नेपालको अर्थतन्त्र पहिलोपटक ऋणात्मक

  • खबरदाता
  • फागुन २१, २०७७

फागुन २१,२०७७

सरकारले आर्थिक वृद्धिदर ७ प्रतिशतको हाराहारीमा रहने दाबी गरिरहेका बेला मुलुकको अर्थतन्त्रमा पहिलोपटक मन्दी (ऋणात्मक) देखिएको छ । अघिल्लो र चालू आर्थिक वर्ष(आव)को २ त्रैमास निरन्तर ऋणात्मक देखिएकाले मुलुकमा आर्थिक मन्दी भएको हो ।

अर्थशास्त्रीहरूका अनुसार लगातार २ त्रैमासमा आर्थिक वृद्धिदर ऋणात्मक बन्यो भने त्यसलाई मन्दी मानिन्छ । नेपाल राष्ट्र बैंक स्रोतका अनुसार केन्द्रीय तथ्यांक विभागको पछिल्लो तथ्यांकले मुलुक मन्दीमा गएको पुष्टि हुन्छ । स्रोतले नेपालको इतिहासमा यस्तो पहिलोपटक भएको जानकारी दिएको छ ।

गतवर्ष आवको चौथो त्रैमासिकमा कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर १५ दशमलव ४ प्रतिशत ऋणात्मक थियो । चालू आव २०७७/७८ को पहिलो त्रैमासमा समेत कुल गार्हस्थ्य उत्पादन वृद्धिदर ४ दशमलव ६ प्रतिशतले ऋणात्मक भएको तथ्यांकले देखाएको छ । गत आवको चौथो त्रैमासमा अर्थतन्त्र व्यापक रूपमा संकुचन हुँदा गत आवको कुल गार्हस्थ्य उत्पादन १ दशमलव ८८ प्रतिशतले संकुचित आएको छ । केन्द्रीय तथ्यांक विभागले आधार वर्ष २०००/२००१ लाई परिवर्तन गरेर २०१०/११ को बनाई यो तथ्यांक सार्वजनिक गरेको हो ।

अर्थतन्त्रले यति क्षति बेहोर्नु परेका कारण कोभिड महामारीले आर्थिक गतिविधिमा असर पारेकाले हो । कोरोना महामारीका कारण धेरै उद्योग बन्द रहेकाले तथा पर्यटन क्षेत्र सुस्ताएकाले आर्थिक वृद्धिदर घटेको हो ।

आधार वर्ष परिवर्तन गर्नुअगाडि नेपालको गतवर्षको कुल गार्हस्थ्य उत्पादन ३७ खर्ब ६७ अर्ब रहेको थियो । आधार वर्ष परिवर्तन गरेपछि नेपालको अर्थतन्त्रको कुल गार्हस्थ्य उत्पादन १ खर्ब ७६ अर्बले बढेर ३९ खर्ब ४३ अर्ब रुपैयाँ पुगेको छ । नयाँ आर्थिक क्रियाकलापलाई समेट्न आधार वर्ष परिवर्तन गर्ने गरिन्छ । विसं २०७२ मा आधार वर्ष परिवर्तन गर्ने तयारी गरिए पनि विनाशकारी भूकम्पका कारण यो पछि धकेलिएको थियो । विभागले अहिलेसम्म ५ पटक आधार वर्ष परिवर्तन गरिसकेको छ ।

आधार वर्ष परिवर्तन गरेसँगै नेपालीहरूको प्रतिव्यक्ति आय पनि बढेको छ । पुरानो आधार वर्षका अनुसार गतवर्षमा नेपालीको प्रतिव्यक्ति आय १०९७ अमेरिकी डलर थियो । आधार वर्ष परिवर्तनपछि गतवर्षको कुल प्रतिव्यक्ति आय १ हजार १४८ अमेरिकी डलर पुगेको छ । यो अघिल्लो आव २०७५/७६ को भन्दा २३ अमेरिकी डलर कम हो । त्यो वर्ष १ हजार १७१ अमेरिकी डलर कुल प्रतिव्यक्ति आय भएको थियो ।

कोभिड–१९ महामारीले पर्यटन क्षेत्र तथा औद्योगिक उत्पादन र उपभोग कमजोर बनाउँदा आर्थिक वृद्धिदर ऋणात्मक देखिएको तथ्यांक विभागले बताएको छ ।

चालू आवको पहिलो त्रैमासको आर्थिक वृद्धिदर ऋणात्मक रहेको भए पनि दोस्रो त्रैमासबाट भने नेपाली अर्थतन्त्रको पुनरुत्थान ‘भी’ आकारमा हुन सक्ने आकलन गरिएको छ । यसले गर्दा आगामी आवमा आर्थिक वृद्धिदर सकारात्मक बन्नेमा आशावादी हुन सकिने विभागको दाबी छ ।

तथ्यांक विभागमा आयोजित कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा।पुष्पराज कँडेलले रिबेसिङ अध्ययनको नतीजाअनुसार योजना निर्माण र तर्जुमामा दबाब पर्ने बताए । नेपाल सरकारले प्राथमिकता दिएका योजनाहरू पुनरवलोकन गर्ने पनि बताए ।

पूर्वानुमानअनुसार कोरोनाको असरले वृद्धिदर ठूलो आकारको ऋणात्मकमा जान्छ कि भन्ने डर तथ्यांकले हटाएकाले आगामी वर्षको योजना यसैअनुसार बनाउने बताए ।

गतवर्षको आर्थिक वृद्धिदर १ दशमलव ९९ प्रतिशत ऋणात्मक रहे पनि आत्तिने अवस्था नभएको उनको भनाइ छ । जीडीपीको आधार वर्ष परिवर्तन गर्दा सेवाक्षेत्रको योगदानको भार ८ दशमलव ४ प्रतिशतले बढेको छ भने कृषि (प्राथमिक)तथा द्वितीय (उत्पादन तथा प्रशोधन)क्षेत्रको भार क्रमशः ९ दशमलव ५ र ३ दशमलव २ प्रतिशतले घटेको छ । अर्थविद् डा.शंकर शर्माका अनुसार तथ्यांक विभागले सार्वजनिक गरेको समग्र सूचकांकहरू हेर्दा मुलुकको अर्थतन्त्रमा मन्दी छाएको देखिए पनि पछिल्लो समय बढेको आर्थिक गतिविधिले सुधार हुन सक्ने देखिन्छ । मुलुक विकासशील मुलुकमा स्तरोन्नति गर्ने प्रस्ताव अघि बढे पनि प्रतिव्यक्ति आयको स्तर अझै भेट्न नसकेको तर आगामी दिनहरूमा भेट्ने सम्भावना रहेको उनको आकलन छ । उत्पादन र सार्वजनिक खर्चलाई बढाएर सरकारले मुलुकको आर्थिक स्तरलाई थप उचाइ पुर्‍याउनुपर्ने शर्माको भनाइ छ ।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८