मंसिर–२८, २०७७
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र नेपालका लागि साउदी अरेबियाका राजदूत मुसाउद अल आरवेबीच शनिवार सन् २०३० को एसियाली खेलकुद आयोजनाको दाबीलाई लिएर छलफल भएको छ । कमिटीको सातदोबाटो स्थिति कार्यालयमा भएको भेटवार्तामा खेलकुदको माध्यमबाट पारस्परिक सहयोगका लागि पनि कुराकानी भएको थियो ।
साउदी अरेबियाको राजधानी रियादले सन् २०३० को एसियाली खेलकुद आयोजनाका लागि दाबी प्रस्ताव गरेको छ । त्यसमा नेपालको समर्थन तथा सहयोगका लागि राजदूत आरवेले अध्यक्ष श्रेष्ठसँग भेट गरेका हुन् । त्यस एसियाली खेलकुद आयोजनका लागि रियादको कतारको दोहासँग प्रतिस्पर्धा हुन लागेको छ । यसअघि कतारी ओलम्पिक टोलीले पनि काठमाडौँका भ्रमण गरेको थियो ।
राजदूतसँगको कुराकानीपछि अध्यक्ष श्रेष्ठले साउदी र कतारले प्रस्तुत गरेको प्रस्ताव तुलनात्मक रूपमा समान रहेको बताउँदै यसबारे ओमानको मस्कटमा हुने एसियाली ओलम्पिक कमिटीको साधारण सभामा दुवै पक्षसँग थप छलफल हुने बताए । उनले अन्तिम निर्णय अगाडि नेपाली खेलकुद र खेलाडीलाई हित र स्वार्थलाई मुख्य आधार बनाइने बताए ।
अध्यक्ष श्रेष्ठसँगै महासचिव श्रेष्ठले मस्कटमा हुने साधारण सभामा भाग लिने छन् । त्यस अवसरमा नेपाली टोलीले साउदी र कतारी ओलम्पिक कमिटीसँग थप भेटघाट गर्नेछ । राजदूत आरवेसँगको छलफलको अवसरमा कमिटीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्दराज वैद्य र महासचिव निलेन्द्र श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८