• वैशाख १२, २०८१, बुधवार Wednesday, 24 April, 2024

महामारीले धर्मरायो विश्वकै ठूलो खोप उत्पादक

  • खबरदाता

महामारीले धर्मरायो विश्वकै ठूलो खोप उत्पादक

भारतले खोज्यो रुसको सहारा, स्पुतनिकलाई मान्यता

चैत्र ३१, २०७७
भारतमा कोरोना महामारीले भयावह रुप लिएपछि रुसी खोपलाई पनि प्रयोगका लागि स्वीकृति दिइएको छ ।

विश्वकै ठूलामध्येको खोप निर्माता कम्पनी सिरम इन्स्टिच्युटले मात्र माग धान्न नसकेपछि भारतले रुसी खोपको सहारा लिन पुगेको हो । रुसी खोप स्पुतनिक–५ भारतमा कोरोनाविरुद्ध प्रयोग अनुमति पाउने तेस्रो खोप हो । तर, विदेशमा उत्पादित भने पहिलो खोप हो ।

यसअघि रिसम इन्स्टिच्युटको कोभिसिल्ड र भारत बायोटेकको कोभ्याक्सिनलाई अनुमति दिई प्रयोगमा ल्याइसकिएको छ । यी दुवै खोप भारतीय उत्पादन हुन् । कोभिसिल्ड अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनेकाद्वारा विकास गरिएको हो भने कोभ्याक्सिन भारत बायोटेक र भारतीय औषधी अनुसन्धान परिषद्को साझेदारीमा विकास गरिएको हो ।

भारत सरकारको केन्द्रीय औषधी मापदण्ड नियन्त्रण संगठनअन्तर्गतको विषयगत विज्ञ समितिले सोमबार रुसमा विकसित स्पुतनिक–५ खोप नामको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिने निर्णय गरेको हो । रुसको गामालेया रिसर्च इन्स्टिट्युट अफ इपिडियोमोलोजी एन्ड माइक्रोबायोलोजीले विकास गरेको यो खोप उत्पादनका लागि भारतीय कम्पनी डा। रेडिजले पनि सम्झौता गरेको छ । स्पुतनिक–५ को प्रभावकारिता ९१.६ प्रतिशत रहेको छ, जुन कोभिसिल्ड र कोभ्याक्सिनको भन्दा बढी हो । यस खोपलाई २ देखि ८ डिग्रीसम्ममा भण्डारण गर्न सकिन्छ ।

भारतमा खोपको हाहाकार भएपछि त्यहाको सरकारले आन्तरिक उत्पादन बाहिर पठाउन दिएको छैन । नेपालले खरिदका लागि अग्रिम मूल्य भुक्तानी गरिसकेको दश लाख डोज खोपसमेत दुई महिना भइसक्दा पनि सेरमले दिएको छैन । यही कारण नेपालको खोप अभियान नै अवरुद्ध हुन पुगेको छ ।
भारतमा जुलाईभित्रमा तीस करोड नागरिकलाई खोप दिने लक्ष्य राखिएको छ । सोमबार बिहानसम्ममा १० करोड ४५ लाख २८ हजारले खोप पाइसकेका छन् । भारतमा आइतबार एकै दिन १ लाख ६८ हजार ९ सय १२ नयाँ संक्रमित थपिएका छन् । जुन महामारी सुरु भएयताकै उच्च हो ।
भारतमा दैनिक मृत्युदर पनि बढ्दो क्रममा छ । आइतबार मात्र ९ सय ४ जनाको मृत्यु भएको छ । भारतमा हालसम्म कोरोना महामारीले मर्नेको संख्या १ लाख ७० हजारभन्दा बढी भइसकेको छ ।

  • प्रकाशित मिति : चैत ३१, २०७७, मंगलवार ०१:०६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८