• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

मंगोलियाबाट चितवन आउने कर्याङकुरुुङको संख्या बढाउन चराविद्को चासो

  • खवरदाता

मंगोलियाबाट चितवन आउने कर्याङकुरुुङको संख्या बढाउन चराविद्को चासो

पौष–२५, २०७७

चितवन । जाडो छल्न चितवन आउने कर्याङकुरुङ चराहरुको संख्या बढाउन चराविद्हरुले चासो दिएका छन् ।

मंगोलियाबाट करिव २ हजार किलोमिटरको यात्रा गरेर चितवनको दिव्यनगर आउने ती कर्याङकुरुङहरुको बासस्थान र उनीहरुको आहारालाई जोगाउन बर्ड एजुकेशन सासाइटी सौराहा चितवनले संरक्षणको विशेष योजना ल्याएको हो ।

सोसाइटीका अध्यक्ष रमेश चौधरीले फाट्टफुट्टमात्रै नेपालमा आउने र आएपछि चितवनको दिब्यनगरमा पनि बस्ने बताउनुभयो । बसाइसराई गर्दै आउने उक्त चरा दिव्यनगर आउनुपूर्व करिव ५ ठाउँमा बसिसकेको हुन्छ । कर्याङकुरुङलाई फराकिलो फाँट मन पर्ने र धान नै आहारा भएकाले फाँटमा रमाउने गर्दछ । धान खान आउने यो चरा धान भित्राइसकेपछि त्यहाँ चर्ने चौधरीको भनाई छ । दिनभर चर्ने र रातपछि नारायाणी नदी पारी बगरमा बस्ने गर्दछन् ।

चरा देखाएरै पर्यटक बढाउन सकिने पर्याप्त सम्भावना भएकाले यसको संरक्षणका लागि स्थानीय सहभागीता बढाउने गरी योजना ल्याउन लागिएको हो । चौधरीले भने,“वर्ड टुरिजम हाम्रो लक्ष्य हो । स्थानीयलाई चरा देखाएर पनि पर्यटक ल्याउन सकिने रहेछ भन्ने बुझाउने र आम्दानी हुन थालेपछि उनीहरु पनि चरा संरक्षणमा लाग्नेछन् । ”

मंगोलियामा आफ्ना बच्चा कोरल्छ । यहाँ जाडो छल्न आउँछ । सुरुमा १०÷२० गरी आउने चरा यहाँ सुरक्षित र पर्याप्त आहारा भए संख्या बढ्दै जानेछ । चौधरीले भने,“करिव ४ विघा जग्गा लिएर ती चराको लागि फिडिङ तयार पार्ने योजना छ । त्यसो गर्दा यसको संख्या बढ्छ घट्छ अध्ययन हुँदैछ ।”
धान खेत जोगाउन, चरा मार्नेक्रम रोक्न र बर्ड टुरिजम धारणाको कार्यान्वयनका लागि चाँडै स्थानीयवीच अन्तरक्रिया गर्ने उनले बताए ।

अहिले २५० देखि ३ सयको हाराहारीमा मात्रै चराहरु त्यहाँ बसाइसराई गरी आएका छन् । । संख्या घट्दो रहेको र अव यसपटकको गणना पछि अझ बढि तथ्याङ्क थाहा हुने चौधरीले बताउछन् । २÷२ महिनामा त्यसपछि १५÷१५ दिनमा गणना गर्ने योजना रहेको छ । बर्ड टुरिजम बढाउने र चरा हेर्न बर्ड हाइड बनाउने योजना छ । जहाँबाट चरालाई डिस्टर्व नहुने गरी अवलोकन र फोटो खिच्न सकिने गरी प्रमोट गरिने चौधरीको भनाई छ ।

जाडो छल्न यहाँ आउने ती चराहरुको बासस्थान नै लोप हुन लागेपछि चिन्ता थपिएको छ । भएका फाँटहरु विक्रि हुने र कतै घर त कतै उद्योग कलकारखाना बन्न थालेपछि संरक्षणकर्मी चिन्तित बनेका छन् । चरालाई जोगाउन अग्रसर भएका उनीहरुले खेतवारी (फार्मल्याण्ड) अतिक्रमण भएको,कलकारखाना खोल्नेक्रम बढेको, ताल तलैया सुक्दै गएको, खोला नालामा फोहोर बढेको, बढ्दो विषादी प्रयोग, चरा मार्नेक्रम नरोकिएको र सरकारले चरा प्रजातिलाई खासै चासो नदिएका जस्ता कारण चरा संरक्षणमा चुनौती थपिएको हो ।

२०५३ साल जेठ १३ गते स्थापना भएको बर्ड एजुकेशन सोसाइटीले भने विशेषज्ञसहितको टोली लिएर चरा गणना, यसको वासस्थानको अवस्था लगायत संरक्षण गर्दै आइरहेको छ । यो पटक पौष २६ देखि माघ १ सम्म जलपक्षी अर्थात पानीमा आश्रीत चराहरुको गणना पनि सुरु हुँदैछ । त्यसका लागि हिजो अन्तरक्रिया कार्यक्रम भएको छ । टिका गिरीको नेतृत्वमा ९ सदस्यीय टोली नेताको समेत छनौट गरिएको छ । यो पटक गणना गरिएको विवरण समावेश गरी बर्ड अफ चितवन नामक पुस्तक समेत प्रकाशन गरिनेछ ।

  • प्रकाशित मिति : पुस २५, २०७७, शनिवार ०३:५५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८