टोलि पठाएर गाउँमै नागरिकता पाएका अशक्त असाहाय वृद्धवृद्धाहरु सोही नागरिकताको प्रतिलिपिका लागि यो चिसोमा विहानै ३ बजेदेखि शहरको प्रशासनमा धाउन बाध्य छन् ।’
केपी शर्मा, मंसिर २२, २०७७
भरतपुर । नागरिकताको विकल्पको रुपमा लिइएको राष्ट्रिय परिचय पत्र बनाउनलाई नागरिकले सास्ती पाएका छन् । चितवनमा गत वर्षदेखि सुरु भएको राष्ट्रिय परिचय पत्र वितरण कार्यलाई तिव्रता दिएको जिल्ला प्रशासन कार्यालयले प्रत्येक पालिकामा सेवा पुर्याएपछि यो समस्या झन् बढेको देखिन्छ । कोभिड १९ का कारण केही समय स्थगित भएको यो सेवा पुनः सुरु भएपछि र गाउँपालिका सम्म नै परिचय पत्रका लागि टोलि पुगेपछि नागरिकता र प्रतिलिपिको समस्या बढी देखिएको हो ।
छोराले एक हातमा समाएर डोर्याउँदै ल्याएका कालिका नगरपालिका खोलेसिमलका ७० बर्षीय अशक्त वृद्ध नागरिकता प्रतिलिपि निकाल्नलाई विहान ६ बजेनै जिल्ला प्रशासनको गेट आइपुगेका थिए । उनी कतिवेला प्रशासनको गेट खुल्छ र भित्र जाउँला भनेर आतुर देखिन्थे । चितवनको चिसोमा ५ बजे नै तयारी भई घरबाट उनी हिँडेका थिए ।
अहिलेसम्म उनीसँग भएको नागरिकताले हरेक कामकाज चल्दै थियो । तर राष्ट्रिय परिचय पत्रका लागि भने उक्त नागरिकता काम नलाग्ने भन्दै वडा कार्यालयले प्रतिलिपि ल्याउनुहोस भन्दै जिल्ला प्रशासन तर्फनै तेस्र्याइदियो । कारण थियो उनको नागरिकताको फोटो नबुझिने र धमिलो । बुझियोस् पनि कसरी,लगभग ३०/३५ बर्षअगाडी बनाएको हस्तलिखित नागरिकतामा, नागरिकता नम्वर बाहेक अरु के ने बुझिन्थ्यो र ?
त्यस्तै जुटपानीकै सिता बगाले पनि नागरिकता प्रतिलिपिकै लागि विहानै टोकन लिन भन्दै जिल्ला प्रशासन आइपुगिन् । उनको वडा कार्यालयले विहान ३ बजे नगए टोकन नपाउन सकिन्छ है भनेपछि आफू झिसमिसेमै प्रशासन आइपुगेको बताइन् ।
शक्तिखोरका होम बहादुर प्याकुरेलको पनि पीडा अझै ठूलो छ। उनी बिहीवार देखि प्रशासन धाइरहेका छन् । उनको काम ठूलो छैन । धमिलिएको नागरिकताको प्रतिलिपि लिनका लागि मात्र उनी प्रशासन आएका हुन् । राष्ट्रिय परिचय पत्रका लागि धमिलो नागरिकताले नहुने कुरा वडाले बताएपछि यो सास्ती उनले खेपिरहेका छन् । उनलाई आज पनि आफ्नो काम फत्ते हुनेमा आशंका छ । आज बिहान ६ बजेतिरै करिव एक डेढ सयको सख्यामा सेवाग्राहीहरु नगरिकता र प्रतिलिपि लिनका लागि प्रशासन हाताभित्र लाइनमा देखिन्थे ।
यसरी सामान्य कुरालाई लिएर आम सर्वसाधारणलाई दुख नदिनका लागि राष्ट्रिय परिचय पत्रको फाराम लिने क्रममै प्रशासनले त्यही टोलि पठाएर नागरिकताको प्रतिलिपि दिएर समस्या समाधान गर्न सक्ने तर्फ ध्यान दिन जरुरी रहेको सेवाग्राहीहरुको भनाई थियो ।
प्रतिलिपिका लागि प्रशासन आउनेहरु अधिकाँश बृद्धबृद्धाहरु रहेको पाइन्छ । उनीहरुले एउटा टोली पठाएर नागरिकताको प्रतिलिपि पालिकामै बनाइदिए सजिलो हुने बताए । “हामीले नागरिकता पनि त्यस्तै टोली बाटै लिएका हौँ”, उनीहरुले भने ।
जिल्ला प्रशासन कार्यालयले यस विषयलाई गम्भीर रुपमा लिनुपर्ने देखिन्छ । कोभिड १९ का कारण आलोपालो प्रणालीमा नागरिकता र प्रतिलिपि वितरण गर्दै आएको प्रशासनले आइतवारबाट त्यो नियमलाइ हटाएर सवै दिन सवैले सेवा लिन पाउने व्यवस्था मिलाएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए । उनले भने,“राष्ट्रिय परिचय पत्र बनाउँदा नागरिकतालाई स्क्यान गरी अभिलेख राख्नुपर्ने भएका कारण प्रतिलिपि लिन आउने र नयाँ लिन आउनेहरु धेरै भए । ”
शर्माले एक दिनमा २ सय भन्दा बढीलाई सेवा दिन समस्या हुने बताए । तर उनले भने,“आएका जतिलाई टोकन दिन्छौँ । आज नसकिए टोकन लिएकालाई भोलि पहिलो प्राथमिकतामा राख्छौँ ।”
शर्माले अव २/३ दिनदेखि यो समस्या नरहने समेत दावी गरे ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८