• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

भारतमा थपिए ३ लाख ३२ हजार संक्रमित, अक्सिजनको चरम अभाब

  • खबरदाता

भारतमा थपिए ३ लाख ३२ हजार संक्रमित, अक्सिजनको चरम अभाब

भारतमा एकै दिन ३ लाख ३२ हजार जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ भने २ हजार २ सय ५६ जनाको मृत्यु भएको छ। आईसीयू भरिएका छन् भने अक्सिजनको अभाव हुँदा संक्रमितको मृत्यु हुने क्रम बढेको छ।

बैशाख १०,२०७८

कोरोनाको दोस्रो लहर चलिरहेको भारतमा लगातार तेस्रो दिन ३ लाखभन्दा बढी संक्रमित थपिएका हुन्। पछिल्लो २ दिनमा मात्रै ५ लाखभन्दा बढी संक्रमित थपिएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घन्टामा ३ लाख ३२ हजार ५०३ संक्रमित थपिएसँगै सक्रिय संक्रमितको संख्या २४ लाख २८ हजार ७७५ पुगेको छ। योसँगै अहिलेसम्म भारतमा संक्रमित हुनेको संख्या १ करोड ६२ लाख ५७ हजार ३०९ पुगेको छ।

कोरोको दोस्रो लहरमा गम्भीर बिरामी र मृत्यु हुनेको संख्या पनि बढिरहेको छ। पछिल्लो २४ घन्टामा अहिलेसम्मकै सबैभन्दा बढी २ हजार २ सय ५६ जनाको मृत्यु भएको छ। योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ८६ हजार ९२८ पुगेको छ।

भारतमा पछिल्लो १० दिनदेखि दैनिक १ हजारभन्दा बढी संक्रमितको मृत्यु भइरहेको छ। पछिल्लो १० दिनमा मात्रै १५ हजारले ज्यान गुमाएका छन्।

अहिले संसारभरी नै सबैभन्दा बढी संक्रमण भारतमै रहेको छ। दैनिक अमेरिकामा ६६ हजार र टर्कीमा ५४ हजार संक्रमित थपिँदा भारतमा भने ३ लाखभन्दा बढी थपिइरहेका छन्।

अहिले भारतको महाराष्ट्र र उत्तर प्रदेशमा कोरोनाको संक्रमण सबैभन्दा बढी रहेको छ। महराष्ट्रमा ६७ हजार १३ जना र उत्तर प्रदेशमा ३४ हजार ३६७ जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै, नेपालसँग जोडिएका बिहार, पश्चिम बंगाल र उत्तराखण्डमा पनि संक्रमण बढ्दै गएको छ। बिहार र पश्चिम बंगालमा १२ हजार संक्रमित थपिएका छन भने उत्तराखण्डमा थप ५ हजार जनामा संक्रमण देखिएको छ।

अस्पतालहरूमा बेड अभाव भएको छ। अक्सिजन सिलन्डर जोडेर संक्रमितहरूलाई अस्पतालको बरन्डा र परिसरमा समेत राखिएको छ। कयौं संक्रमितले अक्सिजन नपाएर ज्यान गुमाएको भारतीय मिडियाले उल्लेख गरेका छन्।

भारतमा सबैभन्दा राम्रो स्वास्थ्य सेवा भएको राजधानी दिल्लीमा पनि संक्रमितले बेड पाउन छोडेका छन्। दिल्लीका ९९ प्रतिशत आईसीयू संक्रमितले भरिएका छन्।

  • प्रकाशित मिति : वैशाख १०, २०७८, शुक्रवार ०२:४४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८