मंसिर–२९, २०७७
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र महासचिव निलेन्द्रराज श्रेष्ठ एसियाली ओलम्पिक कमिटी (ओसिए) को ३९ औँ साधारण सभामा भाग लिन आइतबार ओमानको मस्कट प्रस्थान गरे । साधारण सभाका क्रममा सन् २०३० को एसियाली खेलकुदको आयोजना शहरको चयनका लागि मतदान हुनेछ । उनिहरूले त्यस मतदानमा भाग लिने छन् ।
साउदी अरेबियाको रियाद र कतारको दोहाबिच २१ औँ एसियाली खेलकुद आयोजनाका लागि प्रतिस्पर्धा भइरहेको छ । मतदान अगाडि नेपाली टोलीले साउदी ओलम्पिक कमिटीका अध्यक्ष अब्दुलाजिज बिन टुर्कि अल फैजल अब साउद तथा कतार ओलम्पिक कमिटीका अध्यक्ष सेख तमिम बिन हमाद अल थानीसँग परस्पर सहयोगको सम्भावनालाई लिएर छुट्टा छुट्टै वार्ता पनि गर्ने छन् ।
अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमस बाखको पनि सहभागिता रहने साधारण सभामा साउदी र कतारी ओलम्पिक कमिटीले सन् २०३० को एसियाली खेलकुद आयोजनाको दाबीबारे आफ्नो प्रस्तुति दिनेछन् । त्यसमा ओसीसीको मूल्याङ्कन कमिटीले प्रतिवेदन पेस गर्नेछ । त्यसपछि चुनाव हुनेछ र लगतै त्यसमा विजयी शहरसँग प्रतियोगिताको आयोजनालाई लिएर सम्झौता हुनेछ ।
साधारण सभाका अवसरमा सान्यमा हुने छैटौँ बिच एसियाली खेलकुद, थाइल्यान्डमा हुने छैटौँ एसियाली इन्डोर तथा मार्सल आर्ट्स खेलकुद, सान्तोउमा हुने तेस्रो एसियाली युवा खेलकुद र हाङझोउमा हुने १९ औँ एसियाली खेलकुदबारे पनि छलफल हुनेछ । यसै ओसिए अन्तर्गतका विभिन्न कमिटीका प्रतिवेदन पनि साधारण सभाका क्रममा पेस गरिनेछ । कार्यक्रमले अब हुने साधारण सभाको मिति र स्थानबारे पनि निर्णय गर्नेछ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८