• वैशाख ८, २०८१, शनिवार Saturday, 20 April, 2024

विदेशी सहित ८ हजार २१६ पर्यटकले चितवन राष्ट्रिय निकुञ्ज घुमे

  • खवरदाता

विदेशी सहित ८ हजार २१६ पर्यटकले चितवन राष्ट्रिय निकुञ्ज घुमे

मंसिर १६, २०७७
चितवन । गत वर्षको चैत्र ११ देखि नेपालमा लकडाउन सुरु भयो । विश्व महामारीको रुपमै फैलिएको कोभिड १९ को संक्रमण र त्यसलाई रोक्न धेरै देशहरुमा लकडाउन भयो । अन्तराष्ट्रिय हवाई उडानहरु स्थगित भए । जसको चपेटामा चितवनको पर्यटन क्षेत्रपनि पर्यो । असोज कार्तिक महिना देखि पर्यटकको लाम लाग्न सुरु हुने क्षेत्रहरु अहिले आन्तरिक पर्यटकले केही चहलपहल दिएपनि सन्तुष्ट हुने गरी अझै पर्यटक आएका छैनन् ।

पर्यटक नहुँदा यसले पार्ने प्रत्यक्ष असर आम्दानीमा हो । “पर्यटक नभएपछि आम्दानी कहाँबाट हुन्छ र ? क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दिपक भट्टराइले भने,“व्यवसायिको आम्दानी त गुमेको छ नै, राज्यलाई पनि ठूलो घाटा लागेको छ । ” भट्टराइका अनुसार सिजनको समय दैनिक ८ सय सम्म पर्यटक भित्रिएको रेकर्ड छ । तर अहिले भित्रिने सख्याको ७ प्रतिशत सम्म मुस्किलले पुगेको छ । होटल छिर्नेहरु पनि लामो समयको बसोवास भन्दा एक दुई रातको बसाई गर्नेहरु धेरै छन् । कुनै बेला हात्ती, जीप, डुँगा सफारीको लाम लाग्ने ठाउँहरु सुनसान प्राय छन् ।

भट्टराइका अनुसार एउटा पर्यटकले दैनिक १० देखि १५ हजार खर्च गर्दछ । निकुञ्ज घुम्न जाने पर्यटकहरुले १ देखि २ हजार सम्म एकदिनको प्रवेश शुल्क तिर्नुपर्दछ । निकुञ्ज प्रवेश गर्ने जीपले प्रति दिन ४ हजार रुपैया तिर्नुपर्छ । निकुञ्जको कार्यालय सौराहा, कसरा, नवलपुर तर्फको कार्यालयबाट पर्यटक निकुञ्ज घुम्दथे । त्यसरी हुने ठूलो आम्दानी कोरोनाकै कारण गुमेको छ ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार चालु आर्थिक वर्षको मंसिर ७ गते सम्म ७ हजार ९५९ जना नेपालीले मात्रै निकुञ्ज भ्रमण गरेका छन् । त्यस्तै १२३ जना सार्क मुलुकका नागरिक र १३४ जना विदेशी गरी कुल ८ हजार २१६ जनाले निकुञ्ज घुमेका हुन् । “अघिल्ला बर्षहरुमा यो समयमा पर्यटकको संख्या उल्लेख्य हुन्थ्यो यस पटक नगण्य छ, अधिकारीले भने, कोरोनाको कारण घुम्नेहरु धेरै छैनन् । ”

बन्यजन्तु, ताल, चराचुरुङ्गी आदि हेर्दैै मज्जा लिने पर्यटकहरुले तिर्ने शुल्कबाट हुने मुख्य आम्दानी गुमेपनि आन्तरिक पर्यटक बढाउन अहिले सवै सक्रिय देखिएका छन् ।

सोमवार सौराहा आएका पर्यटनमन्त्री योगेश भट्टराइले पर्यटक बढाउने सम्वन्धी कार्यक्रम र खाका ल्याउन यहाँका व्यवसायिहरुलाई अनुरोध समेत गरे । व्यवसायिहरुले दिएको सुझावलाई सम्वोधन गर्ने आश्वासन दिएर काठमाण्डौ फर्किए ।

  • प्रकाशित मिति : मंसिर १६, २०७७, मंगलवार ०९:५८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८