा तीन सय ४८ र ललितपुरमा चार सय ८१ संक्रमित थपिएका छन् ।

  • खबरदाता
  • प्रकाशित मिति:जेठ ०२, २०७८

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८