चितवनमा तथ्याङ्कीय व्यवसायिक रजिष्टर तयार पारिने

  • खबरदाता
  • फागुन १०, २०७७

फागुन १०,२०७७

चितवन । चितवनमा तथ्याङ्कीय व्यवसायिक रजिष्टर तयार पारिने भएको छ । तथ्याङ्क कार्यालय चितवनले उक्त रजिष्टर तयार पार्ने कार्यालय प्रमुख यज्ञमुर्ति भण्डारीले जानकारी दिए।

जिल्लामा संचालित आर्थिक क्रियाकलाप संचालन गर्ने उद्योग व्यवसायहरुको विवरण राखेर उक्त रजिष्टर तयार पारिने भएको हो । त्यसका लागि जिल्लाका सरकारी कार्यालयका प्रमुख प्रतिनिधि तथा निजी क्षेत्रका प्रतिनिधिहरुले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेका छन।

यसरी तयार पारिने रजिष्टरको आधारमा दोस्रो आर्थिक गणना २०८० लाई सहयोग पुग्ने र सोही अनुसारको योजना बनाई नीति निर्माण तथा निर्णयमा पुग्न सहज हुने भण्डारीले बताए।

अहिले सरकारी कार्यालय अनुसार फरक फरक तथ्याङ्क रहदा दुविधा उत्पन्न भइरहेकाले यो कार्य सम्पन्न पश्चात सवैतिर एकै तथ्याङ्क हुने र काम गर्न सजिलो हुने भण्डारीको भनाई छ । रजिष्टर तयार पार्नका लागि गणकहरु जिल्लमा खटाइसकिएको छ ।

दाङ, पाल्पा र दोलखामा पाइलटको रुपमा यसको कार्य भएपछि चितवनमा पनि सुरु भएको हो । दुई आर्थिक वर्ष २०७५/०७६ र २०७६/०७७ मा विभिन्न सरकारी कार्यालयमा दर्ता भएका उद्योग व्यवसायहरुको यो पटक तथ्याङ्क संकलन गरिनेछ । उद्योग व्यवसायको प्रकृति अनुसार फरक फरक तथ्याङ्क सकलन गरिने हुँदा यसले जिल्लाको योजना निर्माणमा थप टेपा पुग्ने विश्वास लिइएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले कार्यालयमा भएका सूचना चाँडै र तथ्यमा आधारित भई तथ्याङ्क दिन निर्देशन दिएका छन । कार्यक्रममा चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलले तथ्याङ्कले सहि मार्गमा हिँड्न प्रेरित गर्ने र यसबाट समृद्धिको यात्रा तय हुने बताए । उनले विकासको मुख्य आधारनै तथ्याङ्क भएकाले एकै प्रकारको सहित र सत्य तथ्याङ्क संकलन गरी रजिष्टर तयार पार्दा जिल्लाको विकासमा थप सहयोग पुग्ने भन्दै उक्त कार्यका लागि सहयोग गर्ने बताए।

  • खबरदाता
  • प्रकाशित मिति:फागुन १०, २०७७

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८